Logo

लगानी प्रतिवद्धतामा उच्च गिरावट, स्वदेशी लगानी पौने २८ प्रतिशतले घट्दा वैदेशिक लगानीमा ९२ प्रतिशतको गिरावट

लगानी प्रतिवद्धतामा उच्च गिरावट, स्वदेशी लगानी पौने २८ प्रतिशतले घट्दा वैदेशिक लगानीमा ९२ प्रतिशतको गिरावट



काठमाडौं । चालु आर्थिक बर्षको ४ महिना अर्थात साउनदेखि कात्तिक मसान्तसम्म नेपालमा ९६ अर्ब रुपैयाँ बढीको स्वदेशी लगानी प्रतिवद्धता जाहेर भएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालभर ९६ अर्ब १६ करोड ५८ लाख रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता जाहेर भएको हो ।

laxmi

यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३८ अर्ब ७० करोड रुपैयाँ अर्थात २८.६९ प्रतिशतले कम हो । गत आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा १ खर्ब ३४ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता जाहेर भएको थियो ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र बढ्दो ब्याजदरका कारण उद्योगीहरुले नयाँ लगानी घटाएको एक उद्योगीले बताए । उनका अनुसार पछिल्लो समय देखिएको तरलता संकुचन र बैंकहरुले अत्याधिक बढाएको ब्याजदरको असर नयाँ लगानीमा देखिएको हो ।

गत आवको पहिलो ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा उर्जामुलक क्षेत्रको लगानी ३ अर्ब रुपैयाँले घट्दा सेवामुलक क्षेत्रमा झण्डै ९ अर्ब रुपैयाँको गिरावट देखिन्छ । चालु आवको पहिलो ४ महिनामा उर्जामुलक क्षेत्रका २१ परियोजनामार्फत ६६ अर्ब ४८ करोड रुपैयाँको लगानी प्रतिवद्धता आउँदा सेवामुलक क्षेत्रका १४ परियोजनाबाट जम्मा ८ अर्ब २७ करोड रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । यी दुई क्षेत्रमा गत आवको सोही अवधिमा क्रमशः ६९ अर्ब ५२ करोड र १७ अर्ब ५८ करोड रुपैयाँ बराबरको प्रतिवद्धता जाहेर भएको थियो ।

यस्तै गत आवको तुलनामा यो आवको पहिलो ४ महिनामा सबैभन्दा बढि गिरावट उत्पादनमुलक क्षेत्रको लगानी प्रतिवद्धतामा देखिन्छ । उद्योग विभागका अनुसार गत आवको पहिलो ४ महिनाको तुलनामा चालु आवको पहिलो ४ महिनामा उत्पादनमुलक क्षेत्रको लगानी प्रतिवद्धता २४ अर्ब ४६ करोड रुपैयाँले घटेको छ । गत आवको पहिलो ४ महिनामा उत्पादनमुलक क्षेत्रका ५० परियोजनामार्फत ३३ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकोमा यो बर्षको सोही अवधिमा भने जम्मा ९ अर्ब १९ करोड ८६ लाख रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको छ ।

यस अवधिमा गत आवको तुलनामा पर्यटन क्षेत्रको लगानी प्रतिवद्धता करिव ४ करोड रुपैयाँले बढ्दा कृषि र पूर्वाधार क्षेत्रमा क्रमशः १ अर्ब ५० करोड र १३ करोड रुपैयाँले घटेको छ ।

यसरी चालु आवको ४ महिनामा ८९ परियोजनामार्फत आएको लगानी प्रतिवद्धता मार्फत ६ हजार १ सय १४ जनाले रोजगारी पाउने बताईएको छ ।

यता वैदेशिक लगानी प्रतिवद्धताको अवस्था पनि त्यस्तै छ । चालु आवको पछिल्लो ४ महिनामा नेपालमा विभिन्न १२ परियोजनामार्फत १ अर्ब ८५ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता जाहेर भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २२ अर्ब ९४ करोड रुपैयाँ अर्थात ९२.५५ प्रतिशतले कम हो । अर्थात गत आर्थिक बर्षको पहिलो ४ महिनामै नेपालमा १ सय १६ परियोजनामार्फत २४ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आईसकेको थियो । यस अवधिमा सबैजसो क्षेत्रमा वैदेशिक लगानीको प्रतिवद्धतामा ठुलो गिरावट आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL