Logo

बैंकको शाखा विस्तारमा फेरिंदो नीति, शाखा संख्या घटाउने पक्षमा केन्द्रीय बैंक

बैंकको शाखा विस्तारमा फेरिंदो नीति, शाखा संख्या घटाउने पक्षमा केन्द्रीय बैंक



काठमाडौं । बैंकको शाखा विस्तारमा केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) ले नीति परिवर्तन गरेको छ । पछिल्लो समय बैंकको शाखाहरु घटाउने नीति राष्ट्र बैंकले लिएको हो । बैंकहरुको शाखा धेरै भएसँगै कसरी व्यवस्थित गर्न सकिन्छ भनेर सरोकारवाला निकायसँग छलफल भइरहेको केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए । ‘नजिकका शाखा मर्जर वा बन्द के गर्न आवश्यक वा सकिन्छ भनेर अहिले बैंकहरुसँग छलफल भइरहेको छ’ उनले भने, ‘यसमा कसरी अगाडि बढ्ने भन्ने एकिन भइसकेको छैन ।’ यसअघि केन्द्रीय बैंकले शाखा विस्तारलाई प्रोत्साहन गर्दै आएको थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फ पनि बैंक, वित्तीय संस्थाको शाखा विस्तारको नीति परिवर्तन गर्ने घोषणा गरिसकेको छ । यसमा कसरी अगाडि बढ्न सकिन्छ भनेर सरोकारवालाबीच छलफल सुरु भएको हो । केही समय पहिले शाखा विस्तारको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्दै आएको केन्द्रीय बैंकले अहिले उक्त नीतिलाई परिवर्तन गर्दै शाखाको संख्या घटाउन लागेको हो ।

विशेषत विद्युतीय कारोबारमा बढ्दो आकर्षण र अधिकांश काम डिजिटल मध्यमबाट नै हुने भएसँगै शाखालाई आवश्यक परेको खण्डमा मर्जर या बन्द गर्न दिन आवश्यक रहेको सरोकारवाला निकायहरुले बताउँदै आएका छन् । यता, बैंकहरुले पनि शाखाको लागत धान्न नसकेको भन्दै शाखा बन्द गर्ने अनुमति दिन केन्द्रीय बैंकसँग बारम्बार अनुरोध गर्दै आएका छन् ।

यता, बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले केन्द्रीय बैंकलाई दिएको सुझाव प्रतिवेधनमा पनि बैंकहरुलाई शाखा बन्द गर्न दिनपर्ने कुरा उल्लेख गरेको छ । यसले पनि केन्द्रीय बैंकलाई शाखा विस्तार नीतिलाई प्रोत्साहन गर्नेभन्दा पनि बैंकहरुले चाहेको खण्डमा शाखा बन्द गर्न पाउने नीतिलाई आवलम्बन गर्न दबाब र्सिजना भएको छ ।

७५३ स्थानीय तहमा नै वाणिज्य बैंकको शाखा

केन्द्रीय बैंकले शाखा विस्तारको नीतिलाई प्रोत्साहन गर्दै २०७४ असारभित्र ७५३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्ने लक्ष्य राखेर सोहीअनुसार बैंकहरुलाई निर्देशन दिएको थियो । तर, भौतिक कठिनाइको कारण केन्द्रीय बैंकले निर्धारण गरेको समयमा नै सबै स्थानिय तहमा बैंक शाखा पुग्न भने नसेकेको अवस्था थियो । गत माघमा साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा खोलेपछि राष्ट्र बैंकले नै सबै स्थानीय तहमा बैंकको शाखा पुगेका छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई शाखा सञ्चालनमा अनुदान दिने, निब्र्याजी रकम प्रदान गर्ने, स्प्रेडदरलगायत केही नियामकीय प्रावधानमा छुट दिंदै आएको छ । यद्यपि, वर्तमान अवस्थामा भने शाखा विस्तारलाई प्रोत्साहन गर्नुभन्दा पनि अनावश्यक शाखा बन्द गर्न दिनु उचित विकल्प रहेको जानकारहरु बताउँछन् ।

राष्ट बैंकको तथ्यांकअनुसार २०८२ जेठसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकका मात्रै ५ हजार ९५ वटा शाखा रहेका छन् । १७ विकास बैंकको १ हजार १३२ शाखा र १७ वटै फाइनान्स कम्पनीको २९१ वटा शाखा रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । शहरी क्षेत्रमा एकै घरमा २÷३ वटासम्म बैंक तथा वित्तीय संस्थाको शाखा देखिन्छ । यो अस्वभाविक रहेको केन्द्रीय बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले नै सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्