Logo

उद्योगी व्यवसायीको विरोधका बीच चालू पुँजी कर्जा मार्गदर्शन लागु, उद्योगी भन्छन्–संशोधनको आश्वासन भयो कार्यन्वयन भएन

उद्योगी व्यवसायीको विरोधका बीच चालू पुँजी कर्जा मार्गदर्शन लागु, उद्योगी भन्छन्–संशोधनको आश्वासन भयो कार्यन्वयन भएन



काठमाडौं । उद्योगी व्यवसायीहरुले लगातार विरोध तथा गुनासो गर्दै आएको चालू पुँजी मार्गदर्शन आजदेखि लागु भएको छ । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते सार्वजनिक गरेको उक्त मार्गदर्शन कात्तिक १ देखि लागु भएको हो ।

laxmi

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले यसअघि विज्ञप्ति नै जारी गरेर यसको विरोध गरेपनि राष्ट्र बैंकले कुनै संशोधन र परिमार्जनविनै आजदेखि उक्त कार्यविधि लागु गरेको हो ।

उक्त कार्यविधि अनुसार २ करोड वा सोभन्दा कम कर्जा मागको लागि कुल बार्षिक कारोबारको अधिकतम २० प्रतिशत तथा आवश्यकता हेरी ४० प्रतिशतसम्म र २ करोड रुपैयाँ माथिको हकमा २५ प्रतिशतसम्म कर्जा दिन सकिने छ ।

यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने समयसिमा पनि राष्ट्र बैंकले तोकिदिएको छ । उद्यम व्यवसायको विभिन्न कारण आदिको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता भएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार/विक्रीको अधिकतम ४० प्रतिशतसम्म पनि कर्जा दिन सकिने सुविधा कार्यविधिमा छ ।

राष्ट्र बैंकले यी सुविधा तथा व्यवस्थाहरुको विषयमा उद्योगी व्यवसायीहरुसँग चरणवद्ध छलफल गरेरै राखिएको दाबी गर्दै आएको छ । यता उद्योगी व्यवसायीहरु पनि राष्ट्र बैंकले आफुहरुसँग चरणवद्ध छलफल गरेर संसोधन गर्ने आश्वासन दिएपनि सोहीअनुसार कार्यान्वयन नभएको बताएका छन् ।

राष्ट्र बैंकले नयाँ मार्गदर्शन अनुसार चालू पुँजी कर्जाको सिमा र समयसिमा नै तोकिदिएपछि उद्योगी व्यवसायीहरु भने रुष्ट बनेका हुन् । विदेशी मुद्रा संचितीमा गिरावट आएसँगै राष्ट्र बैंकको नीतिले आयातमा प्रतिवन्ध, कर्जामा कडाईलगायतका व्यवस्थाबाट मार खेप्दै आएका उद्योगी व्यवसायीहरुलाई चालू पुँजी सम्बन्धी नयाँ मार्गदर्शनले झन ठुलो संकट निम्त्याउने नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल बताउँछन् ।

राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनले नेपालको व्यापार व्यवसायीमै धक्का पुग्ने उनको भनाई छ ।

नेपालमा कुल लगानीको ७२ प्रतिशत योगदान रहेको निजी क्षेत्रको मर्म र भावनालाई नसुनेर राष्ट्र बैंकले बेवास्ता गरेको उनले बताए । ‘हामीले पटकपटक राष्ट्र बैंकलाई मार्गदर्शनमा भएका केहि बुँदाहरु संशोधन गर्न आग्रह गरिरहेका थियौं, राष्ट्र बैंकले पनि उद्योगी व्यवसायीहरुलाई मर्कामा पार्दैनौ भन्ने आश्वासन दिँदै आएको थियो,’ उनले भने, ‘तर, मार्गदर्शनमा कुनै संशाधन र परिमार्जन नै नगरीकन लागु गरिनाले उद्योग व्यवसाय नै खतरामा पर्ने सम्भावना बढेको छ ।’

उनले पछिल्लो समय राष्ट्र बैंकले ल्याएका धरैजसो व्यवस्थाहरु निजी क्षेत्र मैत्री नभएको बताए । राष्ट्र बैंकले ल्याएका नीतिकै कारण उद्योगी व्यवसायीहरु पलायन हुनुपर्ने अवस्थामा पुगेको उनको भनाई छ । ‘राष्ट्र बैंकले नै हाम्रा गुनासा सुनुवाई नगरे कसले गरिदिन्छ ?’ उनले प्रश्न गरे, ‘हामी उद्योगी व्यवसायीहरु सरकारलाई चावी बुझाउन बाध्य हुनेछन् ।’

यता नेपाल उद्योग परिसंघले उक्त मार्गदर्शन जारी भएसँगै विज्ञप्ति नै जारी गरेर यसमा भएका समयसिमा, नविकरणलगायतका बुँदाहरु परिमार्जन गर्नुपर्ने माग राखिसकेको छ । यस्तै उद्योग वाणिज्य महासंघले पनि सोही अनुरुप संसोधनका लागि सुझाव दिएको थियो ।

यस्तै कार्यान्यवन गर्ने निकाय राष्ट्र बैंकले भने आज सार्वजनिक विदा भएपनि आजैदेखि यो मार्गदर्शन लागु भईसकेको बताएको छ । यसअघि नै परिपत्र गरिएको उक्त मार्गदर्शन सार्वजनिक विदा भएपनि लागु भईसकेको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोख्रेलले बताए । साथै विभिन्न कार्याक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि उक्त मार्गनिर्देशन चरणबद्ध रुपमा छलफल गरेर देश र व्यवसायी दुबैको हितमा हुनेगरी ल्याइएको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL