Logo

‘लोडसेडिङको तालिका माग्ने उद्योगी नभई राजनीति गर्ने हुन्, उद्योगलाई बिजुली दिइसकेका छौं’

‘लोडसेडिङको तालिका माग्ने उद्योगी नभई राजनीति गर्ने हुन्, उद्योगलाई बिजुली दिइसकेका छौं’



काठमाडौं । पछिल्लो समय उद्योगीहरु उद्योग संचालनका लागि विजुली नपाएको भन्दै रुष्ट बनेका छन् । करिव ३ सय मेगावाट जति विजुली भारतबाट नआएपछि विद्युत प्राधिकरणले तराईका ठूला उद्योगमा विजुली आपुर्ति गर्न सकेन र केहि दिन उद्योग संचालन हुन नसकेको बताउँदै आएका छन् । यस्तै बेलामा उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणसमक्ष कि उद्योगलाई बिजुली उपलब्ध गराउनुपर्ने कि लोडसेडिङको तालिका उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

laxmi

यता नेपाल विद्युत प्राधिकरण भने उद्योगहरुमा विजुली पुगिसकेको बताउँछ । शनिबार पानी परेसँगै प्रणालीमा विजुली थप भई सबैजसो उद्योगमा विजुली पुर्याईसकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

पछिल्लो समय उद्योगीका केही नेताहरुले प्राधिकरणलाई तल पार्न लगातार राजनीतिकरण गरी लोडसेडिङको तालिका मागिरहेको उनको आरोप छ । ‘जसले उद्योगमा विजुली छैन भनेको छ त्यसले विद्युत खपतै गर्दैन, खपत गर्नेकहाँ हामीले शनिबारदेखि नै विजुली पुर्याईसकेका छौं,’ उनले भने, ‘केहि व्यापारीहरुले आफुलाई उद्योगीको नेता देखाउँदै विजुली नभएको हौवा फैलाईरहेका छन् ।’

शनिबार नेपालका धेरैजसो स्थानमा पानी परेपछि धेरै विद्युतगृहमा विद्युत उत्पादन बढेको बताउँदै उनले अब विजुली संकट नहुने बताए । पछिल्लो समय रुस र युक्रेनको युद्धका कारण विश्वबजारमा कोईललगायत उर्जाको मूल्य आकाशिएको छ । जसका कारण भारतले आन्ध्र प्रदेश, राजस्थान, तमिलनाडु, गुजराजतलगायत १२ प्रान्तको विद्युत कटौतीसमेत गरिसकेको छ । भारतमा धेरैजसो विद्युत उत्पादन कोईलाकै मद्धतबाट हुन्छ ।

अन्तरराष्ट्रिय संचारमाध्यम सीएनबीसीका अनुसार भारतमा उत्पादन हुने विजुलीमध्ये ७७ प्रतिशत हिस्सा कोईलाबाट उत्पादन हुने विजुलीको छ । पछिल्लो समय रुस र युक्रेनको युद्धका कारण कोईलाको मूल्य बढ्यो र उर्जाको व्यापार चक्रसमेत खलबलियो । जसका कारण भारतमा हाल विजुली उत्पादन ज्यादै न्यून छ । त्यसैको असर नेपालमा पनि देखियो र भारतले नेपालमा विजुली पठाएन ।

करिव ३ सय मेगावाट विजुली भारतबाट आयात गरेर उद्योगदेखि घरायसी खपतका लागि आपुर्ति गरिरहेको विद्युत प्राधिकरणलाई केही अप्ठ्यारो भयो र उद्योगमा पनि विजुली पुग्न पाएन । यस्तो अवस्थामा उद्योगीहरुले पनि विद्युत प्राधिकरणलाई साथ दिनुको सट्टा राजनीति गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताउँछन् । ‘विश्व नै उर्जा संकटतिर अघि बढिरहेको छ, भारतका धेरैजसो स्थानमा लोडसेडिङ सुरु गरिएको छ,’ उनले भने, ‘यस्तै बेलामा केही नेता भनाउँदा व्यापारीहरु राजनीतिक बखेडा झिक्दै प्राधिकरणविरुद्ध हात धोएर लागिपरेका छन् ।’

घिसिङ अबको केहिदिन विश्वभरको उर्जा संकट देखिएपनि बर्खा लाग्नेवित्तीकै नेपालमा भने विद्युत आपुर्ति सहज हुने बताउँछन् । शनिबार केही स्थानमा थोरै पानी परेपनि प्रणालीमा साविकको भन्दा धेरै विजुली थपिएपछि उद्योगीहरुलाई विजुली पुर्याइसकिएको उनले बताए । अबको १० देखि १५ दिन मात्रै कुर्ने हो भने फालाफाल विजुली उत्पादन भएर ओभर हुने उनको भनाई छ । हाल पनि शनीबार परेको पानीकै कारण जगदम्बा सिमेन्ट र अन्य स्टिल उद्योगहरुलाई ४० मेगावाटसम्म विद्युत उपलब्ध गराईसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL