Logo

उद्योग बचाउने हो भने सरकारले कम्तिमा २ बर्षको सहुलियत कर्जा दिनुपर्छ : अन्जन श्रेष्ठको बिचार

उद्योग बचाउने हो भने सरकारले कम्तिमा २ बर्षको सहुलियत कर्जा दिनुपर्छ : अन्जन श्रेष्ठको बिचार



अञ्जन श्रेष्ठ
चीनको वुहानबाट फैलिएको कारोना भाइरसको प्रभाव विश्वभरी फैलिएको छ । यसबाट कुनै पनि मुलुक अछुतो छैन । विश्वनै स्तब्ध भएको छ । यस अघि कुनै दैविक तथा प्राकृतिक प्रकोप आउँदा कुनै एक राष्ट्र वा निश्चित क्षेत्रमा हुने गर्दथ्यो । तर अहिलेको कोरोनाको कहरले विश्वलाई नै प्रत्यक्ष असर पारेको छ । अझ भनौं यसले मानव सभ्यतालाई नै चुनौतीको घडीमा ल्याएको छ ।
कोरोना असर

यसमा पर्ने असरको मुलत तीन वटा पक्ष छन् ।

पहिलो पक्ष मेडिकल च्यालेज हो । जुन विश्वले नै भोगिरहेको छ । यसलाई कसरी निराकरण गर्ने, कसरी औषधि पत्ता लगाउने भन्ने चुनौती थपिएको छ । पछिल्लो समय चीन, कोरिया र सिङ्गापुरमा यसको असर सकिन लाग्यो भनिएको छ । यद्यपि ती मुलुकहरुमा पनि यसको प्रभाव देखिरहेकै छ । युरोप अमेरिकाको अवस्था डरलाग्दो छ । नेपालमा यसको प्रभाव थोरै मात्रामा देखिएपनि नदरअन्दाज गर्न मिल्ने अवस्था छैन । हामीले एकदमै न्यून मात्रामा मात्र नमुना परीक्षण गरिरहेका छौं । कोरोना सम्भावित मान्छेहरुको ट्रेस गरेर परीक्षण गर्दै जोखिममा रहेका व्यक्तिलाई आईसोलेशनमा राख्नुपर्छ ।

अर्को रहेको छ आर्थिक पक्ष । अहिले विश्वव्यापी रुपमै ब्यापार व्यवसाय तहसनहस भएको छ । हामी अहिले पूर्ण रुपमा लडकाउनमा छौं । हामीले १६ औं दिनको लकडाउन व्यतित गरिरहेका छौं । उद्योग व्यवसाय पूर्ण रुपमा ठप्प छन् । रोजीरोटी गरेर खाने मजदूरहरु समस्यामा छन् । केही अत्यावश्यक उद्योगहरु संचालनमा छन् त्यो पनि न्यून क्षमतामा । कोरोना कहरका कारण श्रमिकहरु आइरहेका छैनन् भने कच्चापदार्थ अभाव छ । अत्यावश्यक उद्योगहरुपनि एकदमै चुनौतीपूर्ण अवस्थमा चलिरहेका छन् ।

कोरोनाको असर देखिने वित्तिकै सबैभन्दा पहिला समस्यामा परेको पर्यटन र यससँग सम्बन्धित उद्योग हो । केही समयभित्रै कोरोनाको प्रभाव हल भएपनि यो क्षेत्र दुई बर्षसम्म समस्यामा पर्ने देखिएको छ । अहिले धेरैको रोजीरोटी खोसिएको छ भने सोही अनुरुप बेरोजगारी बढेको छ । अब मानिसको प्राथिमकतामा आफ्नो रोजीरोटी जोहो गुर्नमा केन्द्रित हुने छ भने क्रयशक्ति र बचत गर्ने क्षमतामा पनि ह्रास आएको छ । मानिसहरुले हेल्थ र हाइजिङलाई प्राथमिकता दिन्छन् । यदि मानिससँग खर्च गर्ने क्षमता भएपनि रोगको डरले गर्दा आवश्यकता बाहेक तत्काल भ्रमण गर्ने देखिँदैन ।

तर यति हुँदाहुँदै पनि नेपालको पर्यटन क्षेत्रमा चाँदीको घेराको सम्भावना पनि उत्तिकै छ । अहिले युरोप अमेरिकाले आफ्ना नागरिकलाई बेरोजगार भत्ता प्रदान गर्दै आएको छ । यस्तो अवस्थामा ती देशका नागरिकहरु आफ्नो देशमा बढी खर्च गर्नुभन्दा नेपालजस्तो कम खर्च हुने गन्तव्वयमा आउने सम्भावना बढी छ । अवका दिनमा नेपालले साहसिक पर्यटनलाई प्रवद्र्धन गर्दै त्यस्ता पर्यटकहरुलाई आकर्षिक गर्न सक्नुपर्छ ।

अहिले यातायात क्षेत्रपनि त्यस्तै पिडादायी अवस्थामा छ । सम्पूर्ण यायताय क्षेत्र ठप्प छ । दैनिक रुपमा कमाएर खाने यातायात मजदूरहरु आफ्नो रोजीरोटी गुमाएर बसेका छन् । यो स्वआर्जनको क्षेत्र पनि हो जहाँ धेरैले आफैले सवारीसाधन खरिद गरेर संचालन गर्दै आएका छन् । उनीहरुलाई बैंकको किस्ता ब्याज तिर्न देखी परिवार पाल्न समेत कठिनाई भैरहेको छ ।

कुरा गरौ कृषि र उत्पादनमुलक क्षेत्र । अहिले पोल्ट्री उद्योग धरासायी भैसकेको छ । दैनिक लाखौं लाख चल्लाहरु गाड्नु परेको भन्ने समाचारमा आइरहेको छ । त्यसैमा आश्रित दाना उद्योग पनि समस्या परको छ । करिव ३ हजार करोड रुपैयाँ लगानी रहेको दाना उद्योग ठप्प छ भने भेटिनरी उद्योगमा पनि असर परेको छ । किसानको खेतमा अहिले फलफुल लगायतका नगदेबाली बिक्री गर्ने समय भएको छ । ती सबै त्यतिकै खेर गैरहेका छन् भने फुल बिक्री गर्ने सिजनमा बन्दका कारण त्यतिकै किसानको बारीमा फुलेर खेर गैरेको छ ।

अहिले सम्पूर्ण उद्योगहरु बन्द छन् । साना, ठूला, मझौला देखि लघु उद्योगसम्म समस्यामा परेका छन् । सरकारले चैत ११ गतेदेखि सरकारले पूर्णरुपमा लकडाउनको घोषणा गर्यो । तर इट्टा उद्योगीहरुको विशेष पहलमा यसलाई संचालन गर्न दिने भनियो । यो सिजनल उद्योग हो । अहिले बनाएर बर्षभरी बिक्री गर्नुपर्छ । तर पनि आंशिक रुपमा मात्र चलिरहको छ । सरकारले लडकाडनलाई थप कडाई गर्दै ल्याएको छ जुन बाध्यता पनि हो । पक्कै पनि हाम्रो पहिलो प्राथमिकतामा मानव स्वास्थ्य नै रहनुपर्छ ।

अहिले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाईएको छ । जलविद्युतमा एक जिल्ला वा एक स्थानीय तहको कच्चा पदार्थबाट मात्रै निर्माण सम्बभ छैन । जलविद्युत आयोजनाहरु पहाडमा बनिरहेका छन् तर त्यसका लागि आवश्यक रड सिमेन्ट लगायतका कच्चापदार्थ लिन तराईमा जानुपर्ने हुन्छ । अर्कोतर्फ जलविद्युतमा सामानदेखि प्राविधिक जनशक्तिसम्म चीनबाट ल्याईरहेका छौं । देशको एकदमै पोटेन्सियल क्षेत्रको रुपमा रहेको जलविद्युत क्षेत्रपनि ठप्प नै छ ।

अहिले सबैको प्राथमिकता भनेको पहिला आफु र आफ्नो परिवार सुरक्षित हुने त्यसपछि समाज र राष्ट्रलाई सुरक्षित बनाउने हो । तसर्थ हामी सबै घरमै सेल्फ क्वारेन्टीनमा बसिरहेका छौं । जब हामी कोरोनाको प्रभाव हटेर व्यापार व्यवसाय सुरु गर्न थाल्छौं त्यसपछि हाम्रो समस्या र चुनौतीहरु एकपछि अर्को गर्दै थपिँदै जानेछन् । जुन परिस्थितिको सामना गर्न हामी अभ्यस्त छैनौं । यो कुनै एउटा उद्योग वा एउटा क्षेत्र भन्ने होइन सम्पूर्ण क्षेत्रमा चेन इफेक्ट पार्नेछ ।

चुनौती

चुनौतीकै कुरा गर्दा कोरोनाको असर हटेपछि पनि व्यवसायलाई लयमा ल्याउन समय लाग्नेछ । सरकारले लकडाउन घोषणा गरेसँगै धेरै श्रमिकहरु उद्योगमै थुनिएर रहेको अवस्था छ । उद्योगमै आवासीय रुपमा बस्ने श्रमिकहरु परिवारबाट टाढाहुँदै बन्दक अवस्थामा छन् । उनीहरु कहिले लकडाउन खुल्छ र घर जान पाहिन्छ भन्ने सोचमा भने छन् भने घर गएका कामदार कर्मचारी पनि कोरोनाको भयले गर्दा अफिस जान नपरे हुन्थ्यो भन्ने मानसिकतामा छन् । तसर्थ उद्योगलाई सामान्य रुपमा लयमा ल्याउन पनि समय लाग्ने देखिएको छ ।

सप्लाई चेनको कुरा गर्दा विश्वव्यापी रुपमा असर परेको छ । नेपाली उद्योगहरुले भारत र चीनबाट सबैभन्दा बढी कच्चा पदार्थ ल्याईरहेको छन् । अहिले ती मुलुकपनि कोरोना कारण लकडाउनमा छन् भने सम्पूर्ण विश्वनै एक किसिमको बन्दीमा छ । विश्वकै सप्लाई चेन म्यानमेन्ट नै टुटेको छ यो नै सबैभन्दा ठूलो चुनौतीमा रुपमा खडा हुने छ ।

यसैगरी नगद प्रबाहमा पनि समस्या देखिएको छ । नगद प्रबाहको साईकल नै टुटेको छ । जसका कारण कच्चापदार्थ खरिददेखि दैनिक भैपरी आउने खर्च गर्न समेत समस्या ल्याउने छ भने उद्योग व्यवसाय संचालनमा ठूलो चुनौती ल्याउने छ । एक महिनासम्म उद्योग व्यवसाय बन्द हुँदा लागत बढ्न पुगेको छ । देश ११ गतेबाट लकडाउनमा गएपनि चैतको सुरुवाती देखि नै उद्योगहरु राम्रोसँग चलेका छैनन् । अब उद्योग व्यवसायलाई कसरी लयमा फर्काउने भन्ने मुख्य चुनौती देखिएको छ ।
बजारमा बस्तुको मागको अवस्था के हुने भन्ने पनि चुनौती थपिएको छ । सबैको क्रयशक्ति घटेको छ । कोरोनाका कारण सरकारका साथै जनताको पनि प्राथमिकताको क्षेत्र पहिलाको तुलनमा फरक पर्छ । यस अघि सरकारले विकास निर्माणको कार्यलाई उच्च प्राथमिकता दिएको थियो भने अव जनताको स्वास्थ्य हुनेछ । उद्योगहरुले कोरोना पश्चात स्वतस्फूर्त रुपमा उत्पादन थालेपनि बजारमा काम कम हुनेछ र उत्पादित बस्तुको बिक्री नहुनसक्छ ।

निकासको बाटो

दैविक तथा प्राकृत प्रकोप आउँदा सरकारले तत्कालिन रुपमा राहत दिने हो । सरकारले केही राहतको घोषणा गरेको छ तर अहिलेसम्म औद्योगिक क्षेत्र उकास्नका लागि कुनै पनि राहनको प्याकेज ल्याएको छैन भनौ वा सम्बोधन नै भएको छैन । कुवेत, अमेरिकालगायतका देशले अर्थतन्त्र सुधारका लागि आफ्नो कुल ग्राह्स्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी हिस्साको राहतको प्याकेज घोषणा गरिसकेका छन् । आशा गरौं नेपाल सरकारको पनि त्यसमा ध्यान जाने छ ।

यदि सरकारले उद्योग व्यवसाय उकास्नका लागि विशेष खालको राहतको प्याकेज ल्याएन भने उद्योगहरु लंगडो हुने अवस्थामा पुग्नेछन् । यो अवस्थामा उद्योग पुग्यो भने न राष्ट्रलाई सहयोग पुर्याउँछ न त उद्योगीलाई नै । सरकारले उद्योगलाई लंगडो हुने अवस्थाबाट बचाएर स्वास्थ्य बनाउनुपर्छ । सरकारले मूल्य वृद्धि कर (भ्याट) र आयकर तिर्ने समय १ महिनाको लागि सारेको छ भने चैतमा तिर्ने ऋणको ब्याज र किस्ताको समय असार मसान्तसम्मका लागि सारिएको छ । उद्योग व्यवसाय कहिलेसम्म बन्द हुने हो अनिश्चित छ यो अवस्थामा उद्योगी व्यवसायीले असार मसान्तमा गएर एकै पटक ६ महिनाको किस्ता र ब्याज कसरी तिर्न सक्छन् । यसका लागि सरकारले क्यापिटल इन्जेक्ट गराईदिनुपर्छ ।

अहिले राज्यले उद्योगहरुलाई रातको समयमा विद्युतमा छुट दिने घोषणा गरेको छ । तर उद्योग नै नचलेको अवस्थामा रातीको समयमा विद्युत महशुलमा छुट दिनुको कुनै औचित्य छैन । यो बेलामा सरकारले विद्युत महशुलको डिमाण्ड चार्ज शुन्यमा झार्नुपर्दथ्यो । उद्योग नचल्दा विद्युत खेर गैरहेको छ । यस्तो समयमा सरकारले चलिरहेका अत्यावश्यकीय उद्योगलाई सस्तोदरमा विद्युत उपलब्ध गराउनु पर्दथ्यो ।

राष्ट्र बैंकले सिआरआर घटाएर बजारमा ३० अर्ब रुपैयाँ तरलता ल्याएको छ भने पुर्नकर्जालाई ५० अर्बबाट बढाएर ६० अर्ब रुपैयाँ पुर्याएको छ । यसैगरी कर्जाको किस्ता र ब्याज तिर्ने समय चैतको समयलाई असार मसान्तमा सारिदिएको छ । बजार तलरता ल्याएर मात्र केही हुँदैन । श्रीलंकाले सम्पूर्ण कर्जाको ब्याज घटाईदिएको छ भने बंगलादेशले उद्योग कलखारनामा काम गर्ने मदूरलाई तीन महिनासम्मको तलब दिनका लागि २ प्रतिशत ब्याजदरमा उद्योगीलाई पैसा उपलब्ध गराएको छ । जसमा ६ महिना ग्रेस पिरियड र २ बर्षको ऋण चुक्ता गर्ने समयसिमा तोएिको छ । नेपाल सरकारले फर्मल सेक्टरका मदूरलाई एक महिनाको तलब दिन निर्देशन दिएको छ । उद्योगी व्यवसायीलाई चाहिँ पैसा कहाँबाट आउँछ र मजदूरलाई तलब दिने ? उद्योगीहरु भनेको उद्योग संचालन गरेर त्यहिबाट कमाएर श्रमिकलाई तलव दिएर बैंकको किस्ता र ब्याज तिर्ने क्षेत्र हो । यो नै बन्द भएपछि कसरी तलब दिने कसरी श्रमिकलाई तलब दिने ? यो एकदमै चुनौतीपूर्ण छ ।
यदि उद्योगीहरुले श्रमिकलाई काम नभएको समयको पनि तलब दिने हो भने सरकारले पनि उद्योगका लागि राहतका प्याकेज ल्याउनुपर्छ । बैंकको ब्याज र किस्ता तिर्ने समय सार्नु, कर तिर्ने समय सार्नु केही राहत हो तर उद्योग व्यवसाय संचालनका लागि ल्याइएको राहतको आर्थिक प्याकेज होइन ।

उद्योग व्यवसायीको पैसा उद्योग व्यवसायको भौतिक संरचना, कच्चा पदार्थ, तयारी बस्तुमा छ । अर्कोतर्फ बजारमा उधारोमा ठूलो रकम फसेर बसेको छ । अहिले उद्योगीको हातमा पैसा छैन सबै चेनमा अड्किएर बसेको छ । अहिले हरेक देशले इकोनमीको चेनमा असर नपरोस भनेर राहतका आर्थिक प्याकेज ल्याइसकेका छन् । नेपाल सरकार भने यस विषयमा मौन छ । के सरकारले उद्योग व्यवसायलाई लंगडो बनाएर राख्न लागेको हो ? सरकारले उद्योग व्यवसायलाई जोगाउन राहतमा आर्थिक प्याकेज ल्याइसक्नु पर्दथ्यो जसले उद्योगी व्यवसायीलाई पनि हौसला प्रदान गथ्र्यो । सरकारले उद्योगी व्यवसायीलाई निरास बनाउने होइन उनीहरुको मनोवल उच्च बनाएर मनोबैज्ञानिक असर पर्नबाट जोगाउनुपर्छ ।

सरकारको भूमिका

अब सरकारले औद्योगिक इस्टुमुलेसन गर्नुपर्छ । आगामी दिनमा क्यासफ्लोको ठूलो समस्या आउँछ भने सबै उद्योगलाई पूँजीको आवश्यकता पर्छ । जसका लागि सफ्ट लोनको आवश्कयता पर्छ जुन अन्य मुलुकहरुले पनि दिँदै आएका छन् । उद्योगीहरुले असारमा गएर एकैपटक तिर्न सक्दैनन् यसको पनि समयसीमा सार्नुपर्छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले आफ्नो खर्च गर्ने क्षमता बढाउनुपर्छ । पुँजी निर्माणको काममा सरकारको लगानी आवश्यक छ । नेपालमा आवश्यकताभन्दा विद्युुत उत्पादन हुँदैछ । यहि बेला उद्योगलाई दिने विद्युतको महशुल कम गर्नुपर्छ । सरकारले भारत निर्यात गर्दा कम दर र नेपालमै उद्योगलाई दिँदा बढी दर यो कस्तो व्यवस्था हो ? उद्योग क्षेत्रमा प्रबाह हुने कर्जाको ब्याज कम्तीमा २ बर्षसम्म स्थिर राखेर सहुलियतदरको कर्जा उपलब्ध गराउनुपर्छ । नेपालमा अहिले एकल भ्याक प्रणाली छ अबका दिनमा यसलाई बहुदरमा लैजानुपर्छ । उदाहरणका लागि छिमेकी मुलुक भारतको जिएसटीलाई लिन सकिन्छ । नेपालको अर्थतन्त्र चलायमान बनाउन रेमिटान्सको मुख्य भुमिका रहँदै आएको छ । विश्वव्यापीरुपमा फैलिएको कारोनाको कारण रेमिटान्समा गिरावट आउनुका साथै वैदेशिक रोजगारीमा गएका कामदार फर्कनेछन् । यसले बेरोजारीको ंसख्या बढ्ने छ । अबका दिनमा यसको समेत सम्बोधन हुनपर्छ ।

(श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघका उद्योग समितिका सभापति एवं लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक हुन्)

प्रतिक्रिया दिनुहोस्
MBL