Logo

‘सेयर कारोबार वित्तीय सेवा हो, यो भ्याट योग्य हुँदैन’ अम्बिकाप्रसाद पौडेलको लेख

‘सेयर कारोबार वित्तीय सेवा हो, यो भ्याट योग्य हुँदैन’ अम्बिकाप्रसाद पौडेलको लेख


बिजखबर संवाददाता
4.5k
Shares

-अम्बिकाप्रसाद पौडेल

सेयर ब्रोकरको कारोबारमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने विषय विगत ४/५ बर्षदेखि विवादित बन्दै आएको छ । यसले सेयर ब्रोकरहरुमा मात्र होइन, सम्पूर्ण लगानीकर्ताहरुलाई एउटा भयंकर मनोवैज्ञानिक त्रास पैदा गर्ने गरेको छ । जब जब बजार नयाँ उचाई तर्फ उन्मुख हुन्छ तव भ्याटको भूतलाई जाग्रित गराईन्छ र लगानीकर्ताहरुलाई निरास बनाइन्छ । अहिलेको जस्तो अवस्थामा बजार यथास्थितिमा रहनुको भित्री अन्तर्य यही हो ।

भ्याट एउटा वैज्ञानिक कर प्रणाली हो । संसारका धेरैजसो मुलुकहरुले यस कर प्रणालीलाई अपनाइरहेका छन । जहाँ यस किसिमको कर प्रणाली लागू गरिएको छ, ती मुलुकहरुमा भ्याट लाग्ने र नलाग्ने क्षेत्र भनी परिभाषित गरिएको छ । हाम्रो मुलुकमा पनि यस्तै व्यवस्था रहेको छ । वित्तीय सेवामा भ्याट नलाग्ने व्यवस्था गरिएको छ र सेयरको कारोबारलाई पनि वित्तीय सेवा मानी भ्याट नलाग्ने विश्लेषण गरी शेयर ब्रोकरहरु भ्याटमा दर्ता भएका छैनन भने हामी लगानीकर्ताहरुले पनि भ्याट तिरेका छैनौं । विगत चार पाँच बर्ष देखि १५ लाख भन्दा बढि लगानीकर्ताको मनोबिज्ञानसँग जोडिएको यो विषयलाई सम्बन्धित निकायबाट प्रष्ट रुपमा संबोधन हुनु आवश्यक थियो । बिगतको राजनीतिका अस्थिरता र कर्मचारीतन्त्रले समेत यस बिषयलाई गम्भिर रुपमा नलिई थामथुम पार्ने प्रवृतीको कारण फेरि लगानीकर्ता पूँजी बजारमा आफूले गरेको लगानीमा जोखिम देख्न थालेका छन ।

अहिले सेयर दलाली दस्तुर भ्याट योग्य आय हो होइन, यो क्षेत्र बित्तिय क्षेत्र हो होइन भन्ने बिषयमा दुबिधा रहेको हो भने पनि कानूनको सर्बमान्य सिद्धान्तहरुको पनि मनन गर्नु पर्दछ । जब सेयर खरिद बिक्री गर्ने मूल्यमा नै भ्याट लाग्दैन भने सो प्रक्रियाको सानो हिस्सामा भ्याट लाग्न सक्दैन अर्थात सेयर खरिद बिक्रीकर्ताले सेयर खरिद बिक्री गर्दा तिर्ने अर्थात लिने मुल्यमा सो शुल्क समेत समायोजित भएको मुल्य हो । कमिशन सहितको मुल्य नै सेयरको मूल्य हो । त्यसकारण सेयर खरिद बिक्रिकर्ताबाट कुनै पनि सर्बमान्य सिद्धान्त अनुसार भ्याट लिन मिल्दैन भने ग्राहकले तिर्न नमिल्ने भ्याट ब्रोकरले संकलन गर्न पनि नमिल्ने देखिन्छ । अर्को बहसको बिषय यो बित्तिय सेवा हो होइन भन्ने पनि रहेको छ ।

मूल्य अभिबृद्धि कर निर्देशिकाले २०६९ को दफा ४.१७ ले बैंक तथा बित्तीय संस्थाहरुले प्रदान गर्ने बचत संकलन र ऋण प्रवाह सम्बन्धी सेवा, बचत वा कर्जा सुरक्षण सेवा, अवकास कोष सम्बन्धी सेवा, सेयर वा ऋणपत्र वा अन्य ऋण पत्रको निश्काशन वा व्यबस्थापन वा खरिद बिक्री सम्बन्धी सेवा समेतलाई बित्तीय सेवा मानी यस्ता सेवामा भ्याट नलाग्ने प्रष्ट पारेको छ । तसर्थ सेयर खरिद बिक्री सम्बन्धी कार्य बैंक तथा बित्तीय संस्थाहरुले गरे पनि अन्य कम्पनीले गरे पनि भ्याट योग्य हुन सक्दैन । यो वित्तीय सेवा हो र यसलाई यही रुपमा परिभाषित गर्नुपर्छ र अव पनि यो बिषय लम्बाउनुको हुदैन भन्ने आम लगानीकर्ता तथा सेयर ब्रोकरको रहेको छ ।

सामान्य सिद्धान्त मै हेर्दा पनि सेयर बजार र यसको कारोबार मूलतः वित्तीय सेवा नै हो । त्यही बुझाईका आधारमा यसअघि भ्याट नतिर्ने गरिएको हो । भ्याटको मुख्य सिद्धान्त अन्तिम कारोबार तथा अन्तिम प्रयोगकर्तामा लगाउने हो । तर, एउटै सेयर दैनिक रुपमा धेरैपटक कारोबार गरिन्छ । सामान्य सिद्धान्तको कुरा गर्दा पनि भ्याटको मर्म र सेयर कारोबारको प्रकृति नै एक आपसमा मेल खाँदैन ।

अर्को कुरा सेयर बजार लगानीकर्ताहरुले पूँजी जुटाउने एक सशक्त माध्यमको रुपमा संसारभर नै महत्व दिइने र प्राथमिकतामा राखिएको क्षेत्र हो । अन्य मुलुकमा पनि यो क्षेत्र भ्याटमुक्त नै छ । विकसित मुलुककै कुरा गर्ने हो भने पनि कतिपय देशमा सेयरमा भ्याट लगाएर समेत पुनः हटाएका छन् । साधन र स्रोत न्युन भएको नेपालमा पनि यो बजार उद्यमीले साधन र स्रोत जुटाउने एक सशक्त माध्यमको रुपमा विकसित भैरहेको छ ।

त्यतिमात्र होइन, करिव १५ लाख लगानीकर्ताहरु रहेको नेपालको सेयर बजार अपरिपक्व र भर्खरै बामे सर्दै गरेको अवस्थामा रहेकोले नीतिगत भरथेग गर्नुपर्ने चरणमा पनि छ । यति मात्र होइन, संसारमा सेयर बजार मुनाफामा समन्यायिक वितरण प्रणालीमा आधारित छ र यस बजारलाई धनी र गरिवबीचको खाडल घटाउने सहभागितामूलक प्रणालीको रुपमा पनि लिइन्छ । यी सैद्धान्तिक आधार र नेपालको विद्यमान अवस्थाका बीच हामीले यस क्षेत्रलाई विभागका जिम्मेवार पदाधिकारीहरुबाट वित्तीय सेवाको रुपमा परिभाषित गरी भ्याटमुक्त बनाइयोस भन्ने माग राखिरहेका हौं ।

पृष्ठभूमितिर जाने हो भने हाम्रो मूल्य अभिबृद्धि कर (भ्याट) ऐन, नियमावली तथा निर्देशिकाहरुमा वित्तीय क्षेत्रलाई स्पष्टसँग परिभाषित नगरिएको सन्दर्भमा मलेपको विभागले यसलाई ४ बर्ष अघि उठान गरेको थियो । मलेप विभागले उठान गरिसकेपछि करदाता सेवा कार्यालयले ब्रोकरलाई भ्याट लाग्ने वा नलाग्ने भएमा कारण देखाउन भनेको थियो । त्यतिवेला अन्य क्षेत्रमा १० लाखभन्दा बढी कारोबार हुँदा भ्याट लगाइयो । तर ब्रोकर तथा आम लगानीकर्ताले सेयर कारोबारलाई वित्तीय सेवा मानी भ्याट नलगाउने गरिएको थियो । आर्थिक विधेयकमा अहिलेसम्म पूँजी बजारमा भ्याट लाग्छ भनेर उल्लेख नगरिएकोले पनि हामी लाग्दैन भन्नेमा विश्वस्त भएर कारोबार गरिरहेका थियौं । भ्याटको विषयमा ४ बर्षसम्म द्वन्द्व हुँदा आर्थिक ऐनमा पनि राखिएको थिएन । त्यसैले हामीले सेयर खरिदबिक्री कारोबारलाई वित्तीय क्षेत्रमा राखिएकोले भ्याटको दायरामा छैनौ भनेर सोही अनुसार कारोबार गर्दै आएका हौं ।

अहिले सरकारले ब्रोकरलाई ४ बर्षअघि देखिको भ्याट तिर्न पत्राचार गरेको कुरा बाहिर आइरहेको छ । यदि कारोबारको आधारमा ४ बर्ष अघिदेखिको भ्याट तिर्ने हो अधिकांश ब्रोकर कम्पनीहरु बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । उनीहरुले हालसम्म लगानीकर्ताबाट भ्याट उठाएका छैनन् । यस अबधिमा कतिपय ब्रोकर खरिदबिक्री भएर स्वामित्व हस्तान्तरण भइसकेका छन् । सरकारले एकैपटक भ्याट लगाउँदा ब्रोकरले आफ्नो सम्पति बेचेर तिर्नुपर्ने हुन्छ । यो अवस्थामा ब्रोकरले आफ्ना कम्पनी बन्द गर्नुको विकल्प रहँदैन । त्यो अवस्थामा पूँजी बजारको हालत के हुन्छ ?

गम्भीरतापूर्वक सोच्नुपर्ने अझ महत्वपूर्ण विषय के पनि रहेको छ भने नेपालको भर्खरै भर्खरै उठ्न खोजेको छ । अहिले पनि बैंक तथा वित्तीय क्षेत्रको प्रभाव बढी छ । वास्तविक क्षेत्रका कम्पनी आउन सकेका छैनन् भने लगानीकर्ता शहर केन्द्रित छन् । भर्खरै मात्र जलविद्युतका कारण दुरदराजका लगानीकर्ता पूँजी बजामार प्रवेश गरेका छन् ।

हामीले आर्थिक सम्बृद्धिका कुरा गरिरहेका छौं र यसका लागि पूँजी निर्माणको आधार पूँजी बजार नै हो भन्दै आएका छौं । । समृद्धि हासिल गर्न यस बजारलाई अझ बढावा दिन आवश्यक छ । यही अवस्थामा भ्याटको कुरा ल्याएर अल्मल्याउने हो भने झण्डै जीडीपीको हाराहारीमा पुगेको सेयर बजारमा घातक परिणाम आउन सक्छ । हामीले कसैले पनि त्यस्तो परिणामको कल्पना गरेका त होइनौं होला ।

सरकारको लागि पूँजी बजारले उल्लेखनिय रुपमा भ्याट संकलन गरिदिने तथा विकासमा सहयोग हुन्थ्यो भने पनि यस विषयमा लगानीकर्ता बोल्ने थिएनन् । अहिलेको समयमा अघिकतमभन्दा अघिकतम भ्याट रकम खर्च गर्दा पनि २५/२६ करोड रुपैयाँभन्दा बढी संकलन हुँदैन । तर, यसबाट झण्डै १५ लाखको हाराहारीमा रहेका लगानीकर्ता प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मनोवैज्ञानिक त्रासमा पर्नेछन । स्वरोजगारीको माध्यम बनाएका कतिपय लगानीकर्ताहरु बजारप्रति विश्वास गुमाई सँधैका लागि बजारबाट बाहिरिन सक्ने खतरा देखिन्छ । त्यो सरकारको टाउको दुखाईको विषय पनि हो । समग्ररुपमा पूँजी बजारमा नकारात्मक असर पर्दा पूँजीगत लाभकरमार्फत सरकारले प्राप्त गर्दै आएको अर्बौ रुपैयाँ गुमाउनुपर्ने स्थिति पैदा हुनसक्छ ।

त्यसैले मेरो भनाई त के हो भने अहिले सरकारले जुनरुपमा भ्याटको कुरा उठाएको छ यसले सरकार र लगानीकर्ता दुवैलाई हानी पुर्याउने छ । लगानीकर्तालाई मनोबैज्ञानिक असर पर्नेछ भने सरकारलाई आर्थिक । अहिले नेपालको पुँजी बजार ठूलो रुपमा फैलिएको छैन । भर्खरै झागिँदै गरेको पूँजी बजारमा भ्याटको हौवा ल्याएर लगानीकर्ताको मनोविज्ञानमा असर पु¥याउनु उचित देखिँदैन । यस विषयलाई राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले विशेषरुपमा लिएर समयमै सम्बोधन गर्नुपर्छ । जसले पूँजी बजारमा विकास गर्न सहयोग गर्छ ।

पछिल्लो ४ बर्षमा भ्याट प्रकरण देखाउँदै धेरै मानिसले पूँजी बजारमा चलखेल गर्दै आएका छन् । अबका दिनमा यस्तो नहोस भन्ने समग्र लगानीकर्ताको चाहना हो । यसलाई सरकारले छिटोभन्दा छिटो सम्बोधन गरेर पूँजीबजारलाई भ्याटमुक्त र भयमुक्त गराउनुपर्छ । अहिलेको पूँजी बजार लगानीकर्ताको मनोविज्ञानमा चलिरहेको छ । यदि सरकारले भ्याटको कुरा उठान गर्ने हो भने न त पूँजी बजारको विकास हुन्छ न सरकारले राजस्व प्राप्त गर्न सक्छ ।

(लेखक नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष हुन् )

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL