Logo

उद्यमशीलताका लागि ‘ब्यालेन्स शीट’मा आधारित कर्जा : अनुपमा खुञ्जेलीको लेख

उद्यमशीलताका लागि ‘ब्यालेन्स शीट’मा आधारित कर्जा : अनुपमा खुञ्जेलीको लेख



अर्थतन्त्रको पुनरुद्धारमा उद्यमशीलताको ठूलो हात हुन्छ । धनीलाई झन् धनी बनाएर मात्रै मुलुक अगाडि बढ्दैन । सबैलाई समेटेर लैजानुपर्छ । समावेशीरुपमा एक साथ अगाडि बढ्न सके मात्रै वास्तवमा दिगो विकासको लक्ष्य भेट्न सकिन्छ । यसैले अब धेरैको सोच जागिर खाने होईन, जागिर दिने हुनुपर्छ । त्यसका लागि उद्यमशीलताको प्रवद्र्धन र विकास गर्नुपर्छ । यो नभइकन दिगो विकास गर्न सकिंदैन । यसका निम्ति विद्यालय तहदेखि नै विचार प्रक्रियालाई परिवर्तन गरेर ल्याउन जरुरी छ । मुलुकमा उद्यमशीलताको विकास गर्ने हो भने त्यसको शुरुवात विद्यालय तहको शिक्षबाटै गर्नुपर्छ । विद्यालय तहदेखि नै पढाई, सिकाई र अभ्यासको अनुभव गराउदै ल्याउने हो भने उद्यमी जन्माउन धेरै कठीन हुँदैन ।

laxmi

विश्वमा नयाँ उद्यमशील व्यक्तिमध्ये करीब ८०–८५ प्रतिशत असफल नै हुन्छन् भन्ने विभिन्न अध्ययनले देखाएको छ । यसमा सफल हुने दर एकदम कम छ । यो दर कम भए पनि नेपालमा भने युवालाई उद्यमशीलताकै बाटो देखाउन जरुरी छ । यसका लागि सस्तो ब्याजदरमा लगानी गर्न सक्ने अवस्था हुनुपर्छ । जग्गा किनेर व्यवसाय गर्न थाल्यौं भने सुरुवात नै गलत हुन्छ, व्यवसायको लागतमै बढी खर्चिनु पर्दा व्यवसायलाई प्रोत्साहित गर्न सकिंदैन । उत्पादन गर्ने कच्चा पदार्थ खरिदका लागि कर्जाको ब्याजदर सस्तो हुनुपर्छ तव मात्र उद्यमीहरुले काम गर्न सक्ने अवस्था बन्छ । यहाँको उत्पादन सस्तो भएपछि आयात प्रतिस्थापन गर्ने वातावरण सिर्जना गर्न सकिन्छ ।

उत्पादन गर्न र उद्यमी बन्न नेपालमा सहज छैन । त्यसको लागि कच्चा पदार्थको लागत कम हुनुपर्छ । हामीले उत्पादन गर्ने सामानहरु आयातित सामान भन्दा गुणस्तरीय हुनु जरुरी छ । कच्चापदार्थ महँगोमा ल्याउनु भन्दा मुलुकभित्रै उपलब्ध कच्चा पदार्थबाट बन्ने वस्तुको उत्पादन बढाउन जरुरी छ । हामी कृषिप्रधान देश भन्छौं, कृषिमा केन्द्रित छौं । तर साना किसानले गरेको उत्पादनले देशलाई कृषिप्रधान बनाउँदैन । त्यसका लागि सामूहिक खेती, ठूलो जग्गामा खेती हुनुपर्छ । ठूलो मात्रामा हुने उत्पादनले मात्र आयातको प्रतिस्थापन गर्न सक्छ । निर्यातको संभावना बढाउन सक्छ ।

सम्भावनामा लगानी

बैंक भनेको मध्यस्थकर्ता मात्रै हो । सर्वसाधारणबाट पैसा ल्याएर राम्रो सम्भावना भएको क्षेत्र वा उद्यममा बैंकले लगानी गर्छ । बैंकले लगानी गरेर सेयरधनीहरुलाई प्रतिफल दिने हो । यसर्थ आमग्राहकहरुमै उद्यमशील बन्ने ईच्छाशक्ति हुनुपर्छ । बैंकले कर्जा मात्रै दिने हो । बैंक आफै गएर उत्पादन गर्ने वा त्यसमा सहयोग गर्ने होईन । बैंकले उद्यम स्थापना गर्ने होईन । यसकारण बैंकलाई व्यावसायिक योजनासहितको उद्यमी चाहिन्छ । व्यवसायमा अवसर देख्नेको जमात चाहिएको छ । व्यवसाय गर्ने वा मानिसहरुलाई उद्यमशील बनाउने वातावरण सरकारले निर्माण गरिदिनुपर्छ । उद्यम सफल बनाउन बिजुली, पानी, सिंचाई, बाटो, बजारीकरणलगायत सबै सेवा उपलब्ध हुनु जरुरी छ । बैंकले त आर्थिक जोहो मात्रै गरिदिने हो । यद्यपी अहिले बैंकहरुलाई कर्जा दिन समस्या परेको अवस्था छ । यो अवस्था सधैं नरहला । भोलिको दिनमा कर्जा दिने अधिक क्षमता हुँदा लक्ष्य भनेको उद्यमशीलता सिर्जना गर्ने नै हुनेछ ।

मुलुकभित्रै कच्चापदार्थ प्रयोग गरेर उत्पादन गर्नु जरुरी छ । यद्यपि यो सजिलो कार्य भने होइन । यस्तो वातावरण सिर्जना गर्न सबै पक्षबाट सहयोग हुनुपर्छ । आज ७ प्रतिशत रहेको कर्जाको व्याजदर भोलिको १२ प्रतिशत हुने अवस्थामा अन्योलता रहन्छ र उद्यमीले लगानी गर्दैनन् । व्यवसायमा उद्यमीले ३० प्रतिशत लगानी गर्ने हो, बाँकी ७० प्रतिशत बैंकले कर्जा लगानी गर्छ । त्यहि ३० प्रतिशत स्वलगानी गर्ने समूह विश्वासका साथ अगाडि आउन सक्नुपर्छ । सरकारको सहयोग आवश्यक पर्ने त्यसैमा हो ।

उद्यमशीलता विकासमा बैंक

उद्यमशीलतामा बैंकको भूमिका राम्रै छ । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिंदै कृषि, लघु, साना तथा मझौला उद्यम (एमएसएमई), ऊर्जा लगायतमा प्रतिशत नै तोकेर लगानी गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले २०८० असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्न निर्देशन दिएको छ । साथै, २०८१ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. १ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्न निर्देशन दिएको छ । अझ बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना तथा सञ्चालनमा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख छ । यसैअनुसार बैंकहरुले पनि लगानीको लक्ष्य राखेका छन् ।

बैंक भनेको मध्यस्थकर्ता मात्रै हो । सर्वसाधारणबाट पैसा ल्याएर राम्रो सम्भावना भएको क्षेत्र वा उद्यममा बैंकले लगानी गर्छ । बैंकले लगानी गरेर सेयरधनीहरुलाई प्रतिफल दिने हो । यसर्थ आमग्राहकहरुमै उद्यमशील बन्ने ईच्छाशक्ति हुनुपर्छ ।

राष्ट्र बैंकको निर्देशन अनुुसार नै बैंकहरुले कर्जा वृद्धि गर्दै आएका छन् । त्यसका लागि वित्तीय साक्षरतालाई प्राथमिकतामा राखिएको छ । मेगा बैंकले महिला उद्यमशीलतालाई अगाडि ल्याउनेदेखी सबै प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गर्ने जस्ता कार्य गरिरहेको छ । भोलिको दिनमा हामीले पनि बलिया उद्यमीहरु देख्न चाहेका छौं । आज, लघु उद्यममा आएकाहरु भोलि साना तथा मझौला उद्यमी बन्नेछन । हाम्रो चाहना पनि प्रत्येक पाईलामा उद्यमीहरु सफल हुँदै जाउन् भन्ने हो । हामी उनीहरुको विश्वास जित्दै सँगसँगै अघि बढ्न चाहन्छौं । बैंकमा आएका ऋणी ग्राहकको व्यवसाय वृद्धि नभए बैंकको प्रगति हुन सक्दैन । यसर्थ हरेक ग्राहक हाम्रा लागि महत्वपूर्ण हुन्छन् । उद्यमशीलता त झन् बैंकरका लागि महत्वपूर्ण पाटो हो । यसका लागि हामी वित्तीय साक्षरताको विकास र विस्तार गर्न चाहन्छौं । विभिन्न परियोजनामा लगानी गरेर उद्यमशीलता बढाउन हामी ईच्छुक छौं ।
मुलुकमा उद्यमशीलता विकास गर्नमा बैंक मात्रै होइन सबै पक्षको सहकार्य जरुरी छ । अहिलेको युवा पुस्तामा उद्यमशीलताप्रति आकर्षण देखिन्छ । बैंकहरुले पनि समग्र उद्यमशीलताको विकास गर्न लघु, साना तथा मझौला कर्जामा ध्यान केन्द्रित गर्दै आएका छन् ।

महिला उद्यमशीलता

हामीले उद्यमी बन्न तयार नभएका महिलाहरुलाई पनि सहुलियतपूर्ण कर्जा दिने भनेका छौं । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ माघसम्म सबै बैंकहरुबाट महिला उद्यमशीलता शिर्षकमा मात्रै ८५ अर्ब ९९ करोड ३५ लाख ९६ हजार रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा स्विकृत भएको छ । यो रकम ६ प्रतिशत ब्याज अनुदानमा महिला उद्यमशीलताका लागि प्रवाह भएको हो । यससँगै सहुलियतपूर्ण कर्जा विभिन्न शीर्षकमा दिईएको छ र धेरैले सहुलियतपूर्ण कर्जा उपभोग गर्न पाइरहेका छन् । यस्तो कर्जा धितोमा मात्रै होईन, विना धितो नै गइरहेको छ । यो सुरक्षित पनि छ । महिला उद्यमशीलताका निम्ति दिएको सहुलीयतपूर्ण कर्जालाई प्रोत्साहन गरेर हरेक शाखाबाट १० ओटासम्म गएको छ । यति मात्रै गरेर उद्यमशीलतामा ठूलो परिवर्तन आउन सक्दैन । किनभने यो १५ लाख रुपैयाँसम्मको सानो नगद कर्जा हो । भोलिको दिनमा योभन्दा माथि जान धितो अनिवार्य हुन्छ । यसका साथै वित्तीय प्रतिवेदन पारदर्शी राख्नु पर्ने चुनौती पनि उत्तिकै छ ।

हाल प्रोजेक्ट फाईनान्सिङ भनेर धेरै जसो बैंकले जलविद्युतमा लगानी गरिरहेका छन । ठूला सिमेन्ट उद्योग, स्टिल उद्योग लगायतमा अर्बौं रुपैयाँको लगानी गएको छ । तर साना तथा मझौला उद्यमशीलता कर्जामा भने अझै पनि प्रोजेक्ट फाईनान्सिङ गर्ने अवस्था आईसकेको छैन । यी क्षेत्रको हिसाबकिताब तथा लेखा प्रणालीगत छैन । कारोबारको लेखापरीक्षण गर्ने लेखापरीक्षक पनि नराखेको स्थिति छ । यो सबै आवश्यकता पुरा गरी भविष्यमा बैंकहरुले उद्यमशीलतामा विना धितो प्रोजेक्टमा आधारित कर्जा दिन सक्ने अवस्था आयो भने धेरै परिवर्तन आउला । अहिले त यस्तो ऋणमा धितो राखेपछि मात्रै बैंक ढुक्क हुनुपर्ने अवस्था छ । बैंक नै नगई, राम्रो परियोजनाको प्रस्ताव नै नराखी सहुलियतपूर्ण कर्जा पाइएन भन्न सुहाउँदैन । राम्रो प्रोजेक्ट बनाएर कसरी कमाएर प्रतिफल लिने, खर्च र बचत गर्ने र पुनः लगानीे गर्ने जस्ता योजना हुनुपर्छ । योजना र लक्ष्य लिएर बैंक आउनेले कर्जा नपाउने भन्ने कमै हुन्छ ।

अहिले अधिकांश एसएमई उद्यम कारोबारको ब्यालेन्स सीटको भरमा स्रोत एवम् नगद प्रवाह हेरेर कर्जा दिनसक्ने अवस्था धेरै कम देखिन्छ । विस्तारै यस्ता उद्यम मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएपछि र वास्तविक नाफा देखिन थालेपछि सो संस्थाको व्यावसायिक क्षमताको आधारमा बैंकले लगानी गर्छ ।

ब्यालेन्स शीटमा आधारित कर्जा

उद्यमशीलता विकासका निम्ति धितोमा आधारित कर्जाबाट ब्यालेन्स शीटमा आधारित कर्जामा जानसक्ने वातावरण सृजना गर्नुपर्छ । यद्यपि त्यस दिशामा विस्तारै काम भने हुँदैछ । यो कुरालाई बैंकहरुले ध्यान दिन थालेका छन् । राष्ट्र बैंकले पनि एसएमई कर्जामा जोड दिईरहेको छ । यस्ता संस्थाको वित्तीय प्रतिवेदन पारदर्शी भएमा यसको आधारमा बैंकहरुले पनि निर्धक्क भएर कर्जा दिन सक्छन । यसो भएमा नेपालमा उद्यमशीलता विकास धेरै राम्रो हुनेछ ।

उद्यमशीलता विकासका निम्ति धितोमा आधारित कर्जाबाट ब्यालेन्स शीटमा आधारित कर्जामा जानसक्ने वातावरण सृजना गर्नुपर्छ । यद्यपि त्यस दिशामा विस्तारै काम भने हुँदैछ । यो कुरालाई बैंकहरुले ध्यान दिन थालेका छन् ।

यतिबेला बैंकहरु तरलता अभावबाट गुज्रिरहेका छन् । बैंकसँग लगानीयोग्य पूँजी नहुँदा व्यवसायको विस्तार खुम्चिएको छ । स्रोत नै नभई व्यापार बढाउँछु भनेर सपना देख्नु व्यर्थ हो । यसर्थ सुरुमा अहिलेको तरलता अभावको चुनौतीबाट पार पाउनु पर्ने देखिन्छ । भावि दिनमा उद्यमशीलता प्रवद्र्धनमा बैंकले लगानी मात्रै गर्ने हो । यसका लागि तयार भएर ग्राहकहरु बैंकसम्म आईदिनु प¥यो । यदि साच्चै उद्यमी बनाउने हो भने विद्यालय तहदेखी नै यसबारे अध्ययन गराईनुपर्छ । अहिलेको पाठ्यक्रममा उद्यमशीलतालाई प्राथमिकता दिन जरुरी छ । यसले उद्यमी बन्न उत्प्रेरणा दिन्छ । युवा पुस्तामा उद्यमी बन्छु भन्ने सोचको विकास हुनुपर्छ । उद्यमी बन्न तयार नभएकालाई बैंकले जबरजस्ती गर्ने कुरो हुँदैन । खुञ्जेली मेगा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । यो लेख नेपाल चेम्बर अफर कमर्सको स्मारिकाबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL