Logo

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार, अर्थमन्त्रीको दबाब र निजी क्षेत्रको अनुरोध गभर्नरले मान्लान ?

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार, अर्थमन्त्रीको दबाब र निजी क्षेत्रको अनुरोध गभर्नरले मान्लान ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले यहिँ शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको छ । सो दिन मौद्रिक नीतिको ९ महिने समीक्षा ल्याउनका लागि राष्ट्र बैंकले संचालक समितिको बैंठक समेत बोलाएको छ ।

laxmi

पछिल्लो समय भुक्तानी सन्तुलनमा आएको सुधार, विदेशी मुद्राको बढ्दो सञ्चिति तथा रेमिटान्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएपछि अहिले कडाई गरिएका व्यवस्थाहरुलाई केही लचिलो बनाउनुपर्ने आवस्था देखिएको राष्ट्र स्रोतले जानकारी दिएको छ । यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक फोरमहरुमा अहिलेको अवस्थामा मौद्रिक नीतिमार्फतबाट मात्रै देशको अर्थतन्त्र चलायमान बनाउन सहज हुने भन्दै सोही अनुरुप परिमार्जन गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पटक पटक छलफल गरेको बताउँदै आएका छन् ।

अर्थमन्त्री डा. महतले अर्थमन्त्रालयको बागडोर सम्हालेसँगै मौद्रिक नीतिमार्फत अहिले कडाई गरिएका नीतिगत व्यवस्थालाई खुकुलो बनाउन दबाब दिँदै आएका छन् । साथै उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत अहिले कडाई गरिएका कतिपय प्राबधानहरु खुकुलो हुने र ब्याजदर समेत अट्ने आश्वासन उद्योगी व्यवसायीलाई दिँदै आएका छन् ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सोमबार मात्रै गभर्नरलाई भेटी मौद्रिक नीतिको समीक्षामार्फत अहिले भएका नीतिगत व्यवस्थालाई खुकुलो बनाउन सुझाव दिएका छन् । ढकालले गभर्नरलाई उनकै कार्यकक्षमा भेटी पुनर्कर्जाको व्यवस्था, कर्जाको पुर्नतालिकिकरण, नीतिगत दर र बैंकदर घटाउनुपर्ने, सेयर धितो कर्जाको १२ करोडको सीमा र १५० प्रतिशतको जोखिम भारलाई हटाउनुपर्ने सुझाव दिएका छन् ।

यसैगरी नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेकपा एमाले समर्थित नेपाल उद्योग तथा व्यवसायी महासंघले पनि अहिलेको अवस्थामा उद्योगी व्यवसायीलाई बचाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगतरुपमा थुप्रै व्यवस्थाहरुमा लचतकता ल्याउनुपर्ने सुझाव दिएका छन् । उक्त भेटमा गभर्नरले अहिलेको अवस्थामा उद्योग व्यवसाय संचालनलाई सहज बनाउँदै अर्थतन्त्र चलायमान बनाउन यस अघि भएका कतिपय नीतिगत कडाईहरुलाई परिमार्जन गर्ने आश्वासन दिएको सम्बद्ध उद्योगी व्यवसायीहरुले बताएका छन् ।

व्यवसायीहरुसँगको भेटमा गभर्नर अधिकारीले पनि कुन क्षेत्रमा केकति लचकता अपनाउन सकिन्छ त्यसमा परिमार्जन गरिने आश्वासन दिँदै आएका छन् । साथै राष्ट्र बैंक स्रोतले पनि ९ महिनाको तथ्यांकलाई आधार मानेर मौद्रिक नीतिमार्फत यसअघि कडाई गरिएका कतिपय व्यवस्थाहरुमा लचकता अपनाउने जानकारी दिएको छ । राष्ट्र बैंकले बुधबार (भोली) नै चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांक सार्वजनिक गर्दैछ ।

उक्त तथ्यांकले पनि पछिल्लो समय देशको आर्थिक अवस्थामा केही सुधार आएको देखाउने उक्त स्रोतको भनाई छ । चालू आवको ९ महिनाको तथ्यांकमा ८ महिनाको तुलनामा शोधनान्तर बचतमा सुधार आउनुका साथै विदेशी मुद्रा संचिती समेत बढ्ने छ । यस्तै रेमिटान्स आप्रवाहमा पनि थप सुधार आएको राष्ट्र स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL