Logo

४ बर्ष यता देशको शोधनान्तर स्थितीमा उल्लेख्य सुधार, वैदेशिक लगानी दोब्बरले बढ्यो

४ बर्ष यता देशको शोधनान्तर स्थितीमा उल्लेख्य सुधार, वैदेशिक लगानी दोब्बरले बढ्यो



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो १० बर्षमा देशको सोधनान्तर स्थितीमा उल्लेख्य सुधार आएको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको थियो । विश्वभर भएको लकडाउनका कारण देशमा हुने आयातमा गिरावट आउँदा शोधनान्तर स्थितीमा उल्लेख्य सुधार आएको हो ।

पछिल्लो ४ बर्ष यता नेपालको शोधनान्तर स्थितीमा पहिलो पटक ठूलो मात्रामा वचतमा रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘२०७३ असारमा शोधनान्तर बचत १ खर्ब ८९ अर्ब रुपैयाँमा थियो त्यसयता पहिलो पटक अहिले १ खर्ब २० अर्ब रुपैयाँ बचतमा रहेको छ,’ उनले भने, ‘बैशाखमा रेमिटान्स आयमा सुधारमा आएको सुधार र आयातमा गिरावट आउँदा शोधनान्तर बचतमा सुधार भएको छ ।

समीक्षा अवधिमा चालु खाता घाटा १ खर्ब ५ अर्ब ७४ करोड रुपैयाँ मात्र रहेको छ । जवकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

यसैगरी सो अबधिमा प्रत्यक्ष वैदेशिक लगानीमा समेत वृद्धि भएको छ । चालू आबको १० महिनामा १७ अर्ब ४२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपैयाँ मात्र रहेको थियो ।

२०७६ असार मसान्तमा १० ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बृद्धि भई २०७७ बैशाख मसान्तमा १२ खर्ब ३५ अर्ब २५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ बैशाख मसान्तमा बढेर १० खर्ब ७५ अर्ब १९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १ खर्ब ६० अर्ब ७ करोड पुगेको छ । २०७७ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL