काठमाडौ । कुमारी बैंक लिमिटेडले शुक्रबारदेखि एकिकृत कारोबार शुरु गरेको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, महाकाली विकास बैंक लिमिटेड, काक्रेविहार विकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति एकीकृत कारोबार सुरु गरेको हो ।
शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपालले एकीकृत कारोबारको सुभारम्भ गरे ।
कुमारी बैंक लिमिटेडले गत जेठ १७ गते नै नेपाल राष्ट्र बैंकबाट उक्त चार संस्थालाई गाभेर एकीकृत कारोबार गर्न स्वीकृति पाएको थियो ।
कुमारी बैंक लिमिटेडले उक्त चार संस्था प्राप्तिपछि बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत चैत ९ गते सम्पन्न साधारण सभाले एकीकृत कारोबारपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत (एक अर्ब १९ करोड रुपैंया बराबर) को हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
त्यसपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड रुपैयाँ नाघ्ने बैंकको दाबी छ । प्राप्ति पछि बैंकको कुल निक्षेप ५२.३० अर्ब, कर्जा ४४.९५ अर्ब, शाखा ७४, ए. टी. एम ५७ तथा एक्स्टेन्सन काउन्टर २ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले २०७४ आषाढ मसान्तभित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पु¥याउनु पर्ने व्यवस्था गरेको छ । कुमारी बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले दिएको समयसिमा भित्रै सजिलै चुक्ता पुँजी पुग्ने जानकारी बैंक सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार लामाले दिए ।