काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘सेमिनार अन् कोशी लिडरसिपः इन्स्पाएरिंग पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको थियो ।
हालै मधेश र बागमती प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो त्यसैको निरन्तरता स्वरूप कोशी प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको छ र अरु प्रदेशहरूमा पनि यसै गरी क्रमश आयोजना गरिने बैंकले जनाएको छ ।
कोशी केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।
समिक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११।६९ प्रतिशतको वृद्धि भएको छ जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो ।
खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ३० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।