काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा आयात गर्दा प्रत्येकपटक पाईने विदेशी मुद्रा सटही सुविधा ३ हजार डलरले बढाएको छ । राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै भारत बाहेक देशबाट सेवा आयात गर्दा हरेकपटक पाईने विदेशी मुद्रा सटही सुविधा ५ हजार डलरबाट ८ हजार डलर बनाएको हो ।
केन्द्रीय बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भारत बाहेक देशबाट सेवा आयात गर्न ८ हजार डलर बराबर विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था गरेको हो । यसअघि भारत बाहेक देशबाट सेवा आयात गर्न ५ हजार डलरसम्मको मात्र परिवर्त्य विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था थियो ।
त्यसैगरी केन्द्रीय बैंकले नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रतिपटक ८ हजार डलरभन्दा बढीको विदेशी विनिमयमा दायित्व सिर्जना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नुपरे वा सेवाबापत भुक्तानी गर्नुपर्ने भए आफ्नो नियामक निकायबाट स्वीकृति पाएको हुनुपर्छ ।
साथै, नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सटही सिफारिसका आधारमा सेवा आयात गर्दा प्रतिपटक १५ हजार डलर बराबर अन्य परिवत्र्य विदेशी मुद्रासम्म वाणिज्य बैंकबाट नै सटही सुविधा प्रदान हुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसअघि यस्तो सटही सुविधा १२ हजार डलरसम्म थियो ।