Logo

एक वर्षमा नै बैंकहरुको बेस रेट २.०३ प्रतिशत विन्दुले घट्यो, कुन बैंकको कति ?

एक वर्षमा नै बैंकहरुको बेस रेट २.०३ प्रतिशत विन्दुले घट्यो, कुन बैंकको कति ?



काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तय संस्थाहरुको आधार दर (बेस रेट) निरन्तर घट्दै आएको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै गएको छ । पछिल्लो १ वर्षमा वाणिज्य बैंकहरुको औसत आधार दर २.०३ प्रतिशत विन्दुले घटेको छ ।

बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर सस्तो हुन पुगेको हो । अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर बसेको छ । ऋण दिन पर्याप्त पैसा हुँदाहुँदै पनि कर्जाको माग कम छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घटिरहे पनि अपेक्षित रुपमा कर्जा माग नहुँदा बैंकहरुमा अहिले पनि १० खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।

केन्द्रीय बैंकलाई अधिक तरलता व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) र निक्षेप संकलन उपकरणमार्फत एकैदिन ३ खर्बभन्दा धेरै रकम केन्द्रीय बैंकमा राखेको अअवस्था छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २.०३ प्रतिशत विन्दुले घट्यो

पछिल्लो १ वर्षमा २० वाणिज्य बैंकहरुको औसत आधार दर २.०३ प्रतिशत विन्दुले घटेको छ । २०८२ साउन महिनाको लागि बैंकहरुको औसत आधार दर ६.११ प्रतिशत निर्धारण भएको छ । २०८१ को साउनमा बैंकहरुको औसत आधार दर ८.१३ प्रतिशत थियो । अहिले २ वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा कम रहेको छ ।

सबैभन्दा कम बेस रेट राष्ट्रिय वाणिज्य बैंकको ४.८९ प्रतिशत छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकको ४.९० प्रतिशत छ । यस्तै, ५ वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा कम रहेको छ । सबैभन्दा धेरै बेस रेट हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको बेस रेट ७.१७ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो । आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ । तसर्थ, आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्