काठमाडौं । बंगलादेशको हाउलादार युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकहरूको बाह्य लेखापरीक्षण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायतामा बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न लाग्दा बंगलादेशी फर्मलाई छनोट गरेको हो।
लेखापरीक्षण गरेबापत हाउलादार युनुस एन्ड कम्पनीले ६२ लाख ५४ हजार रुपैयाँ र २ लाख ७१ हजार अमेरिकी डलर ९करिब ३ करोड ७१ लाख रुपैयाँ० भुक्तानी पाउनेछ।
आईएमएफसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत गरिएको सम्झौताअनुसार नेपालले १० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण अन्तर्राष्ट्रिय अडिटरबाट गराउने प्रतिबद्धता जनाएको थियो। मार्च २०२३ मा गरिएको सम्झौताअनुसार ३९५ मिलियन डलर कर्जाको सन्दर्भमा लेखापरीक्षणको शर्त राखिएको थियो।
यसअघि लेखापरीक्षणका लागि भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालि छनोटमा परेको थियो। तर, प्रस्ताव अस्वीकृत भएपछि प्रक्रिया रद्द गरिएको थियो। त्यसपछि राष्ट्र बैंकले नयाँ छनोट प्रक्रिया अघि बढाएको हो।
आईएमएफको सिफारिस अनुसार अब हाउलादार युनुस एन्ड कम्पनीले १० ठूला वाणिज्य बैंकहरूको ऋण पोर्टफोलियोको पूर्ण मूल्यांकन गर्नेछ। यसले बैंकिङ प्रणालीको पारदर्शिता तथा दीर्घकालीन स्थायित्वमा टेवा पुग्ने विश्वास गरिएको छ।