काठमाडौं । नेपालमा लगानी गरेको पाकिस्तानको हबिब बैंक बाहिरिने भएको छ । हिमालयन बैंक लिमिटेडमा गरेको लगानीलाई बिक्री गरेर निस्कने भएको हो । बैंकको संस्थापक सेयरधनी हबिब बैंकको सेयर बिक्रीमा राखिएको हो ।
हबिब बैंकले मूल्य तोकी एकमुष्ट सम्पूर्ण संस्थापक सेयर अर्थात २ करोड ८० लाख १२ हजार ४४७ दशमलव ४५ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएकाले उक्त सेयर बिक्रीमा राखिएको हिमालयन बैंकले जनाएको छ ।
उक्त सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको बैंकको कानून विभागमा पेश गर्नुपर्नेछ ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ११२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । उक्त निर्धारित मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।