Logo

सेयर कर्जाको ब्याजदर औसतमा अझै १२.८७ प्रतिशत, कुन बैंकको कति छ ब्याज ?

सेयर कर्जाको ब्याजदर औसतमा अझै १२.८७ प्रतिशत, कुन बैंकको कति छ ब्याज ?



काठमाडौं । नेपालको बैकिङ प्रणालीमा प्रचुर तरलता हुँदापनि सेयर धितो कर्जाको ब्याजदर अझै उच्च देखिएको छ । सेयर धितो राखेर कर्जा लगानी गर्दा वाणिज्य बैंकहरुले लिने ब्याज अहिलेपनि औसत १२.८७ प्रतिशत रहेको छ । पछिल्लो केहि समय यता बैंकहरुमा लगानीयोग्य रकम फालाफाल अवस्था रहेको कारण सेयर धितोमा जाने कर्जा पनि बढ्दो अवस्थामा रहेको छ । यस कारण बैंकहरुले पनि कर्जाको ब्याजदर घटाएर सेयर धितो कर्जामा लगानी गरिरहेका छन् । तर, अहिलेपनि औसत ब्याजदर उच्च रहेको लगानीकर्ताहरुले बताउँदै आएका छन्

laxmi

पछिल्लो समय बैंकहरुले आफ्ना निक्षेपकर्तालाई दिने निक्षेपको ब्याजदर उल्लेखनीय रुपमा घटाएका छन् । जसको कारण बैंकहरुको आधारदरमा पनि गिरावट आएको छ । बैंकहरुको आधारदर घट्दा कर्जाको ब्याजदर सस्तो भएको छ । वाणिज्य बैंकहरुले आधारदरमा केहि प्रतिशत प्रिमियम थप गरेर सेयर धितो कर्जा प्रवाह गर्दैै आएका छन् ।

अहिले सेयर धितोकर्जामा सबैभन्दा कम ब्याजदरमा कर्जा लगानी गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले १०.३७ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिने गरेको छ । यसैगरी, नबिल बैंकले ११.६१ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा लगानी गर्ने गरेको छ । एनआईसी एसिया बैंकले ११.६७ प्रतिशत, एभरेष्ट बैंकले ११.७१ प्रतिशत, कृषि विकास बैंकले ११.७२ प्रतिशत ब्याजदरमा सेयर धितोकर्जा दिने गरेका छन । सेयर धितो कर्जामा सबैभन्दा धेरै ब्याजदर लिने बैंक प्राइम कमर्सियल बैंक रहेको छ । यस बैंकले यस्तो कर्जाको ब्याजदर १५.३१ प्रतिशतसम्म लिने गरेको छ ।

कुन बैंकले कति लिन्छन ?

नेपाल राष्ट्र बैंकले ५० लाखमुनिको सेयर धितो कर्जामा जोखिमभार सतप्रतिशत कायम गरेको छ भने सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तको तथ्यांकअनुसार उच्च जोखिमभारका वावजुत पनि सेयर धितो कर्जा प्रवाह वृद्धि उच्च छ । बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर कारोबारका लागि एक व्यक्तिले अधिकतम १५ करोड तथा संस्थाले २० करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्था छ । राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार सेयर धितो राखेर ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

यस अवधिमा ठूला सेयर लगानीकर्ताले सबैभन्दा धेरै सेयर धितो कर्जा बढाएका छन् । सेयर धितोमा जाने कर्जा ७ महिनामा ११.६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो । सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा थप ८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ प्रवाह भएको तथ्यांकले देखाउँछ ।

यस अवधिमा १ करोडमाथिको कर्जा लिनेको संख्यामा उच्च वृद्धि भएको छ । ७ महिनामा औसत सेयर धितो कर्जा ११.६ प्रतिशतले बढ्दा १ करोड माथिको सेयर धितो कर्जा प्रवाह १६.९ प्रतिशतले बढेको छ । माघ मसान्तसम्म १ करोडमाथिको सेयर धितो कर्जामा कुल ५२ अर्ब २६ करोड ९५ लाख रुपैयाँ प्रवाह भएको छ । गत असार मसान्तसम्म १ करोडमाथिको कर्जा प्रवाह ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो ।

यसैगरी, यस अवधिमा ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा ११ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ प्रवाह भएको छ । यो सीमाको कर्जा ७ महिनामा १.२ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको सेयर धितो कर्जा प्रवाह ७ महिनामा ८.३ प्रतिशतले बढेर १३ अर्ब ८४ करोड ७८ लाख पुगेको छ । २५ लाखमुनिको कर्जा प्रवाह भने जम्मा १.५ प्रतिशत मात्रै बढेको छ । यस्तो कर्जा माघ मसान्तसम्म कुल ७ अर्ब १३ करोड ९४ लाख रुपैयाँ प्रवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL