Logo

मागको संकुचनले आयात घट्दा ढुकुटीमा थुप्रियो विदेशी मुद्रा, परिचालनको छैन योजना

मागको संकुचनले आयात घट्दा ढुकुटीमा थुप्रियो विदेशी मुद्रा, परिचालनको छैन योजना



काठमाडौं । पछिल्लो समय बजारमा उपभोग्य बस्तुको माग घट्दा आयातमा संकुचन देखिएको छ । जसको कारण देशको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति थुप्रिएर बसेको छ । देशको ढुकुटीमा थुप्रिएर बसेको मुद्रा सञ्चिति परिचालन गर्न सरकार तथा निजी क्षेत्र कसैले पनि नयाँ कार्ययोजना हालसम्म बनाउन सकेका छैनन् ।

laxmi

गत असार मसान्तमा नेपालको विदेशी मुद्रा सञ्चिति ११.७९ अर्ब अमेरिकी डलर थियो । त्यसयता पनि विदेशी मुद्रा सञ्चिति निरन्तर बढिरहेको छ । नेपालभित्रको अवस्था हेर्ने हो भने यो रकमले देशको सम्पूर्ण वस्तु तथा सेवा आयातलाई एक वर्षभन्दा धेरै समय धान्न सक्छ । विकासोन्मुख देशहरूमा पाँचदेखि सात महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चितिलाई राम्रो मानिन्छ । हाल नेपालमा कायम रहेको विदेशी मुद्राले साढे १४ महिनाको वस्तु आयात तथा १२.१ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात धान्न सक्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।

देशको ढुकुटीमा थुप्रिएर रहेको पैसा अहिले लगानी गर्ने राम्रो अवसर हो । तर, यसलाई परिचालन गर्न कसैको चासो नदेखिएको सम्बद्ध जानकारहरु बताउँछन । सरकारले यसरी जम्मा भएको पैसाले पूर्वाधार निर्माण विस्तार गर्ने र पुँजीगत खर्च बढाउने काम गर्न सक्छ । स्थानीय तहहरूको बैंक खातामा हाल डेढ खर्ब रुपैयाँभन्दा धेरै पैसा रहेको छ । यसले विकासको काम र निर्माणका काम गर्न सकिने सम्बद्ध अर्थविदहरु बताउँछन । तर, सरकारले विदेशी मुद्रा परिचालनको कुरा छाडौं बजेटमा व्यवस्था भएको पुँजीगत खर्चसमेत बढाउन सकेको छैन ।

विदेशी मुद्रा संचिती उच्च रहेको अवस्थामा दिर्घकालिन योजना बनाएर विकास निर्माणका काम गर्दा आर्थिक गतिविधि बढ्नुका साथै आन्तरिक रोजगारीमा समेत वृद्धि हुनेछ । ठूला पूर्वाधार निर्माण गर्ने क्रममा ठूलाठूला मेशिन औजार ल्याउँदा विदेशी विनिमय खर्च भए पनि त्यसले अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका पूर्ब गभर्नर दिपेन्द्र बहादुर क्षेत्री बताउँछन ।

देशको ढुकुटीमा प्रशस्त पैसा हुँदा सरकारले मेशिनरी सामान आयात गरेर देशमा उद्योग व्यवसाय चलायमान बनाउन सक्छ । तर, अहिले मेशिनरी सामान आयातको एलसी नै खुल्न छाडेको उद्योगी व्यवसायीको गुनासो छ । सरकारले समयमा निमार्ण व्यवसायीका भुक्तानी लगायतका खर्चहरु गर्न नसक्दा निर्माणको लागि कच्चा पदार्थ आयात गर्न नसक्ने अवस्थामा उद्योगी व्यवसायी पुगेका छन । जसका कारण अहिले देशमा आयात हुने बस्तसँगै निर्यात पनि उच्च अंकले घट्दो अवस्था रहेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा आयात २.३१ प्रतिशत घटेको छ भने, निर्यात ७.०७ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ३३ हजार रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख ४८ हजार रुपैयाँ आयात भएको छ । यसरैगरी, चालु आर्थिक वर्षको ६ महिनासम्म ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँको मात्र निर्यात भएको छ । गत आर्थिक वर्षमा ९३ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यसैगरी, चार वर्षमा मेशिनरी र मेकानिकल उपकरणहरूको आयात पनि घट्दो अवस्थामा रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार २०७७ सालको माघमा ६७ अर्ब ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ बराबरको मेशिनरी र मेकानिकल उपकरणहरू आयात भएको थियो । तर, यो आर्थिक वर्षको ७ महिनामा माघसम्म आउँदा ५७ अर्ब ३८ करोड ४७ लाख ३१ हजार रुपैयाँ बराबरको मेसिनरी र मेकानिकल उपकरणहरू आयात भएको छ । नेपालको जस्तो अल्पविकसित मुलुकमा वर्षेनी यस्तो उपकरण खरिद बढ्नु पर्नेमा घट्दो अवस्थामा रहनु दुखद पक्ष भएको सम्बद्ध अर्थविद्हरु बताउँछन् ।

मेसिनरी र मेकानिकल उपकरणहरू देशको उधोग तथा कलखारखानाको लागि ल्याइने बस्तु हो । यस्को आयात घट्नुमा दुई कारण रहने नेपाल राष्ट्र बैंकका पूर्ब कार्यकारी निर्देशक नर बहादुर थापा बताउँछन । ‘मेशिनरी र मेकानिकल उपकरणहरूको आयात घट्नुको एउटा कारण हो, देशमा नै यस्ता सामानको उत्पादन हुनु ।’ उनी भन्छन, ‘अर्को कारण देशको उद्योग धन्दा सञ्चालन सुस्ताउनु पनि हो ।’ नेपाल भित्र मेसिनरी र मेकानिकल उपकरणहरू उत्पादन हुने अवस्था छैन ।

केहि उत्पादनमुलक उद्योग संचालनमा रहेपनि त्यसका लागि आवश्यक सबै कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । तसर्थ पछिल्लो समय मेशिनरी सामान आयातमा गिरावट आउँदा देशमा उद्योग कलकारखाना सुस्ताउदो गतिमा गएको प्रस्ट इकिंत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL