Logo

कार्तिकमै १० खर्बले घट्यो भुक्तानी, क्युआरमा आधारित भुक्तानीमा पनि उच्च गिरावट

कार्तिकमै १० खर्बले घट्यो भुक्तानी, क्युआरमा आधारित भुक्तानीमा पनि उच्च गिरावट



काठमाडौं । पछिल्लो समय चौतर्फी मन्दीका कारण सर्वसाधारणबाट हुने भुक्तानीमा पनि मन्दी छाएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार कार्तिकमा मात्रै सर्वसाधारण र सरकारद्वारा हुने भुक्तानी असोजको तुलनामा १० खर्ब बढीले घटेको छ । गएको असोज महिनाभरी विभिन्न माध्यमबाट ४५ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकोमा कार्तिकमा उक्त भुक्तानी घटेर ३५ खर्ब ४६ अर्ब रुपैयाँ बराबर मात्रै पुगेको हो । यसरी हेर्दा असोजको तुलनामा कार्तिकमा यस्तो भुक्तानी १० खर्ब ४ अर्ब ४० करोड रुपैयाँले घटेको हो ।

laxmi

राष्ट्र बैंकलाई आधार मान्दा यस अवधिमा सबैभन्दा बढी रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)मार्फत भएको भुक्तानी ५ खर्ब १२ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो महिना असोजमा २७ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको सेटलमेन्ट भएकोमा कार्तिकमा घटेर २२ खर्ब ४७ अर्ब रुपैयाँ मात्रै पुगेको हो ।

यसरी हेर्दा कार्तिकमा असोजको तुलनामा विद्युतीय चेक क्लियरिङमार्फत भएको भुक्तानी १ खर्ब ९४ अर्बले कनेक्ट आइपीएसमार्फत भएको भुक्तानी १ खर्ब २७ अर्ब र मोबाईल बैंकिङमार्फत भएको भुक्तानी ५९ अर्ब रुपैयाँले घटेको छ ।
अर्थात कार्तिक महिनामा असोजको तुलनामा ठुलो भुक्तानी हुने माध्यमबाटैको भुक्तानीमा ठुलो गिरावट आएको छ । आरटीजीएस, विद्युतीय चेक क्लिरिङ र कनेक्ट आइपीएसमार्फत सरकारले विभिन्न निकायलाई भुक्तानी गर्ने गरेको छ । पछिल्लो समय सरकारी राजस्व पनि धेरैजसो विद्युतीय माध्यमबाटै उठ्न थालेपनि कार्तिकमा भने यस्तो भुक्तानीका लगातार गिरावट आएको देखिएको छ ।

पछिल्लो समय खुद्रा भुक्तानीका लागि सबैभन्दा सरल र छरितो मानिएको क्युआरमार्फतको भुक्तानीमा पनि उच्च गिरावट आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अर्थात असोज महिनाको तुलनामा कार्तिकमा क्युआरमार्फत हुने भुक्तानीमा ४ अर्ब १९ करोड रुपैयाँले गिरावट आएको छ । क्युआर माध्यममार्फत असोज महिनामा ३६ अर्ब २१ करोड रुपैयाँ बराबरको भुक्तानी भएकोमा कार्तिक महिनामा घटेर ३२ अर्ब रुपैयाँमा सीमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL