काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा सोमबार समस्या देखिएको छ । लामो समयदेखि सिस्टममा समस्या देखिएपनि नेप्से नेतृत्वले त्यसमा सुधार गर्न नचाहेपछि उक्त समस्या बारम्बार दोहोरिँदै आएको नेप्से स्रोतले नै जानकारी दिएको छ ।
सोही अनुरुप सोमबार कारोबार बन्द हुँदा नेप्से इन्डेक्स १२.३१ विन्दुले बढेको थियो । तथापि, ट्रेडिङ आवरको अन्तिम १५ मिनेटको कारोबारलाई आधार बनाएर औसत क्लोजिङ प्राइसलाई आधार बनाउँदा भने नेप्से परिसूचक २.०७ विन्दुले घटेको देखाइएको छ । जुन गलत भएको नेप्से आफैले स्वीकार गरेको छ ।
नेप्सेकै रियल टाईम डाटालाई मान्ने हो भनेपनि अन्तिम १५ मिनेटको समयमा २:४५ बजे नेप्से परिसुचक २९६७.०८ विन्दुमा थियो भने २:५० बजे २९६९.६५ विन्दु, २:५५ बजे २९७२.२७ विन्दु र ३:०० बजे २९७६.३४को विन्दुमा पुगेर नेप्से बन्द भएको थियो । तर नेप्सेले १५ मिनेटको समयलाई एभरेजिङ गर्दा नेप्से परिसुचक घटेर २९६२.१३ बिन्दुमा बन्द भएको देखाईदियो । जुन एकदमै गलत हो । तर नेप्सेले त्यसलाई सुधार गर्दै उक्त समयमा नेप्से परिसुचक ७.१० अंकले बढ्दै २९७१.३१ अंकले बन्द भएर बन्द भएको देखाएको छ ।
नेप्सेमा भएको बारम्बारको समस्यासँगै पछिल्लो समय नेप्सेले नै डेटा म्यानुपुलेसन गरेको आरोप लगानीकर्ताहरुले लगाएका छन् । सेयर बजारका लगानीकर्ताले सामाजिक सञ्जालमार्फत नेप्सेले डेटा म्यानुपुलेसन गरेको भन्दै चौतर्फी रुपमा आलोचना गरिरहेका छन् ।
नेप्सेको सिस्टममा समस्या आएको यो पहिलो पटक भने होइन । विगतदेखिनै नेप्सेको सिस्टममा समस्या देखिँदै आएको छ । समस्याको समाधन गर्न नेतृत्व अग्रसर नहुँदा पछिल्लो समय यस्ता समस्या लगातार दोहोरिरहेका छन् । अहिलेको नेतृत्वले पनि आफ्नो कामभन्दा आइजीन लगायत सीडीएससीको काममा हस्तक्षेप गर्न तल्लिन हुँदा नेप्सेमा सुधारको काम अघि बढ्न नसकेको नेप्से स्रोतकै भनाई छ । यसले नेप्सेको नेतृत्वमाथि नै प्रश्न चिन्ह खडा गरेको छ । असक्षम नेतृत्वको कारण नेप्सेको सिस्टममा बारम्बार समस्या आउँदा यससम्बद्ध सरोकारवालाहरु भने मारमा पर्दै आएका छन् ।
नेप्सेलाई हाल देखिएको समस्या सुधार गर्न पटक पटक निर्देशन दिँदा पनि अटेर गर्दै आएको र यस विषयमा नेप्से नेतृत्व माथि नै गम्भिर भएर सोच्नुपर्ने बेला आएको धितोपत्र बोर्ड स्रोतले जानकारी दिएको छ । ‘नेप्सेले अन्तिम १५ मिनेटको कारोबार समयलाई आधार मानेर भोलीपल्टको कारोबार मूल्य तय गरेसँगै यो समस्या धेरै पटक दोहोरिएको छ भने सोही अनुरुप गुनासो पनि आएको छ,’ उक्त स्रोतले भन्यो, ‘यो विषयमा नेप्से नेतृत्वलाई बोलाएर, पत्र काटेर वा मौखिक रूपमा पटक पटक निर्देशन दिँदै आएका छौं तर उहाँहरुले मानिरहनु भएको छैन ।’ नेत्से नेतृत्वको समस्या समाधान गर्न नचाहने गलत प्रवृतिका कारण त्यसले समग्र लगानीकर्ता माझ अविस्वासको वातावरण पैदा गरेको र सोही अनुरुप सामाजिक संजालमा विभिन्न गुनासो तथा आरोप लगाउने काम भइरहेको बोर्डको भनाई छ ।
नेप्सेका सीईओ चुडामणि चापागाई पछिल्लो समय बोर्डमा सीडीएससीले प्रदान गर्ने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी निर्देशिका रोक्न नेप्सेको दलबल नै बोकेर आएको तर नेप्सेमा देखिएको समस्या समाधानका विषयमा छलफल गर्न अहिलेसम्म नआएको बोर्ड स्रोतको भनाई छ । ‘अहिले नेप्सेको नेतृत्व आफ्नो संस्थामा देखिएको समस्या सुधारभन्दा पनि स्वार्थकेन्द्रित कामका लागि बोर्ड र मन्त्रालय धाउने गरेको देखिएको छ,’ उक्त स्रोतले भन्यो, ‘जसका कारण नेप्सेमा देखिएको समस्या बारम्बार दोहोरिँदै आएको छ जुन विषय एकदमै गम्भिर छ ।’ अबका दिनमा यस विषयलाई बोर्डले गम्भिरताका साथ लिएर अनुसन्धान गर्ने समेत उक्त स्रोतले जानकारी दिएको छ ।
यस्तै केही ब्रोकरले नेप्सेको प्रणालीमै हस्तक्षेप गरी कारोबार गरेका कारण समेत उक्त समस्या आएको हुन सक्ने सम्बद्ध स्रोतको आरोप छ । । ‘अहिले कतिपय ब्रोकरले गैरकानूनी मानिएको ‘बुट’ प्रयोग गरेर नेप्सेको प्रणालीमा हस्तक्षेप गरी सेयर खरिदबिक्री गर्दै आएका छन्,’ उक्त स्रोतले भन्यो, ‘त्यसैका कारण आज नेप्सेको तथ्यांकमा गडबढी भएको हुनसक्छ ।’
यता, नेप्सेले पनि आफ्नो सिस्टमा समस्या आएको स्वीकार गरेको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, ‘सिस्टमा समस्या आएको छ, के समस्या आएको हो भन्ने कुराको पहिचान गर्ने काम भइरहेको छ ।’