काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि चासो देखाएका छन् ।
उनले आइतबार सो विषयमा सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग जानकारी लिइ समस्या समाधान गर्नेबारे छलफल गरेका हुन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरिएको छ ।
खोकना क्षेत्रमा नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसलाई सम्बोधन गर्ने विकल्पबारे छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयवासीको माग सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।
छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।