Logo

के हो बैंकिङ क्षेत्रमा अहिले देखिएको समस्या ? यसरी गर्न सकिन्छ समाधान !

के हो बैंकिङ क्षेत्रमा अहिले देखिएको समस्या ? यसरी गर्न सकिन्छ समाधान !



काठमाडौं । बढ्दो आर्थिक मन्दीका कारण पछिल्लो केहि समययता बैंकिङ क्षेत्रमा कर्जा प्रबाह नहुने, खराव कर्जा बढ्ने लगायतका समस्याहरु देखिएका छन । बैंकिङ क्षेत्रको ऋण समयमा नउठ्ने, खराब कर्जा बढ्नेजस्ता विषयले बैंकिङ क्षेत्रमा बढ्दै गएको बैंकरहरुले बताउँदै आएका छन ।

laxmi

पछिल्लो केहि महिनायता बैंकहरुको कर्जा लगानी घट्दो छ । बैंकहरुले कर्जा लगानी बढाउन नसक्दा उच्च तरलताको अवस्था रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.६१ प्रतिशतको हाराहारीमा रहेको छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्छन । तर, कर्जाको माग नभए पनि पछिल्लो समय बैंकहरुको सीडी रेसियो ८० प्रतिशतको हाराहारीमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । कुनै समय बैंकहरुको सीडी अनुपात ९५ प्रतिशतसम्म पुगेको थियो ।

यसरी बैकिङ क्षेत्रमा तरलता बढी हुँदा बैंकहरुले धेरै ब्याज तिरेर निक्षेप संकलन गरि सस्तो ब्याजमा राष्ट्र बैंकमा पैसा राख्नुपर्ने अवस्था आएको नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बताउँछन । ‘बजारमा भएको तरलतालाई महँगो ब्याज तिरेर बैंकमा तान्नुपरेको छ,’ उनी भन्छन, ‘त्यही पैसालाई सस्तोमा राष्ट्र बैंकका थन्काएर राख्नुपर्ने अवस्था छ ।’

अहिले राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलको ब्याज घटेर २–३ प्रतिशतमा झरेको छ भने अन्तरबैंक ब्याजदर पनि ४ प्रतिशतभन्दा तल छ । तर बैंकले भने ९ प्रतिशतभन्दा धेरै ब्याज दिएर निक्षेप उठाइरहेका छन । कर्जा लगानी ठप्प हुँदा बैंक बचाउन नै समस्या पर्ने अवस्था आउन लागेको ज्ञवाली बताउँछन् ।

यसरी बैंकले महँगो ब्याज तिर्न पर्दा बैंकलाई ठूलो नोक्सान भएको उनको बुझाई छ । पछिल्लो समय बैंकहरुको आम्दानी खस्किँदो अवस्थामा रहेको छ भने बैंकहरुको सञ्चालन खर्च भने उल्लेखनीय रुपमा बढेको छ । बैंकहरुको आम्दानी घटेका कारण लगानीकर्तालाई दिने प्रतिफल क्षमता पनि खस्किएको पूर्व बैंकर भुवन दाहाल बताउँछन । पछिल्लो समय बैंैकहरुको कर्जा असुली पनि नियमित नभएको उनको भनाई छ । यस्ता विभिन्न समस्याको कारण पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जाको अनुपात उल्लेखनीय रुपमा बढ्ने अवस्था रहेको बैंकर दाहाल बताउँछन ।

अहिले बैंकिङ क्षेत्रको मूख्य समस्या नै निष्कृय कर्जा रहेको दाहालको बुझाई छ । ‘अहिले बैंकको निष्कृय कर्जाको औसत ३ प्रतिशतभन्दा माथि रहेको छ तर यो बैंकहरुले कर्जालाई पुनः तालिकिकरण गरेर देखाएको खराब कर्जा हो,’ दाहाल भन्छन, ‘यदी बैंकहरुले पुनः तालिकिकरण गरेको ऋण उठेन भने खराब कर्जा औसत ६ प्रतिशत माथि पुग्ने अवस्था छ ।’

कसरी आयो समस्या ?

पछिल्लो केहि वर्ष अगाडीबाट वित्तीय कर्जाको दुरुपयोग बढेका कारण बैकिङ प्रणालीमा यसको असर देखिन थालेको नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नर बहादुर थापा बताउँछन । ‘कोरोना महामारीको बेला सरकार तथा बैंकले सस्तो ब्याजमा कर्जा दियो’ उनी भन्छन, ‘यता ऋणीहरुले पनि आँखा चिम्लेर ऋण लिए ।’ बैंकिङ क्षेत्रमा राम्रो पहुँच हुनेले सस्तो ब्याजमा कर्जा उठाएर त्यसको दुरुपयोग गरेको कारण अहिले असर देखिएको थापा बताउँछन । तत्कालिन समयमा पुनर्कर्जा लगायत विभिन्न नाममा सस्तो ब्याजमा कर्जा लिए तर अहिले त्यही ऋण तिर्न नसक्दा यस्तो अवस्था आएको उनको बुझाई छ ।

यस्तै तत्कालिन समयमा बैंकहरुले ऋणीलाई ऋण दिदा नगद प्रवाहलाई वास्ता गरेन्न । ‘कसले कति नगद प्रवाह गर्छ ? उसको आम्दानीले ऋण तिर्न सक्छ सक्दैन ? त्यो कुरालाई मतलब नगरेर बैंकहरुले धितोलाई आधार मानेर कर्जा प्रवाह गरे,’ थापा भन्छन, ‘बैंकले ऋण दिना नगद प्रवाहलाई आधार मानेर ऋण दिन पर्ने हो । तर, धितोमा बैंकको ध्यान बढी गयो ।’ ऋणीहरुले नगद दिन सक्ने अवस्था नहुँदा धितो उठाउनु पर्ने र कालोसूचीमा राख्नुपर्ने भएको कारण पनि बैंकले यसलाई समस्या पारेको हो ।

हाल नेपालमा ७६ प्रतिशत कर्जा धितोलाई आधार मानेर दिइएको छ । बाँकी ३३ प्रतिशत कर्जामा सहुलियत पुनर्कर्जा, आयोजना अन्र्तगत कर्जा लगानी प्रवाह भएको छ । यसरी धितोको आधारमा मात्र ठूलो मात्रमा ऋण गएको हुदा यसले अर्थतन्त्र तथा बैंकिङ क्षेत्रमा नै ठूलो असन्तुलन ल्याएको थापाको बुझाई छ । यस्तै नेपाल राष्ट्र बैंकले पनि कोभिडको बेला जथाभावी रुपमा कर्जा वितरण गर्न खुला छाडेसँगै सस्तोमा पुनर्कर्जा दिएको थियो । तत्कालिन समयमा पहुँचवालादले जथाभावी रुपमा सस्तोमा कर्जा लिए ।

यसरी पाएको कर्जा ऋणीले सेयर, घरजग्गा र आयातमा लगाए । कर्जाको दुरुपयोग बढेको र यसले अहिलेको समस्या निमत्याएको उनको बुझाई छ । ‘बैंकले दिएको कर्जा उत्पादन र रोजगारीसँग जोडिएन,’ उनी भन्छन, ‘उद्योगी व्यवसायीले लिएको पुनर्कर्जासमेत सेयर बजार, घरजग्गा प्लटिङमा गयो ।’ अहिले सेयरको मूल्य पनि बढ्न सकेको छैन भने घरजग्गाको मूल्य यति धेरै आकासीएर किनबेच गर्न नसक्ने अवस्थामा पुगेको छ । बैंकले ऋण दिँदा मात्रै घरजग्गाको कारोबार हुने भएका कारण बैंकिङ प्रणालीमा समस्या देखिएको उनी बताउँछन ।

कोभिडको बेलामा सरकारले पुर्नकर्जा नदिएर राहत मात्रै दिएको भएको अहिले यो अवस्था सिर्जना नहुने उनको । ‘त्यतिबेला सरकारले कर्जाको पुनर्तालिकिकरण र केही नियमनकारी छुट मात्रै दिएको भए पुग्ने थियो तर सरकारले पुनर्कर्जाको नाममा पैसा छापेर बाड्ने काम गर्यो,’ उनले भने, ‘जुन गलत थियो अहिले त्यसैको असर देखियो ।’

यसैगरी, पछिल्लो निजी क्षेत्रले समेत राम्रो काम गर्न नसक्दा अर्थतन्त्रमा समस्या देखिएको थापाको बुझाई छ । निजी क्षेत्रले आयोजनाहरु निर्माणको काम तोकिएको समयमा पुरा गर्न नसक्दा समेत बैंकिङ क्षेत्रका साथै पुरै अर्थतन्त्रमा समस्या देखिएको उनी बताउँछन ।

निजी क्षेत्रले आयोजनाहरु समयमा पुरा नगर्दा यसले बजेट निकासा रोकिएको र त्यसैको कारण कर्जा लगानी घटेको उनले जानकारी दिए । यसैगरी, अर्थतन्त्र चलायमान बनाउने अर्को विकल्प भनेको नेपालमा वैदेशिक भित्र्याउनु हो । तर, वैदेशिक लगानी आउन नसकेकै कारण पनि सबै क्षेत्रमा समस्या देखिएको थापा बताउँछन । ‘अहिलको अवस्थामा नेपालमा भएको लगानी पनि नेपालमा बस्न चाहँदैन । विदेशिन खोजिरहेको छ,’ उनी भन्छन, ‘अहिलेको समस्या समाधान गर्न एकले अर्कालाई दोस लगाउनेभन्दा पनि काम गरेर देखाउनु पर्ने अवस्था आएको छ ।’

यसैगरी, अहिले सरकारले निमार्ण व्यवसायी देखि लिएर हरेक क्षेत्रको भुक्तानी गर्न नसक्दा समेत बैैंकिङ क्षेत्रमा समस्या आएको पूर्व बैंकर भुवन दाहाल बताउँछन् । हाल अर्थतन्त्र नै समस्यामा परेको कारण बैंकहरुमा पनि समस्या देखिएको उनले जानकारी दिए । पछिल्लो समय ब्यापार व्यवसायमा नै समस्या आएका कारण बैंकिङ क्षेत्रमा पनि त्यसको समस्या देखिन थालेको समेत उनले बताए ।

समाधान कसरी हुन्छ ?

अहिले देखिएको समस्यालाई समाधान गर्न सरकारले जतिसक्दो वैदेशिक लगानी भित्र्याउन पर्ने थापा बताउँछन् । साथै अहिले हरेक आयोजनाको कामहरु प्रायः ठप्प हुने अवस्थामा रहेका छन । यसमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको दाहाल बताउँछन ।

‘पछिल्लो समय विकास निर्माणको काम घट्दा अर्थतन्त्रमा समस्या आएको भन्ने कुरा उठेको छ,’ दाहाल भन्छन, ‘निर्माण व्यवसाय घटेका कारण समग्र बैंकिङ क्षेत्रमा पनि समस्या दखिएकोे छ ।’ निर्माण सामाग्रीहरु बिक्री हुन नसक्दा बजार ठप्प हुने अवस्था आएको छ । बजार चलायमान बनाउन सरकारले नयाँ योजनाहरु ल्याउन पर्ने उनको सुझाव छ ।

आर्थिक मन्दीकै कारण पछिल्लो समय सिमेन्ट, छड र डण्डीको ब्यापारमा उच्च गिरावट आएको छ भने कतिपय उद्योग बन्द हुनुका साथै संचालित उद्योगहरु पनि न्यून क्षमतामा चलिरहेको सम्बद्ध उद्योगी व्यवसायीले बताउँदै आएका छन । बैंकिङ क्षेत्रका साथै अर्थतन्त्र चलायनमान बनाउन सरकारले यस्ता क्षेत्रलाई प्राथमितामा राख्नुपर्ने विज्ञहरुको बुझाई छ । जसका कारण सिमेन्ट, डण्डी, विद्युत लगायतका माग बढ्नुका साथै रोजगारीको अवसर समेत सिर्जना हुनेछ भने कर्जा लगानी समेत विस्तार हुने दाहाल बताउँछन् ।

मौद्रिक नीतिको पहिलो समिक्षाले बजार चलायमान होला ?

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाले अर्थतन्त्र तथा बजार चलायमान हुने व्यवसायी तथा बैंकरहरुको बुझाई छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंकदर, नीतिगतदर, निक्षेपदर लगायतका दरहरु घटाएको छ । यसले ब्याजदर घट्नुका साथै बजार चलायमान हुने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

यसैगरी, मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको रियट स्टेट कर्जा र सेयर धितोकर्जाको जोखिम भार क्षमता १५० प्रतिशतबाट घटाएर १२५ मा झारेको छ । यसैगरी, समस्यामा परेरका ऋणीहरुका लागि ऋण तिर्न ६ महिनाको समय अवधि पनि थप गरेको छ । राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिमार्फत बजार केही हदसम्म चलायमान हुने व्यवसायीहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL