Logo

ब्याजदर घटेपछि कर्जा लिने बढे, २५ लाखदेखि ५० लाखसम्म सेयर कर्जा लिनेको संख्या ११ प्रतिशत वृद्धि

ब्याजदर घटेपछि कर्जा लिने बढे, २५ लाखदेखि ५० लाखसम्म सेयर कर्जा लिनेको संख्या ११ प्रतिशत वृद्धि



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह २५ लाखदेखि ५० लाखसम्मको भएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २५ लाखदेखि ५० लाखसम्म सेयर धितोकर्जा लिनेको संख्या ११ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा लगानी भएकोमा असोज मसान्तसम्म आउँदा बढेर १४ अर्ब १८ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षलागे यता बैंकहरुको ब्याजदर पनि केही कम हुँदै गएको छ । जसको कारण सेयर धितोमा जाने कर्जा बढ्दै भएको सम्बन्धित जानकारहरु बताउँछ । यसैगरी, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा सतप्रतिशत जोखिम भार कायम गरेको छ । राष्ट्र बैंकको व्यवस्था लागू भएसँगै २५ लाखदेखि ५० लाख रुपैयाँसम्म सेयर धितो कर्जा लिने लगानीकर्ताको संख्या बढेको सेयर बजार विश्लेषकहरुको बुझाई छ ।

पछिल्लो समय सरकार तथा राष्ट्र बैंकले कडाई गरेका विभिन्न व्यवस्थाहरु विस्तारै सहज बनाउँदै लगिरहेका छन् । जसको कारण अब सेयर बजारमा जाने कर्जा विस्तारै बढ्ने बाटोमा रहेको देखिन्छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले कुनै पनि व्यक्तिले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट १२ करोडमात्र ऋण लिन पाउने व्यवस्थालाई बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । यसकारण पनि सेयर बजारमा जाने कर्जा बढेको हो ।

चालु आर्थिक वर्षको ३ महिनामा १ करोड रुपैयाँभन्दा धेरै कर्जा लिने पनि ७.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड भन्दा माथिको कर्जा ४७ अर्ब ९५ करोढ ५० लाख रुपैयाँ बराबर गएको छ । असार मसान्तसम्म यस्तो कर्जा ४४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ बराबर थियो ।

यर्सैगरी, यस अवधिमा ५० लाखदेखि १ करोडसम्मको ऋण लिने भने घटेका छन् । यस अवधिमा यस्तो ऋण २.६ प्रतिशतले घटेर ११ अर्ब ४७ करोड रुपैयाँमा झरेको छ । असार मसान्तसम्म यस्तो ऋण ११ अर्ब ७७ करोड रुपैयाँ थियो । तीन महिनामा २५ लाखभन्दा कमको सेयर धितोमा जाने कर्जा पनि बढेको छ । यस अवधिमा यस्तो कर्जा ५.२ प्रतिशतले बढेको छ । पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा झारेका छन् । मंसिर महिनाको लागि वाणिज्य बैंकले निक्षेपको ब्याजदर औसत ०.३३ प्रतिशतले घटाएका छन् । असोज र कात्तिक महिनामा पनि बैंकहरुको निक्षपको ब्याजदर औसत घटेको थियो । यसको कारण सेयर धितोमा जाने कर्जा बढेको हो ।

यसैगरी, पछिल्लो समय बैंकहरुको बेसरेट पनि घट्दो छ । जसको कारण कर्जाको ब्याजदर पनि घटेको छ । यस कारण पनि मार्जिन कर्जा बढेको देखिन्छ । गत चैतदेखि असोज मसान्तसम्म आउँदा वाणिज्य बैंकको बेसरेट औसत ०.४८ प्रतिशतको हाराहारीमा सस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This