Logo

लघुवित्तका ४ लाख १८ हजार बढी ऋणीले बहुसंस्थाबाट लिए ऋण, एकै ऋणीका २३ कर्जा खाता (प्रतिवेदनसहित)

लघुवित्तका ४ लाख १८ हजार बढी ऋणीले बहुसंस्थाबाट लिए ऋण, एकै ऋणीका २३ कर्जा खाता (प्रतिवेदनसहित)



काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ४ लाख १८ हजार ७ सय ७२ ऋणीले बहुखाताबाट ऋण लिएको पाईएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘लघुवित्त अध्ययन प्रतिवेदन’ अनुसार लघुवित्तका कुल ऋणीमध्ये १८.२ प्रतिशत ऋणीले २ वा सोभन्दा बढि संस्थाबाट ऋण लिएको पाइएको हो ।

laxmi

जसमध्ये एक व्यक्तिले मात्र २३ वटासम्म संस्थाबाट ऋण लिएको पाईको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘एक ऋणीले अधिकतम २३ वटा संस्थाबाट कर्जा लिएको छ भने एक ऋणीलाई १७ वटा संस्थाबाट २२ कर्जा खातामार्फत अधिकतम ५२ लाख १७ हजार ८ सय ३४ कर्जा रुपैयाँसम्म कर्जा प्रवाह भएको छ ।’

राष्ट्र बैंकको प्रतिवेदन अनुसार एउटै व्यक्तिले बिभिन्न संस्थाबाट ५२ लाख १७ हजार रुपैयाँसम्म कर्जा लिएको पाइएको छ । बहुसंस्थाबाट कर्जा लिएका ऋणीले समग्रमा १ खर्ब ४१ अर्ब (कुल कर्जाको ३७.९ प्रतिशत) कर्जा उपभोग गरेका छन् ।

लघुवित्तका कुल ऋणीको ८१.८ प्रतिशतले एकवटा मात्र संस्थाबाट मात्र ऋण लिएका छन । कुल ऋणीमध्ये २ वटा संस्थाबाट मात्र कर्जा लिने ऋणी ११.७ प्रतिशत, ३ देखि ५ वटाबाट लिने ५.६ प्रतिशत, ६ देखि १० वटाबाट लिने ०.८ प्रतिशत र १० भन्दा बढीबाट लिने ०.१ प्रतिशत रहेका छन् ।

नाफा घट्दो

अध्ययन प्रतिवेदनले विगतमा लघुवित्त वित्तीय संस्थाहरूको नाफा उच्च रहेकोमा हाल न्यून रहेको देखाएको छ । लघुवित्त वित्तीय संस्थाहरूको स्प्रेड (प्रभावकारी ब्याजदर र कोषको लागत बीचको फरक) विगतमा ८ प्रतिशत भन्दा माथि रहेकोमा २०७९ चैत्रमा घटेर ६ प्रतिशत पुगेको छ ।

फलस्वरुप, कोभिडको अवस्थामा बाहेक पुँजीको प्रतिफल अधिकांश वर्षहरूमा २५ प्रतिशतभन्दा माथि रहेकोमा २०७९ चैतमा ५.२ प्रतिशतमा झरेको छ । संस्थागत रुपमा २० वटा लघुवित्त वित्तीय संस्थाको पुँजीको प्रतिफल ऋणात्मक रहेको छ । २०७९ चैतमा कोषको लागत १०.५ प्रतिशत र प्रभावकारी ब्याजदर १६.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

घट्दो नाफा एवम सञ्चालन आत्मनिर्भरताको अवस्था र बढ्दो निष्क्रिय कर्जाले लघुवित्त क्षेत्रमा दबाबको अवस्था देखाएको छ अध्ययन प्रतिवेदनमा उल्लेख छ । विगतमा उच्च रहने गरेको सञ्चालन आत्मनिर्भरता अनुपात २०७९ चैतमा १०३.२ रहेको छ । संस्थागत रुपमा ३९ वटा संस्थाको यस्तो अनुपात १०० भन्दा कम छ ।

निष्क्रिय कर्जा ७.४३ प्रतिशत माथि

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार लघुवित्त क्षेत्रको निष्क्रिय कर्जा ७.४३ प्रतिशत पुगेको छ । अधिकांश वर्षहरूमा ३ प्रतिशतभन्दा कम रहने गरेको यस्तो कर्जा २०७९ चैतसम्म आउँदा ७.४३ पुगेको हो । कुल ५८ वटा (ग्रामीण लघुवित्त वित्तीय संस्था बाहेक) संस्थाबाट प्राप्त ऋणीहरूको तथ्याङ्कले बहुबैंकिङको अवस्थालाई पुष्टि गरेको छ ।

यी संस्थामा कुल ३९ लाख ३५ हजार १ सय ७१ कर्जा खाता रहेकामा १ हजार रुपैयाँ भन्दा कम रकमका ४ लाख १ हजार ८ सय ६ खातालाई हटाई विश्लेषण गरिएको छ । कुल २३ लाख १ हजार २ सय ९३ ऋणीका ३५ लाख ३३ हजार ३ सय २५ कर्जा खाता रहेका छन् ।

यस्तो छ राष्ट्र बैंकको अध्ययन प्रतिवेदन :

[googleapps domain=”drive” dir=”file/d/1w28z3RTPJCMI-lYvQvm9VOVzSbnd9IIw/preview” query=”” width=”100%” height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL