Logo

राष्ट्र बैंकको नीतिले उद्योगी व्यवसायीमा उत्साह, भन्छन्, ‘हाम्रो समस्या बुझ्ने काम गर्यो, अर्थतन्त्रमा सकारात्मक सन्देश दिनेछ’

राष्ट्र बैंकको नीतिले उद्योगी व्यवसायीमा उत्साह, भन्छन्, ‘हाम्रो समस्या बुझ्ने काम गर्यो, अर्थतन्त्रमा सकारात्मक सन्देश दिनेछ’



काठमाडौं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशनमार्फत लिएको नयाँ नीतिले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सहयोग गर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । राष्ट्र बैंकको नयाँ एकिकृत निर्देशनमा भएको व्यवस्थाले उद्योगी व्यवसायीका साथै अर्थतन्त्रमा देखिएको समस्यालाई बुझ्ने काम गरेको सम्बद्ध उद्योगी व्यवसायीहरुले बताएका छन् । ‘हामीले अहिलेको अर्थतन्त्र चलायमान बनाउन उद्योगी व्यवसायी मैत्री नीति नियम आवश्यक छ भनेर राष्ट्र बैंकसँग पटक पटक आग्रह गर्दै आएका थियौं,’ सम्बद्ध उद्योगी व्यवसायीहरु भन्छन्, ‘अहिले जुन नीति ल्याएको छ, राष्ट्र बैंकले पनि अर्थतन्त्रमा समस्या छ भन्ने महशुस गरेको छ यसले उद्योगी व्यवसायीमा सकारात्मक सन्देश दिएको छ ।’

laxmi

विशेषगरी समस्यामा परेका उद्योगहरुलाई १० प्रतिशत ब्याज भुक्तानी गरेमा कर्जाको पुनर्तालिकिकरण तथा पुनर्संरचना गर्न पाउने, जग्गाको धितो मूल्यांकन तथा सेयर धितो कर्जाको सीमामा भएको वृद्धिजस्ता विषयले अहिलेको समस्या समाधानमा सहयोका साथै उद्योगी व्यवसायीको मनोवल बढाउन सहयोग गर्ने सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् । अहिले सिमेन्ट, डण्डी, ईँटा÷ब्लक, पाईप्स एण्ड फिटिङ्गसलगायतका उद्योगमा समस्या छन् भने शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक÷दैवी प्रकोपबाट प्रभावित भएका परियोजनाको लगानीमा पनि समस्या देखिएको छ । राष्ट्र बैंकको एकिकृत निर्देशनले त्यस्ता कर्जाको पुनर्तालिकिकरण तथा पुनर्संरचना गर्न दिँदा अहिलेको अवस्थामा ठूलो राहत मिल्ने सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् ।

राष्ट्र बैंकको नयाँ नीतिले अहिलेको अवस्थालाई केही सहज बनाउने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘प्रभावित क्षेत्रको कर्जाको पुनर्तालिकिकरण, घरजग्गा धितोको लोन टु भ्यालु रेसियो र सेयर धितो कर्जामा भएको वृद्धिले उद्योगी व्यवसायीको मनोबल केही हदसम्म बढाएको छ,’ उनले भने, ‘तर अहिलेको समस्या समाधान गर्न यतिले नै पर्याप्त हँुदैन ।’ राष्ट्र बैंकले हाल गरेको सुधारको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो तर्फबाट पहिलादेखि नै माग राख्दै आएको र अहिले केही हदसम्म सुनुवाई भएको उनले बताए ।

राष्ट्र बैंकको नीतिले समग्रमा उद्योगी व्यवसायीको मनोवल उकास्ने काम गरेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । ‘एकिकृत निर्देशनमार्फत कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाईने जुन व्यवस्था आयो त्यसले बैंकमा पहुँच नभएका र साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई ठूलो राहत मिल्नेछ,’ उनले भने, ‘यो नीतिका कारण घरजग्गा र सेयर कारोबारका साथै अर्थतन्त्र चलायमान बनाउनका लागि सकारात्मक सन्देश दिएको छ ।’ चेम्बरले राष्ट्र बैंकसँग राख्दै आएका धेरै मागमध्ये केहीलाई सम्बोधन गर्ने काम गरेको छ यसले उद्योगी व्यवसायीमा सकारात्मक सन्देश जाने उनको भनाई छ ।

राष्ट्र बैंकको नीति एक कदम राम्रो आएको र यसले उद्योगी व्यवसायीको समस्या बुझ्ने काम गरेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । ‘राष्ट्र बैंकले अर्थतन्त्रमा समस्या छ यसलाई सुधार गर्नुपर्छ भन्ने विषय बुझेको र सोचेको देखियो,’ उनले भने, ‘घरजग्गा धितोको लोन टु भ्यालु रेसियो र सेयर धितो कर्जाको सीमा वृद्धिजस्ता विषयले राम्रो म्यासेज दिएको छ ।’ विशेषगरी राष्ट्र बैंकले अहिलेको अवस्थामा प्रभावित क्षेत्रको कर्जालाई रिस्ट्रक्चर गर्न दिएर राम्रो काम गरेको उनले बताए । साथै सीएनआईले असल कर्जाको न्युनतम जोखिम भार १ प्रतिशतमा झार्न माग गरेकोमा त्यसमा भने अझै सीमा राख्दा केही समस्या हुने उनको बुझाई छ ।

यसैगरी राष्ट्र बैंकको नयाँ व्यवस्थाले अबका दिनमा बैंकहरुले आफखुशी ऋणीको कर्जा लिलामी गर्न पनि रोकिनेछ । जुन अहिलेको ठूलो समस्या बनेको छ । तर अबका दिनमा धितो लिलामीको सम्बन्धमा बैंकहरुले राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था थप गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL