Logo

एक महिनामा ३० अर्बको क्यूआर भुक्तानी, १ करोड १२ लाख पटक कारोबार

एक महिनामा ३० अर्बको क्यूआर भुक्तानी, १ करोड १२ लाख पटक कारोबार



काठमाडौं । चालु आर्थिक बर्षको साउनमै क्यूआरमार्फत अत्याधिक भुक्तानी भएको पाईएको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको साउनको तथ्यांकअनुसार साउनमै करिव ३० अर्ब रुपैयाँको भुक्तानी क्यूआरमार्फत भएको हो ।

laxmi

राष्ट्र बैंकका अनुसार साउन महिनामा क्युआर भुक्तानी मात्रै १ करोड १२ लाख ५७ हजार बढी पटक कारोबार भएको छ । जसमार्फत २९ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यो गत आर्थिक बर्ष २०७९/८० को साउनको तुलनामा भने १५ अर्ब १७ करोड रुपैयाँले बढी हो । गत आर्थिक बर्षको साउन महिनामा क्युआरमार्फत ४६ लाख ७२ हजार पटक कारोबार हुँदा १४ अर्ब ८१ करोड रुपैयाँ बढीको भुक्तानी भएको थियो ।

यसअघि गत आर्थिक बर्षभरी मात्रै क्युआरमार्फत २ खर्ब २४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । यो अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा १ खर्ब ५० अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक बर्षमा यस्तो भुक्तानी ९४ अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै भएको थियो ।

पछिल्लो समय बढ्दै गएको सरल भुक्तानी बानीका कारण क्युआर पेमेन्टमार्फत हुने भुक्तानी बढ्दै गएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । आर्थिक बर्ष २०७६/७७ मा शुन्य रहेको क्युआरमार्फत हुने भुक्तानी त्यसको पछिल्लो बर्ष २०७७/७८ मा एकै बर्ष ८ लाख ५५ हजार पटक क्युआर स्क्यान गरी ३ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भएको थियो ।

उक्त बर्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै नेपालीको पहुँचसम्म विद्युतीय भुक्तानी पुर्याउने गरी क्युआर पेमेन्टलाई बढी नै प्राथमिकता दिएका थिए ।

आफ्नो कार्यकालको पहिलो केही महिना विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न भन्दै क्युआर पेमेन्ट सिस्टमको राम्रै प्रचारबाजी गरेपछि यसको एकाएक चर्चापरिचर्चा भएको थियो । जसको फलस्वरुप तरकारी फलफूल पसलदेखी शोरुमसम्म पनि हाल क्युआर कोडमार्फत सेवा तथा वस्तुको भुक्तानी गर्न सकिने अवस्था आएको छ । जसका कारण सोही बर्षदेखि नै क्युआर पेमेन्टको भुक्तानी लगातार बढिरहेको देख्न सकिन्छ ।

उक्त बर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि यस्ता विषयहरुलाई प्राथमिकता दिएको थियो । जसमा विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिस्टमको विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरुलाई विशेष पुनरकर्जा उपलब्ध हुने व्यवस्था गरिने कुरा मौद्रिक नीतिमा समेटीएको छ । यसमा क्युआर पेमेन्टलाई पनि विशेष प्राथमिकता दिईएको पाईन्छ ।

सोही बर्षयता सुरु भएको क्युआर पेमेन्टमार्फतको भुक्तानी सहज, सरल र छिटो छरितो भएकै कारण यसमा आकर्षण बढिरहेको पाईन्छ । यसैको कारण भनौं हाल प्रतिमहिना औसतमा २१ अर्ब बढीको क्युआरमार्फत नै हुनेगरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL