काठमाडौं । सक्षम र असल व्यक्तिको हातमा संस्था जिम्मा लगाउँदा उक्त संस्था कसरी सुधार हुन्छ भन्ने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई उदाहरणको रुपमा हेर्दा हुन्छ । आजभन्दा ठीक २० वर्ष अघि सहायक प्रबन्धक रुपमा नेपाल बैंकमा जागिरे जीवनमा प्रवेश गरेका अधिकारी सोही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन पुगे ।
उनी नेपाल बैंकमा २०६१ कात्तिकमा सहायक प्रबन्धकको रुपमा प्रवेश गरेका थिए । त्यसपछि वरिष्ठ प्रबन्धक, प्रमुख प्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै तत्कालीन सीईओ देवेन्द्रप्रताप शाह निवृत्त भएपछि २०७५ चैतमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । तर, बोर्डले उनलाई तत्काल सीईओ रुपमा नियुक्त नगरी ६ महिना निमित्तको जिम्मेवारी दिएर ट्रायलमा राख्यो । उक्त समयमा उनले निर्वाह गरेको भूमिका र कार्यकुशलताका कारण संचालक समितिले २०७६ असोजमा सीईओको जिम्मेवारी दियो ।
तत्कालीन अवस्था नेपाल बैंकको सीईओ हुन योग्य र इमान्दारिता देखेर नै संचालक समितिले उनलाई नियुक्त गरेको संचालक समितिका तत्कालीन अध्यक्ष वासुदेव अधिकारी बताउँछन् । ‘उनी माथि हामीले जुन इमान्दारिता र व्यवसायिकता देखेर सीईओमा नियुक्त गरेका थियौं अहिलको अवस्था सम्म आईपुग्दा उनले उक्त धर्म निर्वाह गरेकोे बुझेको छु,’ उनले भने, ‘यदि उनले मेरो विश्वास माथि आँच आउने गरी काम गरेको भए मलाई आत्मग्लानि हुने थियो तर अहिले उनको कामबाट मलाई सन्तोष पनि मिलेको छ ।’
हुनपनि आम मानिसको सोचाई छ सरकारी भन्नेवित्तिकै ती संस्थाले पर्फमेन्स गर्न सक्दैन अर्थात निजीको तुलनामा आफुलाई प्रतिस्र्धी बजारमा अघि बढाउन सक्दैन । तर, सीईओ अधिकारीले भने आफ्नो साढे ४ वर्षे कार्यकालमा धेरैजसो निजी लगानीको बैंकको तुलनामा नेपाल बैंकलाई हरेक सूचकमा अब्बल बनाएर आफुलाई नियुक्त गर्ने संचालक समितिको मन जित्न सफल भए । इमान्दारीपूर्वक काम गरेका कारण कतिपय अवस्थामा तत्कालीन अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्रालय र नियामक निकाय राष्ट्र बैंकसँग जुधेर उनलाई दरिलो साथ पनि दिए ।
फलस्वरुप उनले आफ्नो साढे ४ वर्षे कार्यकालमा निक्षेप १४५ प्रशितले बढाए भने कर्जा १३५ प्रतिशतले विस्तार गरे । उनले नेपाल बैंकको कमाण्ड सम्हाल्दा ९९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप रहेको थियो । तर उनले निमित्तको जिम्मेवारी सहित साढे ४ वर्षको प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहँदा उक्त निक्षेपलाई बढाएर २ खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँ बनाए । उनले आफ्नो कार्यकालमा कर्जा विस्तारलाई पनि उत्तिकै प्राथमिकताका साथ अघि बढाएका छन् । उनले जिम्मेवारी सम्हालिरहँदा बैंकले ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । तर उनले आफ्नो कार्यकालमा कर्जा विस्तार १३५ प्रतिशतले बढाएर १ खर्ब ८४ अर्ब रुपैयाँ पुर्याए । सो अवधिमा बैंकको पुँजी ८२ प्रतिशतले बढ्न पुगेको छ भने घाटामा रहेको संचित मुनाफालाई १४५ प्रतिशतले बढाउन सफल भएका छन् । यसैगरी संस्थाको नेटवर्थ ५९ प्रतिशतले बढाए भने संस्थाको संचित कोष ३७ प्रतिशतले बढेर २० अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
उनले आफ्नो कार्यकालमा गरेको सुधार वा संस्थाप्रति देखाएको जिम्मेवारी भनेको बैंकको खराब कर्जा घटाउनु हो । अहिलेको असहज परिस्थितिमा निजी क्षेत्रबाट संचालित बैंकहरुको खराब कर्जा उच्च रुपमा बढ्दा नेपाल बैंकको भने उनले कमाण्ड सम्हादाको अवस्था भन्दा घटेको छ । सरकारी लगानीको बैंक भन्ने वित्तिकै पहुँचको आधारमा जथाभावी कर्जा दिने ऋणले उक्त कर्जा नतिर्दा डुब्ने खतरा हुन्छ । कुनै समय नेपाल बैंक त्यसैकौ सिकार भएर राष्ट्र बैंकले हस्तक्षेप गर्दै व्यवस्थापन सम्हालेको थियो । तर, सीईओ अधिकारीले भने कसैको दबाब र प्रभाव नगरी वास्तविक क्षेत्र पहिचान गरी कर्जा प्रबाह गरेका कारण अहिलेको असहज परिस्थितिमा अन्य बैंकको तुलनामा खराब कर्जा तल राख्न सफल भएका छन् । आर्थिक वर्ष २०७८।७९ मा १.८३ प्रतिशतमा झारेको खराब कर्जा गत आबमा आईपुग्दा असहज परिस्थितीमा कारण बढेर २.८५ प्रतिशत पुगेको छ । तर अहिलेको अवस्थामा नेपाल बैंकले खराब कर्जालाई न्यून अवस्थामा राख्न सक्नु नै सीईओ अधिकारीको सफलता भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
यसैगरी उनले आफ्नो कार्यकालमा १ लाख ३१ हजार रहेको मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्या बढाएर ७ लाख २६ हजार पुर्याए भने २४ हजारको हाराहारीमा रहेको डेविट कार्डलाई विस्तार गरी २ लाख ५६ हजार पुर्याउन सफल भएका छन् । सो अबधिमा बैंकको शाखा संख्या १३९ बाट बढाएर २२८ वटा पुगेको छ भने जम्मा ५६ वटा रहेको एटीएम संख्या बढेर १४७ पुगेको छ । उनले आफ्नो कार्यकाल देशभर शाखा र सेवा विस्तार गर्ने क्रममा २ हजार १४२ जना रहेको कर्मचारी संख्या बढाएर ३ हजार ६ सय पुर्याएका छन् । उनको कार्यकालमा थप १ हजार ४५८ जनाले नेपाल बैंकमा रोजगारी पाएका छन् ।