Logo

विकास बैंकको वित्तीय अवस्था : खुद नाफा घट्दा लाभांश र प्रतिसेयर आम्दानी खुम्चियो (कुनको अवस्था कस्तो )

विकास बैंकको वित्तीय अवस्था : खुद नाफा घट्दा लाभांश र प्रतिसेयर आम्दानी खुम्चियो (कुनको अवस्था कस्तो )



काठमाडौं । आर्थिक वर्ष २०७९–८० मा राष्ट्रिय स्तरमा विकास बैंकहरुको अधिकांश परिसुचकहरुमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षका राष्ट्रिय स्तरका विकास बैंकको लाभांश क्षमता, खुद मुनाफा, सेयरधनीलाई दिने लाभांश क्षमता, प्रति सेयर आम्दानीलगायतका सुचकहरुमा गिरावट आएको हो ।

laxmi

गत आर्थिक वर्षमा ८ वटा राष्ट्रिय स्तरको विकास बैंक मध्ये तीन बैंकको नाफा बढेको छ । बाँकी ५ विकास बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । समग्रमा तुलना गर्दा विकास बैंकको नाफा ९ प्रतिशतको हाराहारीमा घटेको छ ।

यसैगरी, गत आवको चौथो त्रैमाससम्म आउँदा ८ वटा विकास बैंक मध्ये ७ वटा विकास बैंकको वितरण योग्य नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । समग्रमा विकास बैंकको वितरण योग्य नाफा नै १५ प्रतिशतले घटेको छ । बैंकको वितरण योग्य नाफामा गिरावट आउँदा बैंकको लाभांश क्षमता पनि संकुचित भएको छ । ८ वटा विकास बैंकको लाभांश क्षमता औसतमा ८.३० प्रतिशत रहेको छ । यसैगरी, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरुको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षमा विकास बैंकको प्रतिसेयर आम्दानी औसतमा ३.१८ प्रतिशत घटेको छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले बैंकको यी सूचकहरुलाई अध्ययन्न गरेर सेयर बजारमा लगानी गर्ने गर्दछन् ।

तीन बैंकको खुद नाफा बढ्दा, पाँच बैंकको घट्यो

गत आवमा ३ वटा विकास बैंकको नाफा बढ्दा ५ वटाको नाफामा भने गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका विकास बैंकहरुले गत आर्थिक वर्षमा आइपुग्दा घटेर ५ अर्ब ७७ करोढ रुपैयाँमा खुम्चिएको छ । सो अबधिमा सबैभन्दा बढी मुक्तिनाथ विकास १ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १.६४ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्ष यसको नाफा १ अर्ब ३४ करोड रुपैयाँ थियो ।

यसैगरी, गरिमा विकास बैंक गत आवमा १ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकका उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधीकोभन्दा १८.१९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको नाफा १ अर्ब ३ करोड रुपैयाँ थियो ।

सो अबधिमा साइन रेसुङ्गा बैंकको नाफा पनि बढेको छ । साईनरेसुङ्गाले गत वर्ष आफ्नो नाफा २१.२९ प्रतिशतले बढाए ७८ करोड ६८ लाख रुपैयाँ कमाएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा यस बैंकको नाफा ६४ करोड ८७ लाख रुपैयाँ मात्रै थियो । तर गत आवमा महालक्ष्मी विकास बैंकको नाफामा भने उच्च गिरावट आएको छ । अघिल्लो आवको तुलनामा बैंकको नाफा ४७.९५ प्रतिशतले घट्दै गत आवमा ४७ करोड ९ लाख रुपैयाँ मात्रै कमाएको छ । यस्तै लुम्बिनी विकास बैंकको नाफा पनि ३.८८ प्रतिशतले घटेर ६१ करोड २४ लाख रुपैयाँमा खुम्चिएको छ ।

त्यसैगरी ज्योती विकास बैंकको नाफा पनि १७.४३ प्रतिशतले घटेर ५५ करोड ३२ लाख रुपैयाँमा सिमित हुँदा कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशत घटेर ४३ करोड ११ लाख रुपैयाँमा झरेको छ । सांग्रिला विकास बैंकको नाफा पनि ३४.८० प्रतिशतले घटेर ३४ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।

वितरणयोग्य नाफा र लाभांश क्षमता

विकास बैंकहरुको वितरण योग्य नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म बैंकको वितरण योग्य नाफा २ अर्ब ९५ करोड २१ लाख रुपैयाँ छ । तर अघिल्लो आर्थिक वर्षमा बैंकहरुको यस्तो नाफा ३ अर्ब ५० करोड ७५ लाख रुपैयाँ थियो । ८ विकास बैंकको हाल चुक्ता पुँजी ३४ अर्ब रुपैयाँ रहेको छ । यस अनुसार बैंकको वितरण योग्य लाभांश औसतमा ८.३० प्रतिशत रहेको छ । यस अवधिमा साईनरेसुङगा विकास बैंकको वितरण योग्य नाफा १.९० प्रतिशत बढेको छ । बाँकी ७ विकास बैंकको नाफा घटेको छ ।

गत आवमा सबैभन्दा धेरै वितरण योग्य नाफा कामनासेवा विकास बैंकको घटेको छ । यस बैंकको वितरण योग्य नाफा ७०.७५ प्रतिशतले घटेर ५ करोड ८० लाख ९५ हजार रुपैयाँ कायम भएको छ । यस बैंकको लाभांश वितरण क्षमता १.७७ प्रतिशत रहेको छ । यसैगरी, ज्योती विकास बैैंकको यस्तो नाफा २१.५० प्रतिशतले घटेर २२ करोड ७८ लाख ८९ हजार रुपैयाँ कायम भएको छ । यस बैंकको लाभांश वितरण क्षमता ५.१८ प्रतिशत रहेको छ ।

मुक्तिनाथ विकास बैंकको लाभांश क्षमता १०.०३ प्रतिशत रहेको छ । यस बैंकको वितरण योग्य नाफा पनि घटेको छ । यस बैंकको यस्तो नाफा २०.०४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म यसको यस्तो नाफा ६४ करोड ४० लाख रुपैयाँ छ । महालक्ष्मी विकास बैंकको यस्तो नाफा पनि १९.९४ प्रतिशत घटेर ३३ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । यस बैंकको लाभांश क्षमता ८.०६ प्रतिशत रहेको छ । लुम्बिनी विकास बैंकको पनि वितरण योग्य नाफा गत आर्थिक वर्षमा २९ करोड २७ लाख ६२ हजार रुपैयाँ रहेको छ । यस बैंकको लाभांश क्षमता विकास बैंकहरु मध्ये सबैभन्दा धेरै रहेको छ । यस बैंकको यस्तो क्षमता ११.६१ प्रतिशत रहेको छ ।

यसैगरी, सांग्रिला विकास बैंकको वितरण योग्य नाफा ७.९५ प्रतिशतले घटेर २४ करोड ८९ लाख ५४ हजार रुपैयाँमा सिमित भएको छ । यस बैंकको लाभांश क्षमता ७.६२ प्रतिशत रहेको छ । यसैगरी, गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५५ करोड ७२ लाख ७१ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको यस्तो नाफा गत आर्थिक वर्षको यसै अवधीको तुलनमा ४.६५ प्रतिशत घटेको हो । यस बैंकको लाभांश क्षमता १०.७४ प्रतिशत रहेको छ ।

प्रतिसेयर आम्दानी कस्को कति ?

गत आर्थिक वर्षको असार मसान्तसम्म सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको विकास बैंक गरिमा विकास बैंक रहेको छ । यस बैंकको यस्तो आम्दानी ३२ रुपैयाँ ४७ पैसा छ । यसैगरी, मुक्तिनाथ विकास बैंके प्रतिसेयर आम्दानी २१ रुपैयाँ २४ पैसा हुँदा साईनरेसुङ्गा विकास बैंकको १८ रुपैयाँ ३७ पैसा, लुम्बिनी विकास बैंकको१८ रुपैयाँ ११ पैसा र कामना सेवा विकास बैंकको १३ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै ज्योती विकास बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५८ पैसा हुँदा महालक्ष्मी विकास बैंकको ११ रुपैयाँ २९ पैसा र सांग्रिला विकास बैंकको १० रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL