Logo

आर्थिक विधेयकको बुँदा नम्बर २६ : बैंक वित्त कम्पनीले ६ अर्ब राजस्व तिर्नु पर्ने, कसको कति ?

आर्थिक विधेयकको बुँदा नम्बर २६ : बैंक वित्त कम्पनीले ६ अर्ब राजस्व तिर्नु पर्ने, कसको कति ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक विधेयकको दफा नम्बर २६ लागू भएमा बैंक, वित्त तथा जलविद्युत कम्पनीहरुले ६ अर्ब रुपैयाँ राजस्व तिर्नुपर्ने छ । आर्थिक विधेयक २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ (एफपिओ) बाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमको आयकर तिर्नुपर्ने व्यवस्था छ ।

laxmi

जसअनुसार आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस सेयरको रूपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था छ ।

यदि सरकारले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याउने हो भने बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीले जारी गरेकाे एफपीओ वापत ५ अर्ब ८७ करोड रुपैयाँ भन्दा बढी कर तिर्नुपर्ने हुन्छ । सरकारले आर्थिक विद्येयकमार्फत ल्याएको उक्त व्यवस्था कार्यान्वयमा आएमा विभिन्न क्षेत्रका गरी ११ कम्पनीले एफपीओबाट भएको आम्दानीको लाभांश वितरण वापत ५ अर्ब ८७ अर्ब रुपैयाँ कर तिर्नुपर्ने देखिएकाे हाे । तर यसअघि एफपीओ विक्री गर्ने कुनै पनि कम्पनीले त्यस्तो कर वापत कति रकम तिर्नुपर्छ भनेर तथ्यांक सार्वजनिक गरेका छैनन् ।

सरकारले ल्याएको उक्त व्यवस्था कार्यान्वयनमा ल्याउँदा प्रिमियममा एफपीओ निष्काशन गरेका बैंक तथा जीवन बीमा कम्पनीले जती प्रिमियम जोडेर एफपीओ निष्कासन गरेका छन् त्यसको ३० प्रतिशत कर तिर्नु पर्छ । यस्तै निर्जीवन बीमा कम्पनीले निष्कासन गरेको एफपिओमा २५ प्रतिशत कर तिर्नुपर्छ। सरकारले ल्याएको उक्त विधेयक पारित भएमा केहि बैंक तथा वित्त कम्पनीले एक अर्ब भन्दा धेरै कर तिर्नुपर्ने छ।

कुन कम्पनीले निष्काशन गरेका छन प्रिमियम मूल्यमा एफपीओ ?

हालसम्म १४ कम्पनीले प्रिमियम मूल्यमा एफपिओ जारी गरेका छन् । एफपिओ जारी गर्ने कम्पनीमध्ये ६ वटा वाणिज्य बैंक छन् । यसैगरी, तीन इन्स्योरेन्स कम्पनी, दुई लघुवित्त कम्पनी, दुई फाईनान्स कम्पनी र एउटा हाइड्रो पावर कम्पनी रहेका छन् । एफपीओ जारी गर्ने वाणिज्य बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, नेपाल बैंक र सिटिजन्स बैंक हुन ।

यसैगरी, बीमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले एफपिओ जारी गरेका छन्। फाइनान्स कम्पनीअन्तर्गतको पोखरा फाइनान्स र रिलायन्स फाईनान्स कम्पनी र जलविद्युत समूह अन्तर्गतकाे बुटवल पावर कम्पनीले प्रिमियम मूल्यमा एफपीओ जारी गरेकाे थियाे । यस्तै अरुण हाईड्रो र चिलिमेले प्रिमियम मुल्यमा आईपीओ बिक्री गरेको थियो । यसैगरी, लघुवित्त कम्पनीमा ग्रिन विकास लघुवित्त वित्तीय कम्पनी र युनिक लघुवित्त वित्तीय कम्पनीले प्रिमियममा एफपीओ जारी गरेका छन् ।

यसरी एफपीओ जारी गर्ने ११ बैंक तथा वित्त कम्पनीले मात्र प्रिमियम मूल्यमा एफपिओ निष्काशन गरेका छन् । बाँकी तीन कम्पनीले साधारण सेयर (आईपीओ) को विर्धारित मूल्य १०० रुपैयाँमा नै एफपिओ निष्कासन गरेका छन् । जसका कारण ग्रित विकास लघुवित्त वित्तीय कम्पनी, युनिक लघुवित्त वित्तीय कम्पनी र रिलायन्स फाईनान्स कम्पनीले करको दायरामा आउन नपर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

कुन कम्पनीले कती तिर्नुपर्छ कर ?

नेपाल लाईफ
प्रिमियम मूल्य थप गरेर सबैभन्दा महँगो मूल्यमा एफपिओ बेच्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो रहेको छ । नेपाल लाईफले प्रतिकित्ता १ हजार ४ सय २५ रुपैयाँमा ३० लाख ९६ हजार ४ सय २९ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १ हजार ३ सय २५ रुपैयाँ थप गरेको थियो । कम्पनीले ४ अर्ब १० करोड २७ लाख ६८ हजार ४ सय २५ रुपैयाँ प्रिमियम रकम संकलन गरेको थियो । उक्त रकममा ३० प्रतिशत कर लगाउँदा कम्पनीले १ अर्ब २३ करोड ८ लाख ३० हजार ५ सय २५ रुपैयाँ कर तिर्नु पर्ने देखिन्छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रतिकित्ता १ हजार २ सय ९० रुपैयाँमा २५ लाख ५८ हजार १ सय ४० कित्ता सेयर बिक्री गरेको थियो । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा १ हजार १ सय ९० रुपैयाँ थप गरी कूल ३ अर्ब ४ करोड ४१ लाख ८६ हजार ६ सय रुपैयाँ प्रिमियम संकलन गरेको थियो । उक्त रकममा ३० प्रतिशत कर लगाउँदा बैंकले अनुमानित ९१ करोड ३२ लाख ५५ हजार ९ सय ८० रुपैयाँ कर तिर्नु पर्नेछ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले प्रतिकित्ता ९ सय ७१ रुपैयाँमा ६७ हजार ७ सय ६८ कित्ता सेयर एफपिओ विक्री गरेको थियो । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा ८ सय ७१ रुपैयाँ थप गरी कूल ५ करोड ९० लाख २५ हजार प्रिमियम संकलन गरेको थियो । सो रकममा ३० प्रतिशत कर लगाउँदा बैंकले १ करोड ७७ लाख ७ हजार रूपैयाँ कर तिर्नु पर्ने देखिन्छ ।

साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी
साविकको प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ७ सय ९९ रुपैयाँमा ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा ६ सय ९९ रुपैयाँ थप गरी कूल ४६ करोड १० लाख ३५ हजार ९ सय ३५ रुपैयाँ प्रिमियम संकलन गरेको थियो । सो रकममा २५ प्रतिशत कर लगाउँदा कम्पनीले १३ करोड ८३ लाख १० हजार कर तिर्नु पर्ने देखिन्छ ।

शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सले प्रतिकित्ता ६५० रुपैयाँमा ५ लाख १० हजार ९ सय ८८ कित्ता सेयर बिक्री गरेको थियो । इन्स्योरेन्सले अंकित मूल्य १ सय रुपैयाँमा ५ सय ५० रुपैयाँ थप गरी कूल २८ करोड १० लाख ४३ हजार ४ सय रुपैयाँ प्रिमियम संकलन गरेको थियो । सो रकममा २५ प्रतिशत कर लगाउँदा इन्स्योरेन्सले ८ करोड ४३ लाख १३ हजार रुपैयाँ कर तिर्नु पर्नेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
साबिकको नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतिकित्ता ६ सय १ रुपैयाँमा ९० लाख ६९ हजार ३ सय ८८ कित्ता सेयर बिक्री गरेको थियो । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा ५ सय १ रुपैयाँ थप गरी कूल ४ अर्ब ५४ करोड ३७ लाख ६३ हजार रुपैयाँ प्रिमियम संकलन गरेको थियो । सो रकममा ३० प्रतिशत कर लगाउँदा बैंकले १ अर्ब ३६ करोड ३१ लाख २९ हजार रुपैयाँ कर तिर्नु पर्ने देखिन्छ । जुन एफपीओ जारी गर्ने संस्थाहरुमध्ये सबैभन्दा बढी राजस्व हो ।

एनएमबी बैंक
एनएमबी बैंकले प्रतिकित्ता ३ सय ३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता सेयर बिक्री गरेको थियो । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा २ सय ३३ रुपैयाँ थप गरी कूल २ अर्ब ६५ करोड ९७ लाख ३२ हजार रुपैयाँ प्रिमियम संकलन गरेको थियो । सो रकममा ३० प्रतिशत कर लगाउँदा बैंकले ७९ करोड ७९ लाख १९ हजार रुपैयाँ कर तिर्नु पर्ने देखिन्छ ।

नेपाल बैंक
नेपाल बैंकले प्रतिकित्ता २ सय ८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयर बिक्री गरेको थियो । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा १ सय ८० रुपैयाँ थप गरी कूल ३ अर्ब १८ करोड ३२ लाख ७४ हजार ४ सय ४० प्रिमियम संकलन गरेको थियो । सो रकममा ३० प्रतिशत कर लगाउँदा बैंकले ९५ करोड ४९ लाख ८२ हजार रुपैयाँ कर तिर्नु पर्ने देखिन्छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले प्रतिकित्ता २ सय रुपैयाँमा ४ लाख ६३ हजार ८ सय २६ कित्ता सेयर बिक्री गरेको थियो । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा १ सय रुपैयाँ थप गरी कूल ४ करोड ६३ लाख ८२ हजार रुपैयाँ प्रिमियम संकलन गरेको थियो । सो रकममा ३० प्रतिशत कर लगाउँदा बैंकले १ करोड ३९ लाख १४ हजार रुपैयाँ कर तिर्नु पर्ने देखिन्छ ।

पोखरा फाइनान्स
पोखरा फाइनान्सले प्रतिकित्ता २२० सय रुपैयाँमा ९ लाख ८३ हजार ६ सय ८२ कित्ता सेयर बिक्री गरेको थियो । फाइनान्सले अंकित मूल्य १ सय रुपैयाँमा १ सय २० रुपैयाँ थप गरी कूल ११ करोड ८० लाख ४१ हजार ८ सय ४० रुपैयाँ प्रिमियम संकलन गरेको थियो । सो रकममा ३० प्रतिशत कर लगाउँदा फाइनान्सले ३ करोड ५४ लाख १२ हजार ५ सय ५२ रुपैयाँ कर तिर्नु पर्ने देखिन्छ ।

बुटवल पावर कम्पनी
बुटवल पावर कम्पनीले प्रतिकित्ता ५ सय १ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा ४०१ रुपैयाँ थप गरी कूल १ अर्ब ६३ करोड ६४ लाख ८१ हजार रुपैयाँ प्रिमियम संकलन गरेको थियो । सो रकममा ३० प्रतिशत कर लगाउँदा कम्पनीले ३२ करोड ७२ लाख ९६ हजार २ सय रुपैयाँ कर तिर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL