Logo

अध्ययन प्रतिवेदन : घाटामा चल्न थाले लघुवित्त, खराब कर्जा बढ्यो

अध्ययन प्रतिवेदन : घाटामा चल्न थाले लघुवित्त, खराब कर्जा बढ्यो



काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु घाटामा चलेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदनले उक्त कुरा औंल्याएको हो ।

laxmi

प्रतिवेदन अनुसार नेपालमा संचालित ६० खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये ८ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिएको हो । यस्तै प्रतिवेदनले चालु आवको पुस मसान्तसम्म अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा ह्रास आएको औँल्याएको छ ।

चालु आवको पुस मसान्तसम्ममा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी ३ अर्ब ३९ करोड र ब्याज खर्च १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । यस्तै यो अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले ७९ करोड रुपैयाँ खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको प्रथम त्रयमासको तुलनामा ४.२० प्रतिशतले कम हो ।

यस्तै प्रतिवेदनमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको बताईएको छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७.४४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक बर्षको दोस्रो त्रैमासमा भने ०.३४ प्रतिशतले मात्रै शाखासञ्जाल वृद्वि भएको देखिएको हो ।

यस्तै अध्ययन प्रतिवेदनले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपातमा वृद्वि भएको देखाएको छ । प्रतिवेदन अनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७९ असारको तुलनामा ३ दशमलव १७ प्रतिशतले वृद्वि भई २०७९ पुस मसान्तमा ५९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म भन उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा ५२ करोड अर्थात ०.८७ प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा निष्कृय कर्जाको अनुपात ०.४१ प्रतिशत रहेको थियो भने २०७८ पुस मसान्तमा यस्तो अनुपात ०.३४ प्रतिशत मात्र रहेको थियो ।

समीक्षा अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL