Logo

आर्थिक मन्दीको असर : बैंकको किस्ता र ब्याज नउठ्दा खराब कर्जा बढ्यो, अदालतमा चेक वाउन्स मुद्दाको चाङ

आर्थिक मन्दीको असर : बैंकको किस्ता र ब्याज नउठ्दा खराब कर्जा बढ्यो, अदालतमा चेक वाउन्स मुद्दाको चाङ



काठमाडौं । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको असर नेपालका बैंक तथा वित्तीय क्षेत्रमा देखिन थालेको छ । यसअघि नेपालमा उद्योग व्यवसायमा आर्थिक मन्दीले असर पुर्याएपनि बैंक तथा वित्तीय संस्थाले भने राम्रो मुनाफा आर्जन गर्दै आफ्नो वित्तीय विवरण सार्वजनिक गर्र्दै आएका थिए । तर लामो समय उद्योग व्यवसायमा परेको असरका कारण उद्योगी व्यवसायीले कर्जाको किस्ता र व्याज बुझाउन नसकेपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा समेत प्रभाव परेको हो ।

laxmi

हाल ऋणीहरुले कर्जाको किस्ता र व्याज तिर्न नसक्दा खराब ऋणीको संख्यामा उल्लेखनीय वृद्धि भएको सम्बद्ध बैंकहरु बताउँछन् । यस अघि कोरोना प्रभावको समयमा ऋणीहरुले कर्जाको किस्ता व्याज तिर्न नसक्दा उक्त ऋणमा थप १० देखि २० प्रतिशतसम्म कर्जा प्रबाह गर्दै व्याज असुली गरेका थिए । तर अहिले राष्ट्र बैंकको नयाँ व्यवस्थाले ऋणीहरुले कोरोना समयमा पाउँदै आएको सुविधा हटेको र उद्योग व्यवसाय चल्न नसक्दा कर्जाको किस्ता व्याज उठाउन नसकिएको एक बैंकरले जानकारी दिए । ‘बैंकहरुले पहिले राष्ट्र बैंकले कोरोना समयमा दिएको सुविधा उपयोग गर्दै ऋणीलाई थप कर्जा प्रबाह गर्दै व्याज असुली गरेका थिए,’ ती बैंकरले भने, ‘जसका कारण ऋणीमाथि थप ऋणको भार थोपरियो भने अहिले उद्योग व्यवसाय नचल्ने त्यस्ता ऋणीबाट किस्ता र व्याज उठाउन सकिएको छैन ।’

यस अघि ऋणीलाई थप कर्जा प्रबाह गरेर कागजी रुपमै भएपनि किस्ता र व्याज नियमित रुपमा असुल गरिएको थियो । तर अहिले तरलता अभावका कारण ऋणीलाई थप कर्जा दिन नसकिने र यस अघि दिएको कर्जा समेत असुल नभएकाले दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुको खराव कर्जा उच्च रुपमा बढ्ने सम्बद्ध बैंकहरुनै बताउँछन् ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै कुल कर्जा प्रबाहको १.८३ प्रतिशत पुगिसकेको छ । तर, दोस्रो त्रैमासमा बैंकहरुको खराब कर्जाको अनुपात यो भन्दा अझै बढी देखिने समेत एक बैंकरले जानकारी दिए । ‘अहिले बैंकहरु कर्जा असुल गर्न नसकेपछि धमाधम धितो बिक्रीका लागि पत्रपत्रिकामा सूचना निकालिरहेका छन्,’ ती बैंकरले भने, ‘अहिलेको मन्दीमा धितो अर्थात घरजग्गा बिक्री हुने छैन तसर्थ दोस्रो त्रैमासमा खराब कर्जा बढ्नुको विकल्प छैन ।’

अदालतमा चेक वाउन्सका मुद्दाको चाङ

पछिल्लो समय आर्थिक मन्दी बढ्दै गएपछि अदालतमा चेक वाउन्सका मुद्दासमेत उच्च रुपमा बढ्न थालेका छन् । पछिल्लो समय जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेमध्ये अधिकांश चेक वाउन्सको रहेको जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । यसअघि चेक वाउन्सको मुद्दा सामान्य मात्रामा आउने गरेकोमा अहिले दैनिकजसो त्यस्ता मुद्दा दर्ता गरेरै नभ्याउने अवस्था रहेको समेत उक्त स्रोतको भनाई रहेको छ ।

कालो सूचीको संख्या ह्वात्तै बढ्यो

आर्थिक संकट गहिरिँदै गएसँगै कालोसूचीमा पर्ने उद्योगी व्यवसायीहरुको संख्या पनि ह्वात्तै बढेको छ । कर्जा सूचना केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ४ महिनामा मात्रै ७ हजार ३ सय ७० जना ऋणीहरु कालोसूचीमा परिसकेका छन् ।

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो ४ महिनामा २ हजार ५ सय ८४ जना ऋणीहरु कालोसूचीमा परेका थिए । तर चालू आर्थिक वर्षको पहिलो ४ महिनामा भने यो संख्या ३ गुणाले बढ्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL