Logo

३ महिनामा ५४ अर्बले बढ्यो कर्जा लगानी, यी हुन् धेरै कर्जा लगानी भएका क्षेत्र

३ महिनामा ५४ अर्बले बढ्यो कर्जा लगानी, यी हुन् धेरै कर्जा लगानी भएका क्षेत्र



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमास असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ५४ अर्ब १६ करोड रुपैयाँले थपेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न क्षेत्रमा ४७ खर्ब ६३ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् । यो रकम गत आर्थिक बर्षको असार मसान्तसम्मको तुलनामा १.२ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ४७ खर्ब ९ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी भएको थियो ।

laxmi

पछिल्लो ३ महिनाकै अवधिमा वित्तीय संस्थाहरुले ५४ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी थप गरेका हुन् । जसमध्ये सबैभन्दा बढि वृद्धि उत्पादन क्षेत्रमा भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार उत्पादनमुलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले ३ महिनामा ३९ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् । हालसम्म यो क्षेत्रमा ७ खर्ब ३४ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी भएको छ । यो गएको असार मसान्तको तुलनामा ५.६ प्रतिशतले बढि हो । गत असारसम्ममा यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको लगानी ६ खर्ब ९५ अर्ब रुपैयाँ थियो ।

यस क्षेत्रभित्र पर्ने फलाम तथा स्टिल उद्योगमा मात्रै पछिल्लो ३ महिनामा १२ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी हुँदा विविध उत्पादन उद्योगमा ७ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी भएको देखिन्छ । यस्तै यस अवधिमा खाद्य उद्योगतर्फ ३ अर्ब ८० करोड, सिमेन्ट उद्योगतर्फ ३ अर्ब ९७ करोड, गार्मेन्ट उद्योगमा १ अर्ब ९७ करोड र मदिरा उद्योगमा १ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी भएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो त्रैमासमा मदिरा, सुर्तिजन्य उद्योग तथा रेसिन तार्पीन उद्योगमा भने कर्जा लगानी घटेको छ ।

यस्तै क्षेत्रगत रुपमा कुरा गर्दा चालु आवको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी खनिजजन्य उद्योगमा सर्वाधिक बढेको छ । तथ्यांक अनुसार यस क्षेत्रमा हालसम्म ९ अर्ब ७४ करोड रुपैयाँ बढिको लगानी रहेको छ । यो गएको असार मसान्तको तुलनामा १०.९ प्रतिशतले बढि हो । गत असारसम्म यो क्षेत्रमा जम्मा ८ अर्ब ७८ करोड रुपैयाँ लगानी भएको थियो । चालु आवको पहिलो त्रैमासमा यस क्षेत्रमा ९५ करोड ५ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

यस्तै चालु आवको पहिलो त्रैमासमा होलसेल तथा खुद्रा व्यवसाय क्षेत्रमा २० अर्ब ५६ करोड रुपैयाँ बढिको कर्जा लगानी भएको छ । यस्तै यसै अवधिमा यता सेवा क्षेत्रमा पनि १५ अर्ब ५२ करोड रुपैयाँ बढिको कर्जा प्रवाह हुँदा उपभोग्य कर्जा २७ अर्ब ९५ करोड रुपैयाँ प्रवाह भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले उल्लेख्य ब्याज लिईरहेको आरोप लागेपनि कर्जा प्रवाह भने बढिरहेको देख्न सकिन्छ ।

चालु आवको पहिलो त्रैमासमा कृषि तथा पशुपालन क्षेत्रमा ३ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा निर्माण क्षेत्रमा ३ अर्ब २४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यस्तै यस अवधिमा मेशिनरी क्षेत्रमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह हुँदा यातायात क्षेत्रको लगानीमा करिव ८ करोडको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL