Logo

इन्टरनेट बैंकिङ घट्दा वालेटप्रति उपभोक्ताको आकर्षण, १ बर्षमै ४९ लाख प्रयोगकर्ता थपिए

इन्टरनेट बैंकिङ घट्दा वालेटप्रति उपभोक्ताको आकर्षण, १ बर्षमै ४९ लाख प्रयोगकर्ता थपिए



काठमाडौं । इन्टरनेटको विस्तार र प्रविधिको उच्चतम प्रयोगका कारण नेपालमा वालेट प्रयोगकर्ता दिनानुदिन बढ्दैछन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांक अनुसार गएको भदौ महिनामा मात्रै वालेट प्रयोगकर्ता ४ लाख ३० हजार जना थपिएका छन् । साउन महिनामा १ करोड ४० लाख ९४ हजार जना रहेका यस्ता प्रयोगकर्ता भदौसम्म पुग्दा १ करोड ४५ लाख २५ हजार जना पुगेका हुन् ।

laxmi

नेपाल राष्ट्र बैंकसँगै सरकारले पनि डिजिटल पेमेन्टलाई प्राथमिकता दिएपछि इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, कार्डमार्फत हुने भुक्तानीलगायतमा उच्च वृद्धि देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एक बर्षको अवधि अर्थात गत आर्थिक बर्षको भदौदेखि चालु आर्थिक बर्षको भदौसम्ममात्रै नेपालमा ४८ लाख ८९ हजार जना वालेट प्रयोगकर्ता थपिएका छन् । गत आर्थिक बर्षको भदौमा नेपालमा वालेट प्रयोगकर्ताको संख्या ९६ लाख ३५ हजार जना थियो ।

कोरोना महामारीताका प्राय भुक्तानीहरु अनलाईनबाट गर्नुपर्ने बाध्यताका कारण यसबीचमा अनलाइन भुक्तानीका प्राय उपायहरु उपभोक्ताले अवलम्बन गरेका थिए । कोरोना महामारीको कहर कम भईसक्दा पनि सोही प्रवृत्ति उपभोक्ताले अंगालेका कारण वालेटमार्फत भुक्तानी गर्नेको संख्या बढिरहेको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल बताउँछन् । ‘पछिल्लो समय वालेटमार्फत भुक्तानी गर्नेको संख्यामा एकाएक बढोत्तरी भएको छ,’ उनले भने, ‘वालेटमार्फत भुक्तानी गर्नेको संख्या एक बर्षमै करिव ५० लाखले वृद्धि हुँदा कुल डेढ करोड पुग्न लागिसकेको छ ।’

हाल नेपालमा २७ कम्पनीहरुले भुक्तानी सेवाप्रदायकको अनुमति पाएका छन् भने १० कम्पनीले भुक्रानी प्रणाली संचालकको अनुमति पाएका छन् । यस्तै अन्य २७ वाणिज्य बैंकहरु पनि आफैमा भुक्तानी सेवाप्रदायक भएकाले उनीहरुले पनि आफ्नो आफ्नो वालेट सेवा संचालन गर्न सकिने व्यवस्था छ । सोही अनुसार केहि बैंकहरुले वालेट सेवा प्रदान गरिहेको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार वालेटमार्फत एक महिनामै १७ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । यो अघिल्लो महिना साउनको तुलनामा १७ करोड रुपैयाँले बढी हो । साउन महिनामा वालेटमार्फत १७ अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । यस्तै १ बर्षको तथ्यांकलाई तुलना गर्दा गत आर्थिक बर्षको भदौको तुलनामा चालु आवको भदौसम्म वालेटमार्फतको भुक्तानी ३ अर्ब २० करोड रुपैयाँले बढेको छ । गत आर्थिक बर्षको भदौमा १४ अर्ब ४२ करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी वालेटमार्फत भएको थियो ।

ई-बैंकिङमार्फतको भुक्तानी घट्यो

वालेटमार्फतको भुक्तानीमा उछाल आएपनि इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानीमा भने गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनको तुलनामा भदौमा इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानी करिव १ अर्ब रुपैयाँले घटेको छ । साउन महिनामा इबैंकिङमार्फत १३ अर्ब ७४ करोड रुपैयाँ बराबरको भुक्तानी भएकोमा भदौ महिनामा यो घटेर जम्मा १२ अर्ब १९ करोडमा सिमित भएको हो । हाल इन्टरनेट बैंकिङका प्रयोगकर्ता १७ लाख ६ हजार जना छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL