Logo

राष्ट्र बैंकको निष्कर्ष : उच्च आयात नघटेसम्म तरलता समस्या समाधान हुँदैन

राष्ट्र बैंकको निष्कर्ष : उच्च आयात नघटेसम्म तरलता समस्या समाधान हुँदैन



काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च आयात नघटेसम्म तरलता चापको विद्यमान स्थिती कायमै रहने बताएको छ । राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै कर्जा विस्तारको ठूलो अंश आयाततर्फ केन्द्रित भई शोधनान्तर घाटा बढ्दो र विदेशी विनिमय सञ्चिति घट्दो क्रममा रहेसम्म तरलतामा चापको स्थिति कायमै रहने जानकारी दिएको हो ।

laxmi

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै वाह्य क्षेत्रतर्फ भुक्तानी सन्तुलन घाटामा गएको र साधन परिचालनको तुलनामा कर्जा माग उच्च रहेका कारण बैंकिङ्ग क्षेत्रको तरलतामा दबाब परेको राष्ट्र बैंकको निष्कर्ष रहेको छ । साथै निजीक्षेत्रतर्फको बैंक कर्जामा भएको तीब्र विस्तार र सम्पत्तिको मूल्यमा आएको बढोत्तरीका कारण समग्र माग विस्तार भएकोले वाह्य क्षेत्रतर्फ आयात र व्यापार घाटा उच्च दरले वृद्धि भएको छ । विपे्रषण आप्रवाहमा संकुचन आएको र विदेशी मुद्रा आर्जनको स्रोत फराकिलो हुन समय लाग्ने देखिएकोले वाह्य क्षेत्रमा विद्यमान दबाबको स्थिति अझै केही समयसम्म रहने अनुमान राष्ट्र बैंकको छ ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दो क्रममा रहेको र यसको प्रभाव नेपालमा पनि परेको छ । साथै, चालु आर्थिक वर्ष स्थानीय तहको निर्वाचन हुन गइरहेको सन्दर्भमा आन्तरिक माग थप बढ्न गई मुद्रास्फीतिमा चाप पर्नसक्ने समेत राष्ट्र बैंकले जानकारी दिएको छ । ‘हालै गरिएको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले पनि मुद्रास्फीतिमा पर्नसक्ने चापलाई संकेत गरेको छ,’ उक्त समिक्षामा भनिएको छ, ‘तथापि, चालु आर्थिक वर्षको औसत मुद्रास्फीति अपेक्षित सीमा नजिक रहने अनुमान छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL