Logo

साइकोमेट्रिक स्कोरिङका लागि राष्ट्र बैंक र आईएफसीबीच समझदारी, लघु कर्जा व्यवस्थापनलाई प्रविधिमैत्री बनाईने

साइकोमेट्रिक स्कोरिङका लागि राष्ट्र बैंक र आईएफसीबीच समझदारी, लघु कर्जा व्यवस्थापनलाई प्रविधिमैत्री बनाईने



काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन उक्त समझदारी भएको हो ।

laxmi

यससँगै वित्तीय प्रणाली थप सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रर्वद्धन गर्न सहयोग पुग्ने राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि उक्त समझदारीमा पत्रमा लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी र आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले हस्ताक्षर गरेका हुन् ।

जापान सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारसँगको साझेदारीमा नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिको लागि परीक्षण गर्न लागिएको हो । आज भएको समझदारीबमोजिम यस विधिमार्फत लघु तथा खुद्रा कर्जा लिनेव्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको छ ।

यसले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्न सक्षम बनाई औपचारिक वित्तीय सेवामा समाहित हुन सेवाग्राहीलाई ऋण उपभोग गर्न आकर्षित र सरल बनाउने अपेक्षा राखिएको छ । यसबाट विगतमा वित्तीय सेवाको पहुँच नपुगेका सेवाग्राहीमा वित्तीय सेवा विस्तारमा समेत सहज हुनेविश्वास लिइएको छ ।

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएफसी र राष्ट्र बैंकबीच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गर्दै नयाँ समझदारीको कार्यान्वयनबाट लघुकर्जा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे । यसै गरी, आईएफसीका आवासीय प्रतिनिधि फायेले नयाँ सहकार्य गर्ने अवसर दिएकोमा राष्ट्र बैंकलाई धन्यवाद दिँदै उक्त समझदारीले वित्तीय पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गि मास्के र देवकुमार ढकाललगायत बैंकका अन्य अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL