Logo

अर्बौं कर्जा लिएर मदिरा कारोबारी अग्रवाल भाग्दाको असर : चालू पुँजी कर्जामा कसी लगाउँदै राष्ट्र बैंक

अर्बौं कर्जा लिएर मदिरा कारोबारी अग्रवाल भाग्दाको असर : चालू पुँजी कर्जामा कसी लगाउँदै राष्ट्र बैंक



काठमाडौं । मदिरा कारोबारी अमित अग्रवाल र अभिषेक अग्रवालले बैंकबाट अबौं रुपैयाँ कर्जा लिएर भागेसँगै राष्ट्र बैंकले चालू पुँजी कर्जामा कडाई गर्ने भएको छ । हाल बैंक तथा वित्तीय संस्थाले चालू पुँजी कर्जामा ७० प्रतिशतसम्म कर्जा दिँदै आएको थियो । त्यसरी कर्जा दिँदा दुरुपयोग भएको निष्कर्ष सहित राष्ट्र बैंकले चालू पुँजी कर्जामा कडाई गर्न लागेको हो ।

laxmi

यस अघि राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी निर्देशिकाको मस्यौदानै तयार गरी चालू पुँजीको २० प्रतिशतमात्रै कर्जा दिन पाउने गरी सरोकारवाला निकायसँग सुझाव माग गरेको थियो । राष्ट्र बैंकले उक्त मस्यौदा जारी गरेसँगै निजी क्षेत्र सोको विरोधमा उत्रिएका थिए । उनीहरुले चालू पुँजी कर्जालाई घटाएमा सम्पूर्ण व्यापार व्यवसाय ठप्प हुने भन्दै उक्त कर्जाको सीमालाई यथास्थितीमै राख्न राष्ट्र बैंक समक्ष आफ्ना मागहरु पनि राखेका थिए । साथै सो सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले पनि निजी क्षेत्रको विरोधप्रति आफ्नो ध्याकर्षण भएको बताएका थिए । साथै उनले विभिन्न कार्यक्रममा निजी क्षेत्रलाई चालू पुँजी कर्जाको सम्बन्धमा आफ्नो वास्तविक राय राख्न सुझाव दिँदै उक्त सुझाव सम्बोधन गर्न तत्पर रहेको बताएका थिए ।

तर पछिल्लो समय चालू पुँजी कर्जाकै कारण कतिपय कर्जाहरु दुरुपयोग भएको र सोही आधारमा नेपालमा अमिअभि ट्रेडिङ, अलायन्स डिस्ट्रिब्युटर्स, ग्रीनलाइन, ग्रीनलाईन टुलगायतका कम्पनी खोलेर मदिरा आयात तथा विक्री गर्दै आएका अग्रवाल दाजुभाईले बैंकबाट अर्बौं रुपैयाँ कर्जा लिएर भाग्न सफल भएको राष्ट्र बैंकको निष्कर्ष छ ।

अहिले मस्यौदा माथि सुझाव माग्ने क्रम जारी रहेपनि अग्रवाल दाजुभाईले बैंकको अर्बौंं रुपैयाँ कर्जा लिएर भागेसँगै चालू पुँजी कर्जामा कडाई गर्नुपर्ने बाध्यता देखिएको नेपाल राष्ट्र बैंकका बैंक सुपरिभिजन विभागका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । ‘यदि चालू पुँजी कर्जामा कडाई भएको भए मदिरा कारोबारीले बैंकबाट यति ठूलो कर्जा लिएर भाग्न सफल हुने थिएनन्,’ उनले भने, ‘यहि घटना हेर्ने हो भने पनि हालको चालू पुँजी कर्जाको सीमालाई घटाउनु जरुरी छ ।’

मदिरा कारोबारी अग्रवाल दाजुभाई नेपालका विभिन्न ५ वाणिज्य बैंकबाट १ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएर लिएर भागेका छन् । उनीहरुले कतिपय कर्जा धितोमा लिए पनि धेरैजसो हाईपोथेटिकल कर्जा रहेको छ । विशेषगरी उनीहरुले मदिरा स्टकको आधारमा बैंकबाट ठूलो मात्रामा कर्जा लिएका थिए । हाल बैंकहरुले अग्रवाल दाजुभाईसँग १ अर्ब रुपैयाँभन्दा बढी कर्जा उठाउनुपर्ने देखिएपनि त्यसको ५० देखि ६० प्रतिशतमात्र कर्जा असुली हुने सम्बद्ध स्रोतले जानकारी दिएको छ । यस सम्बन्धमा पनि राष्ट्र बैंकले सम्बन्धित बैंकहरुसँग विस्तृत विवरण माग गरेको छ । जस अनुसार केही बैंकले धितो र स्टकको आधारमा कर्जा दिए पनि कतिपय बैंकले धितोभन्दा पनि स्टकको आधारमा करोडौं रुपैयाँ कर्जा दिएको भेटिएको छ । साथै भोलीका दिनमा बैंकहरु सुरक्षित हुनका लागि चालू पुँजी कर्जामा कडाई गर्नुपर्ने बाध्यता रहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL