Logo

बैंकबाट निक्षेप बाहिरिने क्रम बढ्दो, एक हप्तामा ७ अर्बले निक्षेप घट्दा ७ अर्बले बढ्यो कर्जा

बैंकबाट निक्षेप बाहिरिने क्रम बढ्दो, एक हप्तामा ७ अर्बले निक्षेप घट्दा ७ अर्बले बढ्यो कर्जा



काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा बैंकबाट निक्षेप बाहिरिने क्रम बढेको छ । नेपालका बाणिज्य बैंकहरुमा कात्तिक ३० गतेसम्म ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा अन्तिम हप्ता अर्थात मंसिर ३ गतेसम्म आईपुग्दा उक्त निक्षेप ७ अर्ब रुपैयाँले घट्दै ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ ।

पछिल्लो समय देशमा आयात बढ्ने तर देशभित्र भित्रने रेमिटान्समा गिरावट आउँदा बैंकहरुको निक्षेप घट्ने क्रम जारी रहेको छ । विशेषगरी बैंकको निक्षेपको स्रोतहरुमध्ये रेमिटान्समा आएको गिरावट, सरकारी खर्चमा सुस्तता, कोरोनाको कारण पर्यटन क्षेत्रमा आएको मन्दी जस्ता कारणले बैंकहरुले निक्षेप संकलन गर्न सकेका छैनन् । जसको असर निक्षेप संकलनमा देखिएको छ भने देशमा आयात उच्च हुँदा बैंकबाट निक्षेप बाहिरिन थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

बैंकहरुले संकलन गर्ने निक्षेप घटेपनि कर्जा प्रबाह भने बढ्दो छ । पछिल्लो एक हप्ताको अबधिमा नेपालका बाणिज्य बैंकहरुबाट ७ अर्ब कर्जा प्रबाह भएको छ । तरलता अभाव भएको भन्दै बैंकहरुबाट कर्जा प्रबाह रोकिएको भने पनि तथ्याङ्कमा भने निरन्तर रुपमा बढिरहेको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दैै सीडी अनुपात ९० प्रतिशत तोकिदिएको थियो ।

तर, समग्र बाणिज्य बैंकहरुको सीडी अनुपात बढेर ९० दशमलव ५७ प्रतिशत पुगिसकेको छ । सो अबधिसम्म आईपुग्दा बाणिज्य बैंकहरुले ४० खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । बैंकहरुले निक्षेप संकलन नगर्ने तर नाफा आर्जनका लागि कर्जा मात्रै विस्तार गरिरहेका नीतिका कारण पछिल्लो समय नियामक निकायले तोकेको भन्दा सीडी अनुपात बढि हुन पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL