Logo

स्वीकृत भएको कर्जा समेत रिलिज गर्न नसकेपछि हात उठाउँदै बैंक, ४ महिनामा ६३ अर्ब निक्षेप संकलन गर्दा ३४४ अर्ब कर्जा प्रबाह

स्वीकृत भएको कर्जा समेत रिलिज गर्न नसकेपछि हात उठाउँदै बैंक, ४ महिनामा ६३ अर्ब निक्षेप संकलन गर्दा ३४४ अर्ब कर्जा प्रबाह



काठमाडौं । पछिल्लो समय तरलता (लगानी योग्य पुँजी) संकट बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरु कर्जा प्रबाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । तरलता संकट गहिरिँदै गएपछि हाल बैंकहरु पुराना कर्जा उठाउन ऋणीहरुलाई दैनिक जसो ताकेता गर्ने र एक अर्काबीच निक्षेप तानातानमा केन्द्रित हुन थालेका छन् ।

laxmi

केही समययता बैंकहरुले नयाँ कर्जा प्रबाहलाई रोकेर ठप्पजस्तै बनाएका छन् भने यस अघि स्वीकृत भएर बसेका टर्म तथा ओडी लगायतका कर्जाहरुमा समेत पैसा रिलिज गर्न नसक्ने अवस्थामा पुगेका छन् । ‘हाल बैंकहरुले स्वीकृत भएको टर्म लोन समेत भनेको समयमा रिलिज गर्न सकेका छैनन्,’ एक बैंकका ऋणीले भने, ‘१० करोड रुपैयाँको कर्जा स्वीकृत गराएर बसेको अवस्थामा १ करोड रुपैयाँ रिलिज गरिदिनु भन्दा पनि बैंकहरुले अहिले पैसा छैन भन्दै आएका छन् ।’ साथै बैंकहरुमा नयाँ कर्जाको माग गर्दा उनीहरुले फाइलनै अघि बढाउन नमानेको समेत उनको भनाई थियो । पछिल्लो समय बैंकहरुले कर्जा प्रबाह भन्दा पनि ऋणीहरुसँगै निक्षेप राखिदिनका लागि आग्रह गर्दै आएका छन् ।

यता राष्ट्र बैंकले भने बैंकहरुले पहिला धेरै कर्जा प्रबाह गरेका कारण अहिले तरलता संकट गहिरिँदै गएको बताएको छ । बैंकहरु निक्षेप संकलनको तुलनामा कर्जा प्रबाह आवश्यकभन्दा बढी गर्दा उक्त समस्या आएको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने पनि बैंक तथा वित्तीय संस्थाले करिब ४ महिनाको अबधिमा ३ खर्ब ४४ अर्ब कर्जा प्रबाह गर्दा ६३ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । उक्त तथ्याङ्कले बैंकहरु निक्षेप संकलन भन्दा पनि कर्जा प्रबाहमा एग्रेसिभ भएको देखिन्छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए । तर कात्तिक २२ गते सम्म आईपुग्दा कर्जा प्रबाहलाई एग्रेसिभ रुपमा वृद्धि गर्दै ४५ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएका छन् । तर कर्जा प्रबाहको तुलनामा निक्षेप संकलन भने ज्यादै न्यून रहेको छ । बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्ममा कुल ४७ खर्ब ४० अर्ब निक्षेप संकलन गरेका थिए । तर कात्तिक २२ गतेसम्म आईपुग्दा निक्षेपलाई ६३ अर्ब रुपैयाँले मात्र बढाउँदै ४८ खर्ब ३ अर्ब रुपैयाँ मात्र पुर्याएका छन् ।

पछिल्लो समय निक्षेप बढ्ने स्रोत नहुँदा अहिले बैंकिङ क्षेत्रमा तरलता संकट गहिरिँदै गएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी बताउँछन् । ‘बैंकको निक्षेप बढ्ने स्रोत भनेको सरकारी खर्च, रेमिटान्स, निर्यातबाट हुने आम्दानी र पर्यटनबाट हुने आम्दानी हो,’ उनले भने, ‘अहिले ती सबै क्षेत्रमा असर परेको छ जसका कारण बैंकहरुले निक्षेप बढाउन सकेका छैनन् ।’ बैंकको निक्षेप संकलन अन्य क्षेत्रसँग आश्रित रहने र त्यसता आश्रित क्षेत्र धरासायी हुँदा थप समस्या उत्पन्न भएको उनको तर्क छ । तर पछिल्लो समय बैंकहरु निक्षेप संकलन ज्यादै न्यून भएपनि कर्जाको माग भने एकदमै उच्च रहेको उनले जानकारी दिए ।

कतिपय बैंकरहरुले भने राष्ट्र बैंकले सीसीडीको मौजुदा व्यवस्था खारेज गर्दै ९० प्रतिशतको सीडीको नयाँ व्यवस्था लागू गर्दा बजारमा तरलता संकट देखिएको आरोप लगाउँदै आएका छन् । राष्ट्र बैंककै नीतिका कारण एकैपट धेरैओटा बैंकहरु थप कर्जा प्रबाह गर्न नसक्ने अवस्थाको पुगेको बैंकहरुको तर्क रहेको छ ।

अन्तरराष्ट्रिय बजारमा भएको कच्च तेल तथा अन्य कच्चा पदार्थको मुल्यमा भएको वृद्धिका कारण आयात उच्च बढ्न पुगेको छ । परिमाण कम भएपनि मुल्य बढ्दा त्यसबापट देशबाट ठूलो धनराशी आयातमा खर्च हुँदै आएको छ । जसका कारण देशको सोधनान्तर घाटा दैनिक रुपमा चुलिँदै गएको छ भने विदेशी विनिमय संचितीमा समेत गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL