Logo

१३ वटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

१३ वटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?



काठमाडौं । हालसम्म १२ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

laxmi

हालसम्म हिमालय, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, सिटिजन्स, नेपाल बैंक, सिद्धार्थ, नेपाल बंगलादेश, एनआइसी एसिया र बैंक अफ काठमाण्डुले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ ।

लाभांश प्रस्ताव गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले शेयरधनीलाई कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।

बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीको हातमा लाभांश पर्नेछ । विगतका वर्षमा केही वाणिज्य बैंकले दसैँअघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन् ।

कुन बैंकको कति ?

एनआईसी एशिया बैंकद्वारा १५ प्रतिशत बोनस लाभांश प्रस्ताव

एनआईसी एशिया बैंक लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५% बोनस शेयर र ०.७८९४७% नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५.७८९४७% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको बैठकले आव. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् १ अर्ब ७३ करोड ४६ लाख ८ सय ५ रुपैयाँ बराबरको बोनस शेयर तथा ०.७८९४७% अर्थात् ९ करोड १२ लाख ९४ हजार ७ सय ७९ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।

बैंक अफ काठमाण्डूले १४ % लाभांश दिने

बैंक अफ काठमाण्डूले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंकले गर्यो १५ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले लगानीकर्ताका लागि १५ प्रतिशत लांभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७–७८ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नेपाल बैंक लिमिटेडले १७ प्रतिशत लाभांश दिने

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैैंकले बोनस सेयर र नगद लाभांश गरी चुक्ता पुँजीको १७ प्रतिशत बोनस दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
हाल १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी बोनस शेयर वितरणपश्चात १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ।

ग्लोबल आईएमई बैंकले १३.५० प्रतिशत लाभांश दिने

वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्षमा बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरी अधिकतम १६ प्रतिशत लाभांश वितरण गरेको थियो । तर, यसपटक बैंकले गत वर्षको तुलनामा २.५० प्रतिशतले नै लाभांश घटाएको छ । हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीबाट लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख नाघ्नेछ । गत आर्थिक वर्षमा बैंकले खुद ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल बङ्गलादेश बैंकद्धारा १५.५० प्रतिशत लाभांश प्रस्ताव

नेपाल बङ्गलादेश बैंकले यस वर्ष कुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज २४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले १३ प्रतिशत लाभांस पाउने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना लगानीकर्ताहरुलाई १३ दशमलव ०६ प्रतिशत लाभांस दिने भएको छ । संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट हालको चुक्तापूँजीको १३ प्रतिशत लाभांस घोषणा गरेको हो । बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ३ दशमलव ०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कुमारी बैंकको ६ प्रतिशत मात्र बोनस

कुमारी बैंकले आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव गरेको छ । बैंकले मुनाफाबाट ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । असोज ११ गते बसेको संचालक समितिको बैठकले बैंकको चुक्तापुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैंकले कम दरमा बोनस सेयर घोषणा गरेसँगै लगानीकर्ता निराश भएका छन् ।बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३.०८७ नगद र १२.९१३ बोनस सेयर) स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने १,६२४,०५०,८९१.१० बराबरको बोनस सेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७.२४ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी बैंकले कुल २०१,२३,०७,६९८.३४ वितरण गर्ने जनाएको छ । हाल बैंकको चुक्तापुँजी १२ अर्ब ५७ करोड रहेको छ ।

सानिमा बैंकले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने

सानिमा बैंकले आफ्ना सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । हाल बैंकको चुक्तापुँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।

हिमालयन बैंकको २६ प्रतिशत लाभांश प्रस्ताव

हिमालयन बैंकले २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष बैंकले विगत तीन वर्षपछिकै उच्च लाभांश वितरण गर्न लागेको हो । गत वर्ष १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १२ प्रतिशत नगद लाभांश गरी कुल २२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश

माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक बर्ष २०७७/७८को लाभांश घोषणा गरेको छ । बुधबार बसेको संचालक समितिले गत आर्थिक बर्ष (२०७७/७८) को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत अर्थात १,२६७,४३२,६३२ लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैंया संचित छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

नेपाल इन्भेष्टमेन्ट बैंकले पूर्वघोषित लाभांश संशोधन गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गरेको संसोधन अनुसार बोनस सेयर पहिला भन्दा १ दशमलव ३७१ प्रतिशतले बढेको छ । अब गत वर्षको नाफाबाट १२.६११५ बोनस सेयर र ३.३८९५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसअघि बैंकले ११.२४५ बोनस सेयर ४.७६५ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । अब बैंकले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ५५ करोड ९ लाख ६० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष इन्भेष्टमेन्टले १३.५ बोनस सेयर र ५.५५ नगद लाभांश गरी १८.५५ लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL