काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव भएका ज्ञवालीलाई आषाढ १ गते देखि लागु हुने गरि नियुक्त गरेको हो । सुदेश खालिङको राजिनामा पछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा ज्ञवालीलाई नियुक्त गरिएको हो ।
शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सक्नु भएको छ । बैंकमा सहायक प्रबन्धक बाट बैंकिंग पेशा शुरु गर्नु भएका ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्य सम्पादन गर्नुका साथै नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पुर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभवसमेत रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा ए.टि.एम. र १०९ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।
यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।