Logo

सडक विस्तारसँगै कृषिको संभावना बढ्यो, आर्थिक एजेण्डालाई प्राथमिकता दिन अर्थमन्त्रीको आग्रह

सडक विस्तारसँगै कृषिको संभावना बढ्यो, आर्थिक एजेण्डालाई प्राथमिकता दिन अर्थमन्त्रीको आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० बैशाख, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले स्वदेशमै रोजगारी सिर्जना गर्न, गरिवी निवारण गर्न, निर्यात बढाई व्यापारघाटालाई कम गरी समग्र आर्थिक समृद्धि हासिल गर्न आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । ‘गाउँ÷गाउँमा सडक पुगिसकेकोले कृषि तथा फलफूल उतपादन र पशुपालनबाट युवाहरुले प्रशस्त रोजगारी पाउने र त्यस्ता युवाहरुलाई सरकारले जस्तोसुकै सहयोग गर्नेछ,’ चितवनको मुग्लिन बजारमा आयोजित पहाडी गाविसहरुको विकास विषयक अन्तरसम्वाद कार्यक्रममा उनले भने । हिजका दिनमा उत्पादन गरेपनि बजारसम्म पु¥याउन कठिन भएको बताउँदै अबका दिनमा बजारको सहज पहुँच पुग्ने उनको भनाई थियो । साथै, कृषिलाई प्रोत्साहन गर्न सरकारले सोही अनुसार मल बीउ लगायत सस्तो ब्याजदरमा कर्जाको व्यवस्था गरेको उनले जानकारी दिए ।

कृषि क्षेत्रमा चालु आर्थिक बर्षको बजेटमा इतिहासमै सबैभन्दा बढी सुविधाहरु घोषणा गरिएको बताउँदै कृषि उत्पादन, भण्डारण, कोल्ड स्टोरेज, मिल्किङ मेशिन, तथा चिलिङ भ्यान, कृषि उपकरणको आयातमा भन्सार छुटको व्यवस्था गरेको जानकारी दिए । आवश्यक परेको अवस्थामा अझै थप छुट दिन पनि सरकार तयार रहेको र त्यस्ता सुविधाहरु लिनका लागि युवाहरुले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।

finance ministr

 

समृद्धिका लागि आर्थिक एजेण्डाले पहिलो प्राथमिकता पाउनुपर्नेमा जोड दिदै विकसित मुलुकहरु आर्थिक एजेण्डालाई उच्च प्राथमिकता दिएकोले समृद्धितर्फ गएको बताए । ‘आर्थिक विकासका लागि गाउँ÷गाउँबाट जागरण आउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘तसर्थ अहिले विदेशमा गएका युवाहरुले स्वदेश फर्किएपछि कृषि तथा पशुपालनमा नयाँ आयाम ल्याउन थालेका छन ।’ कृषि क्षेत्रमा क्रान्ति ल्याउन किसान नै अघि सर्नुपर्ने बताउँदै त्यसका लागि आवश्यक पूर्वाधारको काम भने सरकारले नै गरिदिने समेत उनले बताए । शिक्षामा धेरै पैसा खर्च भैरहको बताउदै आगामी दिनमा व्यवसायमूखी शिक्षा नीति अवलम्बन गरिने उनको भनाइ थियो ।

आगामी असारसम्ममा संविधान जारी हुन सक्ने संभावना बढेको चर्चा गर्दै संविधानका मूल मुद्दामा सहमति भैसकेको जानकारी दिए । ‘तर, अनुसूचीमा राखेपनि हुने सीमांकन र नक्शांकन तथा नामांकनका विषयहरुलाई अघि सारेर केही पार्टीहरुले बखेडा झिकिरहेका छन,’ उनले भने, ‘जसले गर्दा संविधानलाई समयमै जारी गर्नेमा ढिलाई भैरहेको छ ।’

ramsharan-mahat1

विकासविद् देवराज चालिसेले आर्थिक सुधार कार्यक्रम लागू गरी अर्थतन्त्रको आकारलाई १६ गुणाले बढाउनेमा अर्थमन्त्री डा महतकै महत्वपूर्ण भूमिका रहेको चर्चा देशको कुना कुनाबाट उनले अघि सारेको आर्थिक एजेण्डाको पक्षमा आवाज उठाइनु पर्ने बताए । अर्थतन्त्रको आकार हजारौं गुणाले बढेमा कोही पनि गरिव नहुने भएकोले पनि आर्थिक एजेण्डालाई सबैले उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा सभासद उमेश श्रेष्ठले व्यवसायमूखी शिक्षा कार्यान्वयमा ल्याउनु पर्ने जोड दिदै आफूले चितवनका पहाडी गाविसहरुले उठाएका मुद्दाहरुलाई कार्यान्वयनमा ल्याउन पूर्ण सहयोग गर्ने दृढता व्यक्त गरे । त्यस्तै शिक्षाविद् डा तीर्थ खनियाले यस क्षेत्रमा आयमूलक कार्यक्रमहरु आयोजना गरिनुपर्ने र त्यस्ता कार्यक्रमहरु कृषि, पशुपालन र पर्यटनसँग सम्वन्धित क्षेत्र रहेको स्पष्ट पारे । कार्यक्रममा त्यस क्षेत्रका सभासद कृष्णभक्त पोखरेल, स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, स्टेप नेपालका अध्यक्ष रामबहादुर लामा लगायतका वक्ताहरुले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL