Logo

अर्थमन्त्रीले भने, ‘स्थानीय सरकार सडक केन्द्रित हुँदा समस्या, आधुनिक कृषिमा लाग्न आग्रह’

अर्थमन्त्रीले भने, ‘स्थानीय सरकार सडक केन्द्रित हुँदा समस्या, आधुनिक कृषिमा लाग्न आग्रह’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषिमा जोखिम भएकै कारण कृषिलाई राज्यले संरक्षण गर्नु परेको बताएका छन । अर्थमन्त्री खतिवडाले साना किसान सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

नेपालको भौगोलिक अवस्थाले गर्दा माटो भू–क्षय हुने, कृषि सामग्री, रसायनीक मल, भूमिको गुणस्तरमा क्षयीकरण हुँदै जाने, पानीको मुहान सुक्ने भई व्यवस्थित नहुने लगायतले गर्दा कृषिमा सरकारले संरक्षण गर्नु पर्ने बताएका हुन ।

नेपालमा बाली लगाउनेदेखि भित्रयाउनेसम्म पनि जोखिम धेरै रहेको जानकारी दिँदै सुरक्षित भण्डारणका अभावले गर्दा पनि उपभोक्तासम्म पुग्दा सामानको गुणस्तर खस्कने गरेको उनका दाबी थियो । ‘अब जहाँ–जहाँ जोखिम व्यवस्थापन गर्न सकिन्छ, त्यहाँ–त्यहाँ काम गर्ने हो सोही अनुरुप सरकारले अभियान सुरु गरेको छ,’ उनले भने, ‘मौसम हामीले परिवर्तन गर्न सक्दैनौं अन्य सुधारका काम गरिनेछ ।’

पछिल्लो अवस्थामा कृषकहरुले बीमा गर्न थालिएको छ । माटोको गुणस्तर सुधार्ने काम भएका छन् । यसैगरी खाद्यान्न उत्पादनमा मूल्य तोक्ने काम गरिएको छ । पछिल्लो समय कृषि उत्पादनमा लागत बढेको बताउँदै सोही अनुरुप उत्पादनमा अनुदानका प्रक्रियाहरु अघि बढाइएको उनले जानकारी दिए ।

कृषि मन्त्रालयका कार्यक्रमहरुमा सबै भन्दा बढी अनुदान भए पनि कृषकले अनुदान नपाएको गुनासो छ, उनले भने ‘बारम्बार हाम्रो अनुदान कहाँ जान्छ भन्ने प्रश्न उठने गरेको छ । त्यो अनुदान किसानको घरदैलोमा अझै पुगेका छैनन यो निकै चिन्ताको विषय बनेको छ ।’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले स्थानीय सरकार सडक केन्द्रित भएको भन्दै त्यसो नगर्न निर्देशन दिएका छन । ‘तपाईहरुले सडक मात्र नहेर्नु, कृषकले राम्रो सामान उत्पादन नगर्ने हो भने त्यो सडकले पनि प्रतिफल दिँदैन,’ मन्त्री खतिवडाले स्थानीय सरकारका जनप्रतिनिधिलाई आग्रह गर्दै भने, ‘त्यसो हुनाले स्वास्थ्य, सेवा, कृषि, भौतिक पूर्वाधारको क्षेत्रलाई सन्तुलित ढंगले बजेट बिनियोजन गर्नु भन्ने हाम्रो आग्रह हो ।’

अहिले उत्पादन भएको वस्तु मंहगो भएको छ । उत्पादन भएको वस्तुको लागत बढी भएर किसान मर्कामा परिरहेका छन । यो बीचमा के समस्या भएको हो । समस्या उत्पादकत्वका हो वा हामीले प्रयोग गर्ने सामाग्र वा प्रविधि के को हो ?

प्रति लिटर ७०÷८० रुपैयाँसम्म पनि दुध बेच्दा कृषहरुले नाफा छैन भनी रहेका छन त्यही दुध किनेर खाने स्थिति हुँदैन । दैनिक आधा लिटर दुध किनेर खान सक्ने हैसियत राख्दैन भने उसको क्रय शक्ति पनि बढाउन आवश्यक छ ।

सरकारले मूल्य वृद्धिलाई एउटा सीमामा राख्ने र अर्को न्यूनतम ज्याला बढाउने योजना बनाईरहेको समेत मन्त्री खतिवडाले जानकारी दिएका छन । ज्याला बढाएपछि उसले उत्पादन भएको वस्तुमा केही तिर्न सक्छ । हामीले अब क्रयशक्ति बढाउनै पर्छ । किनेर खानेको क्षमता बढाउने पनि आवश्यक रहेको उनको भनाई रहेको थियो ।

‘अन्तरराष्ट्रिय बजारमा ४७÷४८ रुपैयाँ प्रतिकेजी पर्ने रासायनीक मल हामीले १६ रुपैयाँमा बेचेको छौं,’ उनले भने, ‘हामीले कृषकलाई दिनेभन्दा तीन गुणा बढी महंगो छ । अहिले सरकारले न्यून मूल्यमा किसानलाई दिइरहेको छ । यो कहाँ प्रयोग भएको छ ? साथै दुग्ध उत्पादन गर्ने कृषकलाई समेत अनुदान दिएको भन्दै मन्त्री खतिवडाले स्थानीय तहले गाई बस्तुलाई सुत्केरी भत्ता समेत दिन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL