काठमाडौं । लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका दुग्ध उत्पादक किसानहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्। बुधबार सरकार र दुग्ध सम्बन्धी संघसंस्थाहरूबीच भएको वार्तापछि यस्तो सहमति भएको हो।
वार्तामा सरकारले कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएको बताइएको छ। केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ महासंघ, नेपाल डेरी एसोसिएसनलगायत संस्थाहरू किसानको अर्बौं रुपैयाँ बराबरको बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलनरत थिए।
सहमतिअनुसार २०८२ असार मसान्तसम्मको बाँकी बक्यौता ५ असोजभित्र, साउन महिनासम्मको बक्यौता ३० असोजभित्र, र भदौ महिनासम्मको बक्यौता कात्तिक मसान्तभित्र चुक्ता गरिनेछ।
त्यस्तै, दुग्ध सहकारी संघसंस्थाबाट संकलन भइरहेको दूधको परिमाणमा कुनै कटौती नगरी निरन्तर संकलन गर्ने र सरकारले तोकेको न्यूनतम खरिद मूल्य देशभरका सबै उद्योगहरूले अनिवार्य रूपमा लागू गर्ने सहमति पनि भएको छ।