काठमाडौं । नेपाल बीमा प्राधिकरणले मिति २०८२ भाद्र १७ मा जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरूको वित्तीय स्रोतको लगानीलाई व्यवस्थित गर्न ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ। यो निर्देशनअनुसार बीमकहरूले आफ्नो लगानी नीति संचालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्नेछ। निर्देशनको उद्देश्य बीमकहरूलाई सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, लगानीको विविधीकरण गर्ने, सम्पत्ति र दायित्वको अवधि मिलाएर तरलता व्यवस्थापन गर्ने र आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने रहेको छ।
निर्देशनमा सरकारी सुरक्षणपत्र र नेपाल राष्ट्र बैंकबाट जारी ऋणपत्रमा लगानीमा कुनै बन्देज नहुने, कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्य र लगानी कम्पनीजस्ता क्षेत्रमा कूल लगानीको ५ प्रतिशतसम्म सहायक कम्पनीमा लगानी गर्न सकिने, तर सहायक कम्पनीको व्यवस्थापकीय भूमिकामा बीमकको संचालक समिति वा निजका परिवारका सदस्य संलग्न हुन नहुने उल्लेख छ। यस्तै, सहायक कम्पनीमा लगानी स्वीकृत भएको एक महिनाभित्र गर्नुपर्ने र सहायक कम्पनीले निष्काशन गर्ने सुरक्षणपत्रमा लगानी गर्न नपाइने व्यवस्था छ।
घरजग्गा लगानीको प्रत्येक तीन वर्षमा मूल्याङ्कन गर्नुपर्ने, दैनिक आधारमा लगानीको सीमा कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा नेपाल राष्ट्र बैंकले तोकेको पूँजीकोष कायम भएको हुनुपर्ने र अनुभवी कर्मचारीको नेतृत्वमा लगानी व्यवस्थापन इकाई स्थापना गर्नुपर्ने प्रावधान पनि निर्देशनमा समावेश छ। साथै, जीवन र लघुजीवन बीमकले प्रत्येक पोर्टफोलियोको कोष र आम्दानीको अलग व्यवस्थापन गर्नुपर्ने, मुद्दति निक्षेप प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने र प्रत्येक त्रैमासको सात दिनभित्र लगानीको विवरण आइआरएमआइएस पोर्टलमार्फत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।