काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले शाखा घटाउने पहल थालेका छन् । सोका लागि बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा निवेदन दिएका छन् । केन्द्रीय बैंकले शाखा व्यवस्थित गर्ने नीति लिएसँगै केन्द्रीय बैंकमा शाखा बन्द अनुमतिको लागि बैंक तथा वित्तीय संस्थामा निवेदन दिन थालेका हुन् ।
केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले केही बैंक तथा वित्तीय संस्थाले शाखा बन्दको लागि केन्द्रीय बैंकमा निवेदन दिएको जानकारी दिए । अहिले शाखा बन्दको लागि दिएको निवेदनमाथि अध्ययन भइरहेको उनले बताए । ‘शाखा बन्दको लागि केही बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिएका छन्’ उनले भने, ‘उक्त आवेदनमाथि अहिले केन्द्रीय बैंकले अध्ययन गरिरहेको छ ।’ अध्ययन गरेर शाखा बन्द गर्न आवश्यक रहेको ठाउँको शाखा बन्द गर्न स्वीकृति दिने उनले बताए ।
शाखा बन्द गर्नको लागि पहिले पनि बैंक तथा वित्तीय संस्थाले अनुमति माग्दै आएका थिए । तथापि, यसअघि शाखा बन्द गर्ने पक्षमा केन्द्रीय बैंक नहुँदा स्वीकृति पाउन सकेका थिएनन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमार्फ पनि बैंक, वित्तीय संस्थाको शाखा विस्तारको नीति परिवर्तन गर्ने घोषणा गरेसँगै शाखा बन्द गर्नेमा केन्द्रीय बैंक लचक बनेको हो । केन्द्रीय बैंकको निर्देशनअनुसार वित्तीय संस्था नयाँ शाखा खोल्न, स्थानान्तरण गर्न र बन्द गर्न राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ । अनुमति दिनुअघि राष्ट्र बैंकले खोल्ने वा बन्द गर्ने विषयमा निवेदन परेपछि औचित्य मूल्यांकन गर्ने प्रावधान छ । सोही प्रावधानअनुसार अहिले शाखा बन्दको स्वीकृतिको लागि केन्द्रीय बैंकले अध्ययन गरिरहेको हो ।
‘इजाजतपत्रप्राप्त संस्थाले यस बैंकको पूर्व स्वीकृति बिना शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न पाउने छैनन्’ बैंक तथा वित्तीय संस्थाद्धारा जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ । विशेषत विद्युतीय कारोबारमा बढ्दो आकर्षण र अधिकांश काम डिजिटल मध्यमबाट नै हुने भएसँगै शाखालाई आवश्यक परेको खण्डमा मर्जर या बन्द गर्न दिन आवश्यक रहेको सरोकारवाला निकायहरुले बताउँदै आएका छन् । यता, बैंकहरुले पनि शाखाको लागत धान्न नसकेको भन्दै शाखा बन्द गर्ने अनुमति दिन केन्द्रीय बैंकसँग बारम्बार अनुरोध गर्दै आएका छन् ।
यता, बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले केन्द्रीय बैंकलाई दिएको सुझाव प्रतिवेदनमा पनि बैंकहरुलाई शाखा बन्द गर्न दिनुपर्ने उल्लेख छ । यसले पनि केन्द्रीय बैंकलाई शाखा विस्तार नीतिलाई प्रोत्साहन गर्नेभन्दा पनि बैंकहरुले चाहेको खण्डमा शाखा बन्द गर्न पाउने नीतिलाई अवलम्बन गर्न दबाब र्सिजना भएको छ ।
शाखा विस्तारमा छैन उत्साह
केन्द्रीय बैंकले शाखा विस्तारको नीतिलाई प्रोत्साहन गर्दै २०७४ असारभित्र ७५३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्ने लक्ष्य राखेर सोहीअनुसार बैंकहरुलाई निर्देशन दिएको थियो । तर, भौतिक कठिनाइको कारण केन्द्रीय बैंकले निर्धारण गरेको समयमा नै सबै स्थानिय तहमा बैंक शाखा पुग्न भने नसेकेको अवस्था थियो । गत माघमा साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा खोलेपछि राष्ट्र बैंकले नै सबै स्थानीय तहमा बैंकको शाखा पुगेका छन् ।
राष्ट्र बैंकले बैंकहरुलाई शाखा सञ्चालनमा अनुदान दिने, निब्र्याजी रकम प्रदान गर्ने, स्प्रेडदरलगायत केही नियामकीय प्रावधानमा छुट दिंदै आएको छ । केन्द्रीय बैंकले शाखा विस्तारको नीतिलाई प्रोत्साहन गरेपनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारमा उत्साह भने देखिएको छैन । ३ वर्षको अवधिमा २० वाणिज्य बैंकले ५० वटा मात्रै शाखा विस्तार गरेका छन् । केन्द्रीय बैंकको असार मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकको मात्रै २०८२ असार मसान्तसम्म मुलुकभर ५ हजार ९९ वटा मात्रै शाखा रहेका छन् । २०८० को असार मसान्तसम्म वाणिज्य बैंकहरुको ५ हजार ४९ वटा शाखाहरु सञ्चालनमा थिए ।
त्यस्तै, २०८२ असार मसान्तसम्ममा १७ विकास बैंकको १ हजार १३२ शाखा र १७ वटै फाइनान्स कम्पनीको २९१ वटा शाखा रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । शहरी क्षेत्रमा एकै घरमा २÷३ वटासम्म बैंक तथा वित्तीय संस्थाको शाखा देखिन्छ । यो अस्वभाविक रहेको केन्द्रीय बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले नै सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएका छन् । यता, वर्तमान अवस्थामा भने शाखा विस्तारलाई प्रोत्साहन गर्नुभन्दा पनि अनावश्यक शाखा बन्द गर्न दिनु उचित विकल्प रहेको जानकारहरु बताउँछन् ।