Logo

गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड, भन्छन् विश्व बजारमा पुर्याउन सकिन्छ

गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड, भन्छन् विश्व बजारमा पुर्याउन सकिन्छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल डेरी एसोसएसनद्वारा आज यहाँ आयोजित खीर प्रवद्र्धन कार्यक्रममा उनले कतिपय डेरी उत्पादन विदेशबाट आयात गर्नु परेको छ, अब स्वदेशी उद्योगले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

कृषि प्रवद्र्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउनुपर्ने बताए । महासङ्घको अगुवाइमा सरकारले निजी क्षेत्र–मैत्री कानुन निर्माण गरेको जनाउँदै उहाँले कतिपय कानुन कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले खुलेर व्यवसाय गर्न नसकेको गुनासो गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा पशुपति ढुङ्गानाले कृषि तथा पशुपालक किसानका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

एसोसिएनका अध्यक्ष प्रल्हाद दाहालले साना, मझौला र ठूला डेरी उद्योगका हकहितका बारेमा संस्थाले काम गर्दै आएको बताए । साउन १५ गते खीर खाने दिन देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने एसोसिएसनको अनुमान छ ।

पछिल्लो समय देशमा आन्तरिक उत्पादन र व्यवसायीकरणको अवस्था राम्रो भए तापनि हाल पनि अन्र्तराष्ट्रियस्तरको शुद्धता र गुणस्तरीय युक्त डेरी प्रोडक्टस् ठूलो मात्रामा आयात हुनु स्थानीय किसान तथा डेरी व्यवसायको लागि दुःखद पक्ष भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति डीबी खड्का, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादव, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्यहरू तथा मातहतका वस्तुगत संघका अध्यक्षहरूले श्रावण १५ खीर खाने दिन खीर दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्