Logo

कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी



काठमाडौं । सुर्खेतको गुर्भाकोट–३ टिमुरेका अर्जुनकुमार ओली, ३८ वर्षका भए। पहिले घर चलाउन निकै गाह्रो थियो। जागिर खोज्दा-खोज्दा थाके, कतै पाएनन्। बारीमा सानोतिनो खेती गर्थे, तर त्यसले खर्च धान्न मुस्किल। पछि गाउँमै जडीबुटीको सानो व्यापार सुरु गरे। एकजना वनविज्ञले टिमुरखेतीको सम्भावना बताएपछि उनले यो कामलाई पेसा बनाउने सोचे।

‘हाम्रो गाउँमा पहिल्यैदेखि टिमुर थियो,’ अर्जुन भन्छन्, ‘तर यसलाई ठूलो स्तरमा गर्नुपर्छ भन्ने थाहा पाएपछि मैले सुरु गरेँ। फल पाउन केही वर्ष कुर्नुपर्‍यो, तर धैर्य गरेँ। जब टिमुरले कमाइ दिन थाल्यो, मलाई झन् हौसला आयो।’ टिमुरखेतीले उनको जिन्दगी नै बदलियो। तीन वर्षदेखि उनले राम्रो कमाइ गर्न थाले, घर चलाउन सजिलो भयो।

अहिले अर्जुनले ४३ रोपनीमा टिमुरखेती गर्छन्। ‘मसँग २,००० टिमुरका बोट छन्, जसमध्ये १,२०० ले फल दिन्छ, बाँकीले पनि फल्न थालेका छन्,’ उनले भने। उनले सालमा ३,००० किलो टिमुर बेच्छन्, जसबाट खर्च कटाएर २० लाख बचत हुन्छ। सुरुमा बजार पाउन गाह्रो थियो, तर उनले ‘न्यु हिमाल हर्बल एण्ड फुड सप्लायर्स’ खोलेर आफ्नो र अरू किसानको टिमुर काठमाडौंसम्म पठाउँछन्। अर्जुनले २२ जनालाई जागिर पनि दिएका छन्। ‘मेहनत गर्ने हो भने नेपालमै राम्रो कमाइ हुन्छ,’ उनी भन्छन्, ‘योजना बनाएर खेतीमा लाग्न युवालाई सुझाव दिन्छु।’

दैलेखको गुराँस–८ पाल्तेका उदयबहादुर खड्काले पनि १२ रोपनीमा टिमुरखेती गरेर सालमा ८ लाख कमाउँछन्। उनको ४०० बोट छन्। ‘पहिले त्यही बारीमा अरू खेती गर्थेँ, २-३ लाख पनि मुस्किलले कमाइ हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले टिमुरबाट ८ लाख कमाइ हुन्छ, जोखिम पनि कम छ।’ टिमुरको भाउ औसत ८५० रुपैयाँ किलो छ। सरकारले बजार र तालिममा सहयोग गरे अझ राम्रो हुने उनको भनाइ छ।

सल्यानको वन{Ig कुपिण्डे–१२ भदानेका दुर्गासिङ रोका, जो शारीरिक रूपमा अपाङ्ग छन्, उनले पनि टिमुरखेतीबाट जीवन बदले। वन डिभिजनको तालिमपछि उनले ८ रोपनीमा ३०० बोट लगाए। अहिले उनले सालमा ३-४ लाख कमाउँछन्। ‘पहिले घर-परिवार कसरी चलाउने भन्ने चिन्ता थियो,’ दुर्गा भन्छन्, ‘टिमुरखेतीले मेरो जीवन सजिलो बनायो। अब सबै बारीमा टिमुर लगाउने योजना छ।’ भदानेमा उनजस्तै १५ किसानले टिमुरखेती गरेर ५-७ लाख कमाउँछन्।

कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालिकोट र मुगुको तल्लो भागमा टिमुर राम्रो हुन्छ। १,२०० देखि २,५०० मिटर उचाइमा यो खेती फल्छ। टिमुर आयुर्वेदमा दाँत दुखाइ, ज्वरो, पेटको रोग र माछाको विषमा प्रयोग हुन्छ।

कर्णालीको टिमुर युरोपसम्म पुग्छ। ‘द अर्गानिक भ्याली’ले भारत, जापान, फ्रान्सलगायत देशमा टिमुर पठाउँछ। यो अर्गानिक र औषधीय भएकाले विदेशमा माग बढेको छ। युरोपमा प्रति किलो १२-१८ युरोमा बिक्छ।

कर्णालीका जंगलमा धेरै जडीबुटी छन्, तर राम्रो उपयोग भएको छैन। वातावरणविद् सुदीप ठकुरी भन्छन्, ‘टिमुर र अरू जडीबुटीको खेतीले आम्दानी र वातावरण दुवै जोगिन्छ।’ अर्का वातावरणविद् भूपेन्द्र शाही र टोपेन्द्र केसीले पनि सरकारले जडीबुटी खेतीमा जोड दिए रोजगारी र आम्दानी बढ्ने बताउँछन्।

कर्णालीबाट सालमा २,००० क्विन्टल टिमुर निर्यात हुन्छ। गत साल ३,८५,००० किलो टिमुर बाहिर गयो, जसबाट ३० करोड कमाइ भयो। तर, कर र विचौलियाका कारण धेरै टिमुर चोरी बाटोबाट भारत जान्छ। सरकारले ढुवानी र बजारमा सहज बनाए जडीबुटीबाट अझ धेरै कमाइ हुने विज्ञहरू बताउँछन्।

कर्णालीबाट यार्सागुम्बा, जटामसी, चिराइतो, अमला, सिलाजितलगायत ८२ प्रकारका जडीबुटी बाहिरिन्छ। गत साल जडीबुटीबाट ५ करोड २५ लाख राजस्व आयो। ‘जडीबुटीको प्रशोधन उद्योग र बजार व्यवस्थापन भए कर्णालीले धेरै कमाउन सक्थयो,’ वन निर्देशनालयका सूर्यप्रसाद शर्मा भन्छन्। रासस

प्रतिक्रिया दिनुहोस्