Logo

किसानको ८२ करोड भुक्तानी दिन निजी डेरीको आनाकानी, चितवनका किसान मर्कामा

किसानको ८२ करोड भुक्तानी दिन निजी डेरीको आनाकानी, चितवनका किसान मर्कामा



काठमाडौं । सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन् ।

laxmi

गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब ८२ करोड भुक्तानी नपाउँदा गाईभैसी पाल्न कठिन भएको किसानले बताएका हुन् । भरतपुर महानगरपालिका–१३ चम्फानगरका होमनाथ सुवेदी दूध बेचेको पैसा भुक्तानी नपाएपछि गाईभैँसीलाई के खुवाउने भन्ने समस्या उत्पन्न भएको बताउँछन् । स्थानीय उज्जवल दुग्ध उत्पादक संस्थाका अध्यक्षसमेत रहेका सुवेदीले आफूमात्र नभई संस्थामा आबद्ध सबैजसो किसान समस्यामा परेको बताए ।

‘विगत छ महिनादेखि यहाँका विभिन्न डेरीले करोडौँ रकम भुक्तानी नगर्दा किसानलाई दाना (चोक्कर) समेत दिन सकेका छैनौ । त्यसैले हामी निकै समस्यामा छौँ’, सुवेदीले भने ।

उनका अनुसार सो संस्थाले स्थानीय सुजल डेरीसँग ९५ लाख र अन्य संस्थाहरूसँग गरी १ करोड ५० हजारभन्दा बढी रकम भुक्तानी लिन बाँकी छ । ती संस्थाले नियमित दूध लिइरहे पनि पैसा दिन आनाकानी गरिरहेका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवन दूधमा आत्मनिर्भर भए पनि दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसान निराश भएका बताए । अहिले जिल्लामा रहेका दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान ९डिडिसी० र सुजल डेरीलगायत संस्थासँग ८२ करोडभन्दा बढी रकम भुक्तानी लिन बाँकी रहेको र अन्तिम पटक चैत २१ गतेसम्म भुक्तानी दिने गरी भएको सहमतिसमेत कार्यान्वयन नहुँदा गाईभैँसीपालक किसान पेसाबाट पलायन हुने अवस्था आएको उनको भनाइ छ ।

‘किसानले बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्था आइसकेको छ । अब चाँडै वक्यौता भुक्तानी नदिने हो भने धेरै किसान पेसाबाट नै पलायन हुने छन् । त्यसैले सहमति कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु’, बगालले भने ।

चितवनमा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ भने दैनिक एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । अहिले दूध नउठ्ने समस्या हटे पनि भुक्तानी नपाउने समस्या बढ्दै गएकाले तत्काल समस्या समाधान गर्न सरकारले पहलकदमी लिनुपर्ने स्थानीय किसानको आग्रह छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL