काठमाडौँ । तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो । जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागबानी विकास अधिकृत वीरेन्द्र धितालले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि चार हजार सात सय १७ मेट्रिक टन चामल अपुग छ ।
वार्षिक प्रतिव्यक्ति दैनिक शून्य दशमलव २५ केजीका दरले एक वर्षका लागि प्रतिव्यक्ति ९१ दशमलव २५ केजी चामल आवश्यक पर्दछ । तनहुँमा यस वर्ष २७ हजार दुई सय २० मेट्रिक टनमात्रै चामल उत्पादन भएको छ । जबकि वार्षिकरूपमा ३१ हजार नौ सय ३७ मेट्रिक टन चामल आवश्यक पर्दछ ।
उनले भने, “अहिलेको अवस्थामा उत्पादन भएको चामलले पुगिरहेको छैन । धान उत्पादन घटेसँगै चामल पनि अपुग भइरहेको छ ।” प्रतिव्यक्तिले प्रतिदिन दुई सय ग्राम खायो भने एक हजार सात सय ७० मेट्रिक टन बचत हुने तथ्याङ्कले देखाएको छ ।
धान उत्पादनमा आत्मनिर्भर हुनसके जिल्लामा चामल बढी हुने देखिएको छ । यसका लागि कार्यालयले चैतेधान प्रवर्द्धन कार्यक्रमलाई अगाडि बढाएको छ । हाल एक हजार आठ सय ९० हेक्टरमात्रै चैते धानखेती भइरहेकामा त्यसलाई दुई हजार चार सय हेक्टरमा विस्तार गर्ने लक्ष्य छ । “त्यसो हुँदा चैते धान उत्पादन वृद्धि भई चामलमा आत्मनिर्भर बन्न सकिन्छ । त्यतिबेला ६० मेट्रिक टन चामल बढी उत्पादन हुन्छ”, बागबानी विकास अधिकृत धितालले भने ।
वर्षे धान बिक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ । विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको छ । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस अवधिमा वर्षे धानखेती गर्ने क्षेत्रफल चार हजार २० हेक्टर क्षेत्रफल घटेको छ भने दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।
विसं २०६० सालमा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन चैत धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै हुने गरेको छ ।
यस अवधिमा चैते धानखेती गर्ने क्षेत्रफल एक हजार नौ सय १० हेक्टर क्षेत्रफल घटेको छ भने तीन हजार आठ सय ४२ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । विसं २०६० मा आठ हजार एक सय ९४ मेट्रिक टन धान उत्पादन भएकामा विसं २०७९ मा २५ मेट्रिक टनमात्रै धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा घैय्या धानखेती हुने गरेकामा अहिले १० हेक्टर क्षेत्रफलमा मात्रै उक्त खेती भइरहेको छ ।
यस अवधिमा घैय्या धानखेती गर्ने क्षेत्रफल तीन हजार आठ सय ९२ हेक्टरले घटेको छ भने आठ हजार एक सय ६९ मेट्रिक टन कमी आएको छ । कार्यालयले चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न लागेको छ । चैते धानतर्फ कृषकको आकर्षण बढाउन चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । यसका लागि कार्यालयले हाइब्रिड बीउ, हाते ट्रयाक्टर, धान उत्पादनमा प्रोत्साहन वितरणलगायतका कार्यक्रम ल्याएको छ ।
गत आव २०७९-८० मा कार्यालय चैते धान प्रवर्द्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आव २०८०-८१ मा त्यसलाई बढाएर रु एक करोड ५० लाख पुर्याइएको छ । गत आवमा चैते धान प्रवर्द्धन कार्यक्रममार्फत १० वटा समूहलाई दुई हजार पाँच सय केजी हाइब्रिड बीउ वितरण गरिएको थियो । त्यसका लागि रु ४३ लाख ५९ हजार खर्च भएको थियो । त्यस्तै १६ हजार १२ केजी उन्नत बीउ, २५ वटा हाते ट्रयाक्टर, ३४ वटा मिलका साथै धान उत्पादनमा रु छ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको थियो ।
चालु आवमा चैते धानको बीउ प्रतिस्थापन, उन्नत र हाइब्रिड बीउ प्रयोगमा जोड, मेसिनरी प्रयोग, चैते धान सुकाउने मेसिन, धान काट्ने मेसिन वितरण, कुलो निर्माण र मर्मत, चामल मिलको स्तरोन्नति र चैते धानको बजारीकरणमा सहयोग गरिने ज्ञान केन्द्रले जनाएको छ ।