Logo

धान दिवश : माना रोपेर मुरी फलाउने दिन, तर ११ महिनामा ३३ अर्बको धानचामल आयात

धान दिवश : माना रोपेर मुरी फलाउने दिन, तर ११ महिनामा ३३ अर्बको धानचामल आयात



काठमाडौं । आज असार पन्ध्र । नेपालभर दही चिउरा खाँदै धान रोपाईँ गर्ने दिन । नेपाललाई कृषि प्रधान देश भनिएकै कारण नेपालमा धान रोपाईँको महत्व विशेष छ ।

laxmi

तर तराईको ९० प्रतिशत भूभाग, पहाडको ५५ प्रतिशत र हिमाल क्षेत्रका फाटफुट भूभागमा गरिने धान खेतीले नेपालीलाई आवश्यक चामल नपुग्ने गरेको भने तथ्यांकले देखाउँछन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेढ मसान्तसम्म) मा साढे ३३ अर्ब रुपैयाँ बढीको धानचामल आयात भएको छ । अर्थात नेपालमा उत्पादन हुने धान चामलले नपुगेर विदेशबाट आयात गरेको धान र चामलले नेपालको खपतलाई परिपुर्ति गर्नुपर्ने अवस्था आएको उक्त तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांकलाई आधार मान्दा यस अवधिमा नेपालले ७२ लाख ४५ हजार क्विन्टल धान र चामल आयात गरी त्यस बराबरको ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रुपैयाँ विदेश पठाएको हो । यस अवधिमा १८ अर्ब १५ करोड रुपैयाँ बराबरको धानको बिउ मात्रै आयात भएको छ । ११ महिनामा नेपालले साढे ५० लाख क्विन्टल धान र धानको बिउ आयात गरेको छ ।

यति मात्रै नभई पछिल्लो ४ बर्षमा मात्रै नेपालले ५५ अर्व रुपैयाँ बराबरको धान आयात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार आर्थिक बर्ष २०७६/७७ देखि धेरै धान आयात गर्न थालेको नेपालले उक्त आर्थिक बर्षमै १ अर्ब ५२ करोड २० लाख रुपैयाँ बराबरको धान आयात गरेको थियो । त्यसको पछिल्लो आर्थिक बर्ष २०७७/७८ मा धान आयात उच्च वृद्धि हुँदै १८ अर्ब ३७ करोड रुपैयाँ बराबरको आयात भएको थियो । पुनः आव २०७८/७९ मा भने आयात घटेर १६ अर्ब १२ करोडमा सीमित भएको थियो ।

तर, चालु आर्थिक बर्ष भने पुनः धानको आयात बढेको देखिन्छ । उन्नत जातको बिउको कमी, कृषि क्षेत्रमा सरकारको न्यन ध्यानाकर्षण र कृषकहरुको पलायनका कारण पछिल्लो समय नेपालमा धानको उत्पादन घटिरहेको कृषिविज्ञहरु बताउँछन् । जसका कारण नेपालमै उच्च उत्पादन हुने धान पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपालले चालु आर्थिक बर्षको ११ महिनामा १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० लाख क्विन्टल चामल र २८ करोड रुपैयाँ बराबरको कनिका आयात गरेको छ ।

पछिल्लो ४ बर्षको तथ्यांकलाई केलाउँदा नेपालमा चामलको खपत प्रतिबर्ष २ देखि ३ अर्ब रुपैयाँ बराबरले बढ्दै गएको पाईन्छ भने उच्च आयात हुने १० बस्तुमध्ये पाँचौ देखि छैठौं वस्तुमा पर्दै आएको छ ।

नेपालले भारत, अमेरिका, चीन, ईटाली कोरियालगायत देशहरुबाट विभिन्न ७ शिर्षकमा चामल आयात गर्दै आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)ले जानकारी दिएको छ । केन्द्रका अनुसार नेपालले धान, चामल, टुक्रिएको चामललगायत शिर्षकमा विश्वका १० भन्दा बढी देशबाट आयात गर्ने गरेको छ ।

पछिल्ला केही तथ्यांकअनुसार नेपालमा हरेक नेपालीले औशतमा बार्षिक १ सय ३७ दशमलव ५ किलो धान उपभोग गर्ने गरेको पाईन्छ । तर पछिल्लो केहि बर्षको तथ्यांकलाई केलाउँदा धान उत्पादनको उत्पादकत्व वृद्धिदर औशतमा १ दशमलव ५ प्रतिशत हुँदा जनसंख्या वृद्धिदर २ दशमलवव ३ प्रतिशत छ ।

नेपालमा धानको उत्पादन दर बर्षेनी घट्दै गईरहेको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका अनुसार पछिल्लो समय नेपालमा धान उत्पादन घट्नु र जनसंख्या बढ्नुले चामलको माग धान्न सकिरहेको अवस्था छैन ।

विश्वको १६ करोड ७० लाख हेक्टर जमिनमा धान खेति भई ७६ करोड ९६ लाख मेट्रिक टन उत्पादन हुँदै आएको पाईन्छ । विश्वमा उत्पादन भएको करिव ९० प्रतिशत धान त एशियाले मात्रै खपत गर्ने गर्दछ । विश्वमा धेरै धान उत्पादन गर्ने देशहरुमा क्रमशः चीन, भारत, ईन्डोनेशिया, बंगलादेश, भियतनामलगायतका देशहरु पर्दछन् । नेपाल पनि धेरै धान उत्पादन गर्ने देशमा पर्ने भएपनि ५० देखि ६० प्रतिशत खपत विदेशबाट आयात भएको चामलले धान्ने गरेको तथ्यांकले देखाएको छ ।

विज्ञहरु नेपालमा भात खाने प्रवृत्ति बढ्दै जाँदा अन्य खाध बालीको उत्पादन र उपयोग खुम्चिएको बताउँछन । ‘पहिले मकै, कोदो, गहुँ, फापरजस्ता खाधान्न पनि धेरैले मुख्य खाधान्नका रुपमा उपयोग गर्ने गरेपनि पछिल्ला केही वर्षयाता नेपालीमा भातमात्रै खाने प्रवृत्ति बढेको छ । नेपालको उत्पादन खुम्चिदा र र भाते प्रवृत्तिले आयात पनि बढेको हो, यो कृषिप्रधान देशका लागि टीठलाग्दो अवस्था होे’, एक कृषि विज्ञले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL