Logo

डेरी उद्योगबाट मनग्ये आम्दानी, मासिक एक लाख बचत गर्छन महिला

डेरी उद्योगबाट मनग्ये आम्दानी, मासिक एक लाख बचत गर्छन महिला



काठमाडौं । अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलो चौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ ।

यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्किएकी छन् गुल्मीको रेसुङ्गा नगरपालिका–८ की शारदा भुसाल । उनी विसं २०६३ देखि न्यूमैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बनेकी छन् ।

उनी आफैले सुरु गरेको डेरी उद्योगबाट अहिले दूध खरिद, प्रशोधन र बिक्री हुने गर्छ । उनले दैनिक तीन सय लिटर दूध बजारमा पुर्‍याउँछिन् । गुल्मीको चौरासी र अर्घाखाँचीको ढिकुरा, काउलेलगायतका स्थानबाट डेरीमा दूध आउने गर्दछ । शारदाले भैँसीको दूध मात्र खरिद, प्रशोधन र बिक्री गर्छिन् । बजारमा आवश्यक पर्ने दूध पर्याप्त मात्रामा आफूसँग उपलब्ध नभएको उनले बताइन् ।

गुणस्तरका आधारमा किसानसँग बढीमा प्रतिलिटर रु ९५ सम्म डेरी उद्योगले दिन्छ । यसलाई लिएर प्रशोधन गरेर प्रतिलिटर रु एक सय १० मा बिक्री हुन्छ । दूधबाट अन्य परिकार पनि बनाउन गरेको शारदाले बताइन् । दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार शारदा आफैले बनाउने गर्छन् ।

डेरीबाट मासिक रु नौदेखि १० लाखसम्म कारोबार गर्ने उनले मासिक रु एक लाख बचत गर्ने गरेको बताउँछिन् । ‘जन्मपूर्वदेखि मृत्युपश्चात पनि दूध नै चाहिन्छ’, उनले भनिन्, ‘महिलाले आफै व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहेनत गरेँ ।’ व्यापार र व्यवसायको सन्दर्भमा पनि पुरुष मात्र अगाडि सर्ने र महिला अरुकै भर पर्ने बाध्यताको अन्त्यका लागि अगाडि बढेको शारदाले बताइन् ।

किसानसँग जोडिने व्यवसाय गर्नका लागि दुग्ध डेरी सञ्चालन गरेको तर पछिल्लो समय दूध उत्पादनमा कमी आएको शारदाको अनुभव छ । आफूसँगै सदरमुकाम तम्घासका दुग्ध व्यवसायी मिलेर सञ्चालन गरेको रेसुङ्गा दुग्ध डेरी प्रालिले १२ हजार लिटर दूध खपत गर्ने क्षमता छ । तर जिल्लाभर अहिले तीन हजार लिटर दूधमात्र उत्पादन हुने गरेको छ ।

स्थानीय पालिकाले किसानलाई दूध उत्पादनमा उत्साहित गराएमा जिल्लाका १२ पालिकाबाट एक हजार लिटर दूध आफुले खपत गर्न सक्ने भन्दै शारदाले किसान त्यसतर्फ उन्मुख हुनुपर्ने बताउँछिन् । जिल्लामा दूध उत्पादन कम भएसँगै गुल्मीमा अर्घाखाँची, पाल्पा र कपिलवस्तुबाट आयात गर्नुपर्ने बाध्यता रहेको न्यूमैत्री डेरी उद्योगका सञ्चालक उनले गुनासो गरिन् ।

शारदाले आफूले सञ्चालन गरेको डेरी उद्योगबाट अहिले प्रत्यक्षरूपमा चार जनाले रोजगार पाएका छन् । दूध सङ्कलन, ढुवानी, प्रशोधन र बिक्री गरी चार जनालाई रोजगार प्रदान गरिएको उनले जानकारी दिइन् । दुग्ध डेरीबाट आम्दानी भएको रकम अन्य व्यवसायमा लगानी गर्दै गएकी छन् ।

डेरीबाट भैँसीको शुद्ध दूध बिक्री हुने भएकाले उपभोक्ता पनि निकै सन्तुष्ट हुने गरेको शारदाको अनुभव छ । ‘मैले आफै व्यवसाय व्यवस्थित र गुणस्तर कायम गरेकी छु’, दूध बेच्दै गरेकी उनले भनिन्, ‘महिला हुने बित्तिकै परनिर्भर हुने मानसिकता हटाउनै पर्छ ।’ डेरीबाट किसानलाई मासिकरूपमा दूधको रकम दिँदा किसान झनै सन्तुष्ट हुने गरेका छन् ।

कृषि र पशुपालनमा प्रेरित गर्नका लागि आफू डेरी उद्योगमा लागेको शारदाले बताइन् । उनका श्रीमान् नवराज भुसाल पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । नवराज नेपाल पत्रकार महासङ्घ गुल्मीका पूर्व अध्यक्ष हुन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL